१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आजदेखि वर्षा कम हुने

फाइल फोटो

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि वर्षा कम हुने जनाएको छ । महाशाखाका अनुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म मध्य र पश्चिम नेपालमा मध्यम खालको वर्षा हुनेछ। 

महाशाखाका मौसमविद् बरुण पौडेलले तीन दिनदेखि निरन्तर भारी वर्षा गराएको मौसम प्रणाली कमजोर हँुदै गएको बताए । ‘भारी र नियमित वर्षाको सम्भावना अहिलेका लागि टरेको छ । फेरि अर्को प्रणाली आयो भने भन्न सकिन्न’, उनले आइतबार राती नागरिकसँग भने, ‘मनसुनको समय हो सामान्य पर्षा त हुन्छ । तर ठूलो वर्षा हुने देखिँदैन।’

पौडेलका अनुसार सोमबारदेखि मौसममा क्रमिक सुधार हुन्छ । तीन दिनदेखि चुरे र महाभारत पर्वतको बीचको वायुमण्डलमा रहेको न्यूनचापीय रेखा कमजोर हुँदै गएको छ । मध्य र पश्चिम क्षेत्रको तुलनामा पूर्वी क्षेत्रको मौसम सफा भइसकेको छ । आइतबार साँझदेखि सोमबार बिहानसम्म मध्य र पश्चिममा हुनसक्ने मध्यम वर्षाको प्रभाव ती क्षेत्रमा सोमबार दिनभर रहनेसक्ने अनुमान छ। 

बाढी पूर्वानुमान शाखाका अनुसार आइतबार राति नौ बजेसम्म बबई नदीको चेपाङ र भादामा पानीको सतहले खतरा तह पार गरेको छ । भादा क्षेत्रमा पानीको सतह अझै बढ्ने क्रममा छ । पूर्वका अधिकांश नदी र खोलामा पानीको सतह घट्ने क्रममा  छ । आइतबार साँझसम्म बढिरहेको नारायणी नदीको पानीको सतह घट्दै गएको छ।  

त्यसो त शाखाले  आइतबार साँझदेखि सोमबार बिहानसम्मको सम्भावित मध्यम खालको वर्षाले गर्दा बागमती, पूर्वराप्ती, रिउ खोला, अरुण खोला, तिनाउ, बाणगंगालगायत नदी र खोलाका तटीय क्षेत्रमा सोमबार दिउँसोसम्म जोखिम हुनसक्ने जनाएको छ। 

भारतको मौसम विभागले नेपालसँग जोडिएका पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा बुधबारदेखि पानी पर्ने क्रम रोकिने जनाएको छ। 

विभागका अनुसार सोमबार पूर्वी तराईसँग जोडिएको बिहारमा भारी वर्षाको अनुमान छ । यसैगरी मध्य र पश्चिम तराईसँग जोडिएको उत्तर प्रदेश र पश्चिम नेपालसँग जोडिएको उत्तराखण्डका कतिपय स्थानमा भारी वर्षा हुने जनाइएको छ। 

यसैगरी मंगलबार बिहारका केही स्थानमा भारीभन्दा भारी बर्षाको अनुमान गरिएको छ भने उत्तराखण्ड, पूर्वी उत्तर प्रदेश र पश्चिम बंगालमा पनि भारी वर्षाको अनुमान छ।  

प्रकाशित: ३० श्रावण २०७४ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App