५ वैशाख २०८१ बुधबार
समाज

एम-१६ हतियारबाट गोली हानेर सहकर्मीको हत्या

पोखरा लेकसाइडको रत्नमन्दीर। फाइल तस्बिरः सन्तोष

पोखरा- फेवाताल किनारको रत्नमन्दिर सुरक्षार्थ खटिएका सेनाले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन्। दार्चुला घर भइ रत्नमन्दिरमा कार्यरत प्युठ बसन्त लोहारले बैतडीका गणेशसिंह विष्टको गोली हानी हत्या गरेका हुन्।

मंगलबार बिहान साढे ४ बजे सात राउण्ड गोली हानेर विष्टको हत्या गरेको सुरक्षा स्रोतले बताएको छ। आपसी मनमुटावका कारण गोली हानेको हुनसक्ने स्रोतको भनाइ छ। घटनास्थलमा गोलीका सातवटा खोका भेटिएका छन्। ५.६२ एमएम क्यालिबर एम-१६ हतियारबाट गोली चलेको स्रोतको भनाइ छ।

गोली हान्ने सैनिक सेनाकै नियन्त्रणमा छन् भने मृतकको शव सेनाले अस्पताल लगेको छ। मृतककको शव कुन अस्पतालमा लगिएको छ भन्नेबारे प्रहरीले खुलाएको छैन। बैदाम चौकीका प्रहरी निरीक्षक बसन्त शर्माका अनुसार एकै दर्जा र एकैठाउँ कार्यरत ती सैनिकबीच व्यक्तिगत मनमुटावले घटना भएको हुनसक्ने बताए। 'अनुसन्धान हुँदैछ, अहिले नै कारण यकिन भएको छैन,' शर्माले भने, 'व्यक्तिगत विवादले गोली हानेको आशंका छ।'

सेनाको फूलबारीस्थित सिद्धिबक्स गणले रत्नमन्दिरको सुरक्षा व्यवस्था मिलाउँदै आएको छ। तत्कालीन राजपरिवारको नाममा रहेको रत्नमन्दिर हालः नेपाल ट्रष्टको नाममा छ। नेपाल सरकार मातहत आए पनि रत्नमन्दिर सर्वसाधारणका लागि प्रवेश निषेध छ। पर्यटकीय क्षेत्र लेकसाइडको फेवाताल किनारमा अग्लो पर्खालभित्र २४सैं घण्टा सेनाको पहरामा रत्नमन्दिर रहन्छ।

राजपरिवारका नाममा लेकसाइडमै रहेको हिमागृह र रत्नमन्दिरको जग्गा अहिले नेपाल ट्रस्टको नाममा  छ। हिमागृह र रत्नमन्दिरको क्षेत्रफल १ सय ७७ रोपनी छ। नेपाल सरकारले २०६७ कात्तिकमा रत्नमन्दिर र हिमागृहको जग्गा नेपाल ट्रस्टको नाममा सारेको थियो। पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा रत्नमन्दिर र हिमागृह बास बस्ने थलोको रुपमा थियो।

प्यागोडा शैलीमा बनाइएको दरवारको भित्रि संरचना ढुंगामा कुँदिएका आकर्षक कलाले सजाइएको छ। दरबार भए पनि नेपाली कलाकृति झल्काउने संरचनाले यो विशिष्ट देखिन्छ। सरकारले गणतन्त्र स्थापनालगत्तै पूर्वराजा र राजपरिवारको नाममा रहेका चलअचल सम्पत्तिलाई आफ्नो मातहतमा ल्याउने क्रममा रत्न मन्दिरलाई समेटेको थियो। रत्नमन्दिर अहिलेसम्म नेपाली सेनाको सुरक्षा घेरामा छ। विसं २०१५ सालमा तत्कालीन राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा उक्त दरबार बनाएका थिए।

प्रकाशित: ३१ श्रावण २०७४ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App