१५ चैत्र २०८० बिहीबार
समाज

राहत वितरणमा ढिलाइ हुँदा पीडितको बिचल्ली

बर्दिया- पशुपंक्षी विकासमन्त्री शन्तराम थारुको नेतृत्वमा बनियाभारको रामपुर, पदनाहा पञ्चजन्य उमावि, मधुवनको त्रिभुवन उमावि, सूर्यपटुवामा हेलिकोप्टरमार्फत सोमबार प्रारम्भिक  राहत वितरण गरिएको छ।

४८ घन्टापछि  सडक अवरुद्ध भएको ठाउँमा हेलिकोप्टरमार्फत राहत वितरण गरिएको थियो। हेलिकोप्टरमार्फत राहत वितरण गर्ने तोकिएका अधिकांश ठाउँमा सोमबार पनि पीडितले राहत पाएनन्।

यसैगरी, गुलरिया नगरपालिका संगमबस्तीमा सोमवार दिउँसो मात्र नगरपालिका जनप्रतिनिधिले राहतस्वरूप चिउरा र भुजा वितरण गरेका छन्। संगमबस्तीमा शनिबार मध्यरातदेखि दुई प्रहरीसहित एक सय २० परिवार बाढीमा फसेका थिए।

सदरमुकाम गुलरियादेखि दुई किलोमिटर पश्चिममा  पर्ने बस्तीसम्म जाने सडक अवरुद्ध हुँदा सामान्य राहत पनि ४८ घन्टापछि बाढीपिडितले पाए। बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिकासहित पाँचवटा नगरपालिकाका ग्रामिण भेगमा सडक अवरुद्ध हुँदा राहत वितरणमा  समस्या भइरहेको छ।

दैवी प्रकोप उद्धार समितिले जनप्रतिनिधिमार्फत राहत वितरण गर्ने निर्णय गरे पनि राहत वितरण नहुँदा पीडित भोकभोकै बस्न बाध्य छन्।

 १२ वडामा जनप्रतिनिधिमार्फत प्रारम्भिक राहत वितरण गरेको नगर प्रमुख मुक्तिनाथ यादवले बताए।

'सडक अवरुद्ध भएकाले प्रारम्भिक राहत वितरणमा समस्या भयो,' उनले भने, 'सडक अवरुद्ध हुँदा केही वडामा राहत अझै पुग्न सकेको छैन।' शनिबार बिहानदेखि बबईमा आएको बाढीले हजारौंको संख्यामा विस्थापित परिवारको विचल्ली भएको छ। बाढीबाट तीनजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था अज्ञात छ। बाढी आए लगत्तै ज्यान जोगाएर भाग्न सफल भएर आश्रयस्थल पुगेका पीडितहरू भोकभोकै रहेको गुनासो गरेका छन्।

यस्तै, बाढीले ओराही पुल क्षति पुर्‍याएको छ। मधुवन नगरपालिका–१ र २ मा सर्म्पक हुन नसक्दा राहत पुग्न सकेको छैन। दुईवडामा मात्र पाँच सयभन्दा बढी घर डुबानमा परेको कार्यकारी अधिकृत धर्मराज न्यौपानेले बताए। बाढीपीडित परिवार सुरक्षित स्थान भए पनि सडक अवरुद्ध हँुदा राहत वितरणमा समस्या परेको उनले बताए। बाढीले पुल बगाउँदा ग्रामिण क्षेत्रमा प्रारम्भिक राहत वितरणमा कठिनाइ भएको प्रशासनले जनाएको छ। पहिलो र दोस्रो चरण गरी राहत वितरण गर्न जिम्मा स्थानीय तहलाई दिएको प्रशासकीय अधिकृत डिल्लीराम अचार्यले बताए। 'अधिकांश ठाउँमा पुल भत्किएका कारण सडक अवरुद्ध भएका छन्,' उनले भने, 'स्थानीय तहमा जिम्मा दिए पनि सडकको अवरोधले राहत वितरणमा कठिनाइ भएको छ।' गुलरिया, वारबर्दिया, ठाकुरबाबा, मधुवन र बाँसगढी नगरपालिकाको अधिकांश ठाउँ जलमग्न छ। बबईमा आएको बाढी अहिलेसम्मकै ठूलो भएको आँकलन गरिएको छ। बबईको बाढी शनिबार मध्यरातमा पन्डितपुर, भैंसीहाट मेला र बालापुर हँुदै बस्ती पसेको हो।

०७१ साउन २८ गते बबई बालापुर र पन्डितपुरबाट नदी बस्तीमा पस्दा ठूलो जनधनको क्षति भएकोे थियो। त्यसबेला ३० जनाको बाढीले मृत्यु भएको थियो भने चारजनाको अवस्थामा अझै अज्ञात छ।

पिउने पानीको हाहाकार

बाढीमा फसेका परिवारका लागि पानीको हाहाकार भएको छ। गुलरिया नगरपालिका महजदिया, सूर्यगौडी र भैसाहीमा पानीको हाहाकार भएको हो। ' अन्य राहत भन्दा पानीको अभाव बढी छ,' रामकृष्ण लोधले भने, 'पानीको जोहो नहुँदा समस्यामा छांै।' राहत वितरणका लागि जनप्रतिनिधि खटिए पनि बबई नदीको सतह पूर्णरूपमा नघट्दा सामग्री पुर्‍याउँन नसकेको अधिकृत आचार्यले बताए। 'भंगालोबीचमा रहेका र सडक अवरुद्ध भएका ठाउँमा राहतसामग्री पुग्न सकेको छैन,' उनले भने।

अधिकांश सडक अवरुद्ध

बबईको बाढीवाट गुलरिया सदरमुकामसँग प्रत्यक्ष सर्म्पक गराउने अधिकांश सडक अवरुद्ध छन्। नेपालगंज–गुलरिया सडक सञ्चालन गर्न प्रहरीको टोली खटिए पनि सोमबार दिउँसोसम्म सवारीसाधन चल्न सकेनन्। २८ गतेदेखि अवरुद्ध नेपालगंज सडक सञ्चालनमा ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन्।  ग्रामिण सडक सञ्चालन गर्न प्रहरी परिचालन गरिएको एसपी भरतबहादुर बोहराले बताए। 'राहत सामग्री र ग्रामिण सडकका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ,' उनले भने। पूर्वपश्चिम राजमार्गमा पर्ने जब्दि पुल पनि बाढीले क्षति पुर्‍याएको छ। ०७१ को बाढीले कुसुम्वाघाटको पुल बगाएपछि वारबर्दिया राहत वितरण हुन सकेको छैन।

करौडौं खर्चेको पुल उद्घाटन नहुँदै भत्कियो

उद्घाटन नभएको सदरमुकाम गुलरिया जोड्ने पुल बबईको बाढीले क्षति पुर्‍याएको छ। पुलको पिलर बाढीले भत्काएको हो।

चार सय २५ मिटर लामो संचालनमा आएको पाँच महिना भएको थियो। कमसल तरीकाले निर्माण गरिएको कारण पुल बाढीले भत्काएको वारबर्दियाका नगर प्रमुख दुर्गाबहादुर थारुले बताए। 'पुल के कति कारण भत्किएको छानबिन गर्न जरुरी छ,' उनले भने। यसअघि नै पुल कमसलको खालको निर्माण गरिएको स्थानीयको आरोप छ। तर, पुल निर्माण पाएको पप्पु कन्स्ट्रसनले डिजाइनको त्रुटिले पिलर बाढीले भत्काएको दाबी गरेको छ। बाढीले पुल बगाएपछि स्थानीय पुरानै अवस्थामा फर्किएका छन्।

बाढीले बीचभागको पुलको पिलर भत्काएको छ। यसले गर्दा पुलबीच भागवाट टुक्रिएको छ। १६ करोड रुपैयाँको लागतमा निर्मित पुल बाढीले बगाएपछि ग्रामिण क्षेत्रको सर्म्पक सदरमुकाम गुलरियासँग टुटेको छ।

यस्तै, ०७१ साउन अन्तिममा आएको बाढीले कसुम्वाघाटको पुल बगाएको थियो। एक करोड ५९ लाख रुपैयाँको लागतमा सो पुल असार २४ गते मात्र निर्माण पूरा भई सञ्चालनमा आएको थियो।

राजमार्गसमेत अवरुद्ध 

बाढीले भत्काएको पूर्वपश्चिम राजमार्गको कल्भर्ट बाढीले बगाएको छ। डाइभर्सन भत्कदा सुदुरपश्चिमबाट छुट्ने सयौं गाडी डाइभर्सनमा आएर रोकिएका छन्।

बर्दिया राष्ट्रिय निकुन्जको बीच भागमा पर्ने डाइभर्सनमा गाडी रोकिँदा जोखिम बढेको बस चालकले बताए। ‘पानी पर्नेबित्तिकै रोकिनु पर्छ,’ बस चालक सुन्दर थारुले भने, ‘कर्ल्भट नहुँदा समस्या भएको छ।’

निकुन्जकोबीच जंगलमा पर्ने भएकाले मोबाइलमा सम्पर्क हुन नसक्दा यात्रुको उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ। ‘लामो समयसम्म जंगलमा बस्दा बन्यजन्तुले आक्रमण गर्न सक्ने जोखिम हुन्छ,' एक प्रहरीले भने।

प्रकाशित: ३१ श्रावण २०७४ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App