७ वैशाख २०८१ शुक्रबार
समाज

डुबान क्षेत्रका घरघरमै बिरामी

डुबानमा परेको विराटनगरको इकराही बस्तीका मानिसको स्वास्थ्य जाँच्दै कांग्रेस नेता एवं चिकित्सक शेखर कोइराला। तस्बिर : अजित

विराटनगर- खेती-किसानी र बनीबुतो गरेर सामान्य जीवन बिताउँदै आएका इकराहीवासी यतिबेला बाढीसँगै पीडामा डुबेका छन्। विराटनगर महानगरपालिका–४ मा पर्ने यो बस्तीमा शनिबार र आइतबार बाढी पसेपछि जनजीवन कष्टकर बनेको छ। केसलिया खोलाको बाँध फुटेर बाढी पसेपछि बस्तीको रौनक हराएको छ।

कञ्चनवारी पश्चिमको इकराही बस्ती हुँदै केसलिया खोलाको १३ सय क्युसेकभन्दा बढी पानी महानगरमा पसेको थियो। केसलिया खोलाको बाढीले पहिलो धक्का दिएको इकराही गाउँको यादव टोलका एउटा घर पनि सद्दे छैन। बाढीले घर भत्काएपछि खाने–बस्ने समस्या झेलिरहेको यो बस्तीमा ज्वरो, रुघाखोकी, झाडापखाला र छालाको संक्रमण जस्ता स्वास्थ्य समस्या थपिएका छन्।

 ‘तीन दिनसम्म त पानीमै डुबेर बस्नुपर्‍यो,’ इकराहीका ५२ वर्षीय झरिलाल यादवले भने, ‘अहिले पनि घरभित्र खुट्टा नै गड्ने हिलो छ, आँगन अझै सुकेको छैन।’ बाढीले पानी र हिलोमै रातदिन बिताउनु पर्दा इकराही बस्तीमा रोग फैलिन थालेको छ। फोहोर पानीले बस्तीमा ज्वरो, रुघाखोकी, झाडापखाला, छालामा संक्रमण र दमका बिरामी बढेका छन्। ‘सानासाना नानीदेखि वृद्धसम्मको स्वास्थ्यमा केही न केही समस्या देखिएको छ,’ वडासदस्य बालक राजवंशीले भने, ‘डुबान क्षेत्रमा खाने–बस्ने समस्या त छँदैथियो, त्यसमाथि रोगको संक्रमणले सताउन थालेको छ।’

बाढीपीडितलाई राहत बाँड्न बुधबार इकराही बस्ती पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र उनका साथी डा. नारायणकुमार दुवैले जाँचेका एक सय ५० जनामध्ये अधिकांशको स्वास्थ्यमा समस्या देखिएको छ। कांग्रेस नेता कोइराला २० वर्ष चिकित्सा पेसामा थिए। ‘डुबान क्षेत्रमा धेरैको स्वास्थ्यमा रोगको संक्रमण देखिँदैछ,’ कोइरालाले भने, ‘सामान्य ज्वरो आएकालाई पनि इन्फेक्सन नहोस् भनेर एन्टिबायोटिक दिएको छु।' उनका अनुसार मौसम एकनास नभएकाले डुबान क्षेत्रमा रोगको संक्रमण बढेको हो। डुबानपीडित इकराहीका १२  जनाको स्वास्थ्यमा जटिल समस्या देखिएपछि विराटनगरकै अवधनारायण क्लिनिकमा थप उपचारका लागि रेफर गरिएको छ।

‘श्वासको समस्या धेरैमा देखिएको छ,’ डा. नारायणले भने, ‘खुट्टामा घाउ र फोका निस्केका त कति हो कति।’ उनका अनुसार डुबानपीडितमा झाडापखाला र ज्वरो देखिएको छ। र, धेरै बच्चाको छातीमा कफ जमेको छ। ‘हावापानीबाट उत्पन्न भएको रोगको संक्रमण देखिएको छ,’ उनले भने, ‘रोगको संक्रमण फैलिने खतरा छ।’ उनले डुबान क्षेत्रका बासिन्दालाई पानी उमालेपछि चिसो पारेर पिउन र सफा कपडा लगाउन सुझाव दिए।

सिंघिया नदीले बस्ती नै बगाएको विराटनगर–१९ को खाप टोलमा पनि रोगको संक्रमण बढेको छ। बुधबार त्यहाँ आयोजना गरिएको स्वास्थ्य शिबिरमा डुबान प्रभावित मानिसमा रोगको संक्रमण देखियो। लाइफ गार्ड हस्पिटलको सहयोगमा गुराँस पुस्तकालयले आयोजना गरेको शिबिरमा स्वास्थ्य देखाउन आएकालाई औषधिसमेत वितरण गरिएको थियो। बच्चामा धेरै समस्या देखिएको गुराँस पुस्तकालयका अध्यक्ष दीपक चापागाइँले जानकारी दिए। तीन गम्भीर बिरामीलाई थप उपचारका बाहिर पठाइएको छ।

‘फोहोर पानी र डुबानले गर्दा स्वास्थ्यमा बढी समस्या देखिएको छ,’ शिविरमा खटिएका डा. उमेशकुमार महतोले भने, ‘रुघाखोकी र झाडा–पखालाका बिरामी बढी देखियो।’ महतोका अनुसार बच्चा, महिला र वृद्धवृद्धमा स्वास्थ्य समस्या बढी छ।’ शिविरमा जाँचिएका तीनसय डुबानपीडितको स्वास्थ्यमा केही न केही गडबडी देखिएको छ। डुबानक्षेत्रमा रोगको संक्रमण बढ्न थालेपछि राहत वितरणसँगै स्वास्थ्य शिविर पनि सञ्चालन गर्नुपर्ने देखिएको छ।

प्रकाशित: १ भाद्र २०७४ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App