१६ चैत्र २०८० शुक्रबार
समाज

प्राकृतिक विपत्ति, पूर्वतयारी सुस्त हुँदा क्षति बढी

काठमाडौं- मुलुकमा पछिल्लो आठ महिनामा प्राकृतिक प्रकोपमा परेर ३ सय ४६ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हालैको बाढीपहिरोमा ज्यान गुमाएका एक सय १८ जनाको संख्यासमेत जोडिएको छ।

पछिल्लोपटक शुक्रबार, शनिबार र आइतबार आएको बाढीपहिरोमा परेर २६ जिल्लामा एक सय १८ जनाको ज्यान गइसकेको छ । गृहमन्त्रालयको विपद्सम्बन्धी तथ्यांकअनुसार आठ महिनाको अवधिमा मुलुकभर एक हजार ६ सय ७९ वटा विपद्का घटना भएका छन् । यी घटनामा एक अर्ब ८८ करोड रुपैयाँबराबरको भौतिक क्षति भएको छ भने १७ हजार घर परिवार विस्थापित भएका छन् । प्राकृतिक प्रकोपमा सबैभन्दा धेरै बाढीपहिरोका घटना छन् भने विपत्तिमा आगलागीका ।

आठ महिनामा आगलागीका ९ सय ५७  घटना भए । जसमा एक अर्ब ७९ करोड रुपैयाँबराबरको भौतिक क्षति भयो भने ३६ जनाले ज्यान गुमाए ।

आठ महिनाबीचमा १ सय १७ वटा पहिरो गए । जसमा ५९ जनाको ज्यान गयो । पहिरोबाट तीन करोड रुपैयाँबराबरको सम्पत्ति नष्ट भएको गृहको तथ्यांक छ ।

आठ महिनामा २ सय ६० वटा बाढीपहिरोका घटना भए ।  गृहले मंगलबार सार्वजनिक गरेको सूचीमा पछिल्लो एक साताको बीचमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या एक सय १८ पुगिसकेको छ । बाढीका कारण २ करोड २४ लाख रुपैयाँबराबरको सार्वजनिक र निजी सम्पत्ति नष्ट भएको छ ।

पहाडी इलाकामा सबैभन्दा धेरै पहिरो र आगलागीका घटना भएका छन् भने बाढीका घटना सबैभन्दा धेरै तराईका जिल्लामा भएको देखिन्छ ।

प्राकृतिक प्रकोप र दैवी विपत्तिका घटनामा उद्धार र राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुने गरेका छन् । राहतका लागि केन्द्रदेखि जिल्लासम्म दैवी प्रकोप उद्धार समिति गठन गरी रणनीति बनाइए पनि सरकारी संयन्त्र सुस्त हुँदा सधैं आलोचित हुने गरेका छन् ।

पछिल्लोपटक २६ जिल्ला  बाढीपहिरोको प्रकोपमा परेपछि उद्धार, खोजी र राहत वितरण भइरहेको छ । राहत वितरणमा सरकारी संयन्त्र कमजोर देखिन्छ । साउन २७ गते (शुक्रबार) देखि नै बाढीपहिरोको ताण्डव सुरु भए पनि सरकारले मंगलबार मात्रै आपत्तकालीन केन्द्र सञ्चालनमा ल्याएको छ ।

राहत वितरण संयन्त्र सुस्त भए पनि सरकारले गैरसरकारी संस्था र निजीस्तरमा हुने राहत संकलन र वितरणमा रोक लगाएको छ । तर सोहीअनुसार सरकारी संयन्त्र बाढी प्रभावित क्षेत्र पुग्न सकेको छैन ।

प्रकृतिक विपत्ति सामना गर्न केन्द्रमा केन्द्रीय दैवीप्रकोप उद्धार समिति र हरेक जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय उद्धार समिति छ ।

स्थायी संरचना भए पनि विपद् आइलागेपछि मात्रै ती संयन्त्र सक्रिय हुने गरेको र पूर्वानुमानअनुसार पूर्वतयारी गरी क्षति कम गर्न सकिने विषयमा सरकारी संयन्त्र सुस्त देखिन्छ । गृहका अनुसार अहिले बाढीपहिरोमा फसेकाको उद्धारका लागि सेना र निजी क्षेत्रका गरी १३ हेलिकोप्टर परिचालन गरिएको छ । सेना, प्रहरी र सशस्त्र प्रहरी बलसँग उद्धारका लागि आवश्यक साधनस्रोत भने न्यून छ ।

ट्युब र डोरीको भरमा उद्धार

प्राकृतिक प्रकोप सुरु हुने बर्खायामअघि उद्धार र खोजीका लागि आवश्यक पर्ने बोटलगायत साधनस्रोत जुटाउनेबारे छलफल हुने भए पनि चाहिएका बेला ती सामग्री उपलब्ध हुन्नन् । सेना, प्रहरी र सशस्त्रसँग आवश्यक बोटलगायत उद्धार सामग्रीको संख्या न्यून छ ।

बाढीमा उद्धारका लागि नेपाल प्रहरीसँग जम्मा एउटा बोट छ । सशस्त्र प्रहरीसँग दर्जन हाराहारीमा बोट छन्। तुलनात्मक रुपमा सेनासँग केही बढी साधन भए पनि पर्याप्त छैन । ‘अधिकांश स्थानमा ट्युब र डोरीको भरमा उद्धारमा खटिनुपरेको छ,’ एक प्रहरी अधिकारीले गुनासो गरे, ‘हरेक वर्ष आवश्यक सामग्रीबारे छलफल हुन्छ, सूची पनि बन्छ तर कार्यान्वयनमा आउन्न ।’

बाढीपहिरो प्रकोप सुरु भएदेखि गृहले केन्द्रीय कमान्ड पोष्ट गठन गरेर काम गरिरहेको छ । पोष्टमा सेना र दुबै प्रहरीका प्रतिनिधि छन् । सेनाले ११ हजार ४ सय जनशक्ति परिचालन गरेर उद्धार र राहत वितरणसँगै अवरुद्ध सडक खुलाउन सक्रिय रहेको सैनिक मुख्यालयले जानकारी दिएको छ ।

हेलिकोप्टर सेनासँग मात्रै रहेकाले राहत वितरणमा समेत ऊ अन्य सुरक्षा निकायभन्दा बढी सक्रिय देखिन्छ । सैनिक मुख्यालयका अनुसार सेनाले उद्धार तथा राहतका लागि विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी बाबुकृष्ण कार्कीको संयोजकत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्राकृतिक विपद् उद्धार तथा राहत समन्वय केन्द्र गठन गरेको छ। सो टोलीले ड्राईफुड, टाट पोलिन, पाललगायत सामानको हवाईमार्गबाट ढुवानी गरिरहेको छ। स्थलमार्गबाट समेत आवश्यक सामग्री ढुवानी भइरहेको सेनाको जनसम्पर्क निर्देशनालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सेनाले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार उसले ३ ट्रक सामग्री बर्दिबास पठाएको छ। केन्द्रको समन्वयमा सेनाको हेलिकोप्टरबाट २ हजार ५ सय ५० केजी टाट पोलिन र २ हजार ९ सय १५ केजी खाद्य सामग्री रौतहट  पठाएको उल्लेख छ।

सशस्त्र प्रहरीले पानी पर्नेक्रम रोकिएपछि मंगलबार तीन क्षेत्रमा अनुगमन र निर्देशन दिन तीन एआइजीलाई खटाएको छ । सशस्त्र प्रधान कार्यालयका अनुसार बाढीपहिरो प्रभावित स्थानको अनुगमन र उद्वारका लागि एआइजी पुष्पराम केसी पूर्व, नारायणबावु थापा मध्य पश्चिम र सूदुरपश्चिम क्षेत्र तथा रामशरण पौडेललाई मध्य क्षेत्रमा खटाइएको छ।

प्रकाशित: ३२ श्रावण २०७४ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App