coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाढीमा एम्बुलेन्स डुब्यो, गर्भवतीसहित ६ जनाको मृत्यु

डुबानमा परेका सर्लाहीकाे काैडेनास्थित छप्काैँ टाेल । तस्बिर : नगरिक

गौर – परोहाबाट सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको गाडी बाढीले डुबाउँदा ६ जनाको ज्यान गएको छ । भारतीय नम्बर प्लेटको गाडीमा सदरमुकाम गौर लैजाँदै गर्दा राजपुर फरहदवाचोकस्थित लालबकैया नदीमा एम्बुलेन्स डुबेको थियो ।

परोहा गाउँपालिका–३, लौकाहाका रामसेवकप्रसाद यादवकी बुहारीलाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा आइतबार बिहान ४ बजे घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चन्द्रकिशोर यादव, प्रमिला यादव, आरुसी यादव, सुमित्रादेवी यादव, ललितादेवी यादव र सरोजकुमार यादवको रहेको स्थानीय शत्रुघन सिंहले जानकारी दिए । प्रमिलादेवी गर्भवती थिइन्।

तीन दिनदेखिको अविरल वर्षाले रौतहटका विभिन्न क्षेत्र डुबानमा परेको छ । सदरमुकाम गौर जलमग्न छ । रौतहट प्रहरीका अनुसार जिल्लाका ४ सयभन्दा बढी घर डुबेका छन् । गरुडा नगरपालिकासहित कटहरिया, शिवनगर, समनपुर, बरियारपुर, राजपुर, गंगापिपरा, मत्सरी झुन्खुन्वा, हजमिनिया बजार डुबानमा परेका हुन्।

लालबकैया, बागमती, झाझ, चादी, अरुवा, लमहा नदीमा आएको बाढीले ती क्षेत्र डुबानमा परेका हुन् । समनपुरस्थित निर्माणाधीन पुलमा ६ जना कामदार बाढीमा फसेका छन् । क्रेनको टुप्पामा बसेका उनीहरू उद्धारको पर्खाइमा छन् । 

सम्पर्कविहीन गाउँ

वर्षा र बाढीले जिल्लाका विभिन्न गाउँको सम्पर्कविच्छेद भएको छ । चन्द्रपुर, गरुडा  र गौरस्थित नेपाल टेलिकम कार्यालयको टावरले काम गर्न छाडेपछि गाउँसँग सम्पर्क टुटेको हो ।

आइतबार बिहानदेखि सदरमुकाम गौरमा पानी पसेपछि मुख्य सडक पानीले भरिएको छ । सडकमा तीनदेखि चार फिटसम्म पानी जमेको छ । यहाँका अधिकांश घरको भुइँतला पानीले भरिएको छ । झ्यालभन्दा माथिसम्म पानी आइसकेकोले स्थानीय त्रसित भएको नेपाल राष्टिय शिक्षक संगठन रौतहटका अध्यक्ष मणिशंकरलाल निधिले बताए ।

गौरका सबै सरकारी कार्यालय डुबानमा परेका छन् । दसगजा नजिकको भारतीय बाँधका कारण सदरमुकाम डुबानमा परेको हो । जिल्ला भन्सार कार्यालय, सशस्त्र प्रहरी बेस क्याम्प, सीमा सुरक्षा कार्यालय, भन्सारमा रहेको नेपाल प्रहरी कार्यालय डुबानमा परेका छज् । 

भारतका विभिन्न भागबाट नेपाल फर्कन चाहने सयौं नेपाली बिहानैदेखि सदरमुकाम पस्न नपाएको स्थानीय बृजकिशोर यादवले बताए ।

बाढीले लालबकैया नदीको तटबन्ध भत्काइदिएपछि सदरमुकाममा पानी पसको हो । तटबन्ध भत्काएपछि जिल्लाका करिब दर्जन गाउँ उच्च जोखिममा छन् ।

गौरलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने वीरेन्द्र राजमार्गको सखुअवामा करिब बीस मिटर सडक बाढीले बगाएपछि यातायात अवरुद्ध भएको छ । जिल्लाको करिब ८० प्रतिशत भूभाग डुबानमा परेको छ । 

जिल्लाको मध्यभागमा पानीको सतह कम हुन थाले पनि दक्षिणी भागमा भने लालबकैयाको बाढी बढिरहेको छ । 

डुबानग्रस्त क्षेत्रमा खानेपानी, खाना र बसोबासको समस्या देखिएको छ । विभिन्न गाउँमा सरकारी विद्यालय तथा अन्य सामुदायिक भवनमा शरण लिनेको संख्या हजारौं पुगेको छ । 

तीनको मृत्यु, एक बेपत्ता

सर्लाही–  अविरल वर्षाका कारण सर्लाहीमा बाढीले बगाएर दुई र घरले किचेर एक गरी तीनको ज्यान गएकोे छ । बागमती खोलाले बगाएर हरिवन नगरपालिका–८, स्कुल टोलका ८५ वर्षीय हरिबहादुर सुवेदीको ज्यान गएको छ । 

  खरले छाएको घर भत्किएर किच्दा धनकौल गाउँपालिका–१ मानपुरका ७५ वर्षीय वृद्ध किशोरी रायको मृत्यु भएको छ । सोती खोलाले बगाएर बरहथवा नगरपालिका– १० सीतापुरका १७ वर्षीय राकेशकुमार शाहको ज्यान गएको छ । हरिपुरमा लखन्देही खोलाले बगाएर ५० वर्षीय भुकल कुँवर बेपत्ता भएका छन्। 

पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बाढीले सागरनाथ जंगल खण्डस्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने अमुवा पुल छेउको सडक बगाउँदा यातायात अवरुद्ध भएको छ । १० फिट सडक बगाएकाले आइतबार दिउँसो २ बजेदेखि पूर्व–पश्चिम राजमार्गमा यातायात ठप्प भएको छ । सर्लाहीको नवलपुरबाट उक्त पुल १० किलोमिटर पूर्वमा पर्छ।  

यातायात अवरुद्ध भएसँगै हजारौं यात्रु जंगल बीचमा अलपत्र परेका छन् । पुलभन्दा दक्षिण डाइभर्सन बनाएर यातायात चलाउने प्रयास भइरहेको छ । सडक कार्यालयसँग समन्वय गरेर राजमार्ग मर्मत गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । ‘बाढीबाट सबैभन्दा बढी प्रभावित छटौल, खुटौना, सक्रौल, खैर्बा, फूलपरासीलगायत क्षेत्रमा उद्धार तथा राहत वितरण कार्य भइरहेको छ,’ कँडेलले भने।  

सर्लाहीको दक्षिणी क्षेत्र जाने अधिकांश बाटो बगाएकाले आवातजावतमा समस्या भएको छ । जिल्लाका बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, चापिनी, बागमतीलगायत  खहरे तथा खोलाले खेतीयोग्य जमिन कटान भएको छ । महोत्तरी, माइस्थान नजिकै खहरे खोलाको पुल पनि भासिएको छ । उक्त पुल बर्दिबासबाट १० किलोमिटर पश्चिम पर्छ ।

आधा दर्जन गाउँ सम्पर्कविच्छेद 

शनिबार रातभर परेको अविरल वर्षाले सर्लाहीका आधा दर्जन गाउँ सम्पर्कविहीन भएका छन् । दक्षिण पश्चिम क्षेत्रका खैर्वा बोहर्वा, महिनाथपुर, सक्रौलको शिवनगर, कौडेनाको छपकैंयालगायत गाउँ डुबानका कारण सम्पर्कविहीन भएका हुन् ।

‘दक्षिण पश्चिम क्षेत्रका महिनाथपुर, खैर्वा बोहर्वा, शिवनगर, छपकैंयालगायत गाउँ सम्पर्कविच्छेद भएका छन्,’ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भने, ‘पानीको सतह निकै माथि भएकाले राहत बाँड्न त परै जाओस्, उद्धारका लागि पुग्न सकिरहेका छैनौं ।’

बाँध फुटाएर बागमती नदीको भंगालो मनुष्मारामा नदीमा मिसिँदा महिनाथपुर, खैर्वा बोहर्वा गाउँ डुबानमा परेको कँडेलले जानकारी दिए । ‘सर्वसाधारण घरको छतमा जम्मा भएर बस्नुभएको खबर पाएका छौं’, कँडेलले भने, ‘उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखेका छौं, पानीको सतह घट्नेबित्तिकै परिचालन गरिहाल्छौं ।’

लखन्देही खोलाको भेल पस्दा कौडेनाको छप्कैंया टोला तथा सक्रौलको शिवनगर टोलसमेत डुबानमा परेको छ ।  तीन दिनदेखि विद्युत अवरुद्ध भएकाले मोबाइल सेट चार्ज नहुँदा जिल्लाका अधिकांश गाउँमा सञ्चार सम्पर्क विच्छेद भएको छ ।

 प्रजिअ कँडेलका अनुसार जिल्लाको एक तिहाइभन्दा बढी भूभाग जलमग्न छ । ६ सय ५० घर डुबानमा परेका छन् भने २ सय भन्दा बढी घरमा क्षति पुगेको कँडेलले बताए । 

पहिरोमा परिवारका सातसहित आठको मृत्यु

मकवानपुर– बकैया गाउँपालिका–१०, अम्बासबेसीमा पहिरोले घर बगाउँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । शनिबार राति घर पहिरोले बगाउँदा ५० वर्षीय मंगलसिंह न्यासुर, उनकी पत्नी ४८ वर्षीया सुनमाया, छोरीहरू २४ वर्षीया माया, १२ वर्षीया हीरा, १० वर्षीया सानुमाया, ८ वर्षीया पाल्मो र २ वर्षीय छोरा विकासको मृत्यु भएको हो । 

पहिरोले परिवार नै बगाएर मृत्यु भएपछि गाउँ शोकमग्न छ । 

यसैगरी, पहिरोले घर पुर्दा भीमफेदी गाउँपालिका–८ इपाकी ५० वर्षीया मिठु दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । उक्त घरमा पुरिएकी १९ वर्षीया सरु खड्कालाई भने स्थानीयले सकुशल उद्धार गरेको वडा सचिव पुरुषोत्तम उप्रेतीले बताए । 

बकैया गाउँपालिका, बुंगेखोला हात्तीसुँढेमा बाढीले बगाउँदा राजीमान घलानका छोरा वीरबहादुर बेपत्ता छन् । कर्रा खोलामा आएको बाढी बस्तीमा पसेपछि प्रहरीले हेटौंडा–४ शान्तिनगरमा ९ जनाको उद्धार गरेको छ ।

चितवनमा तीनको मृत्यु 

चितवन– अविरल वर्षपछि बाढी–पहिरोका कारण चितवनमा तीनजनाको मृत्यु गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका एसपी दीपक थापाका अनुसार दुईजनाको खोलाले बगाएर तथा एकजनाको घर भत्केर काठले च्यापिँदा मृत्यु भएको हो । चितवनमा डुबानका कारण समस्यामा परेका २ हजार ७ सय ६५ जनाको उद्धार गरिएको एसपी थापाले जानकारी दिए ।

प्रहरीका अनुसार जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका– ३ ओरेकका २२ वर्षीय कमल चेपाङको वारवाङ खोलाले बगाउँदा मृत्यु भएको छ । यसैगरी, शनिबार राति पप्मा खोला तर्ने क्रममा राप्ती नगरपालिका–७ की ३५ वर्षीया गुमनकुमारी रानामगरको बगेर मृत्यु भएको छ । बाढीले घर भत्काउँदा थिचिएर राप्ती नगरपालिका–६ प्यारीढापकी ७४ वर्षीया फूलमती चेपाङको मृत्यु भएको छ ।  पूर्वी चितवनको लोथर खोला, पप्मा खोला, लदरी खोला, कयर खोला, राप्ती र बुढी राप्ती खोालमा आएको बाढीले धेरै ठाउँ डुबानमा परेका थिए ।

राप्ती नदीका कारण पश्चिम चितवनको जगतपुर पटिहानी क्षेत्रमा पनि डुबान भएको थियो । नारायणी नदीले मेघौली दिव्यनगर क्षेत्रका केही घरमा डुबान गरेको छ । चितवनमा १ हजार ५ सय ३४ घर डुबानमा परेका छन्  ।

उनीहरूको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएका एसपी थापाले बताए । सौराहा क्षेत्रमा फसेका पर्यटक र रत्ननगरको मगरटोल, बाघमारा टोलका स्थानीयलाई समेत उद्धार गर्नुपरेको थियो । 

अविरल वर्षाका कारण भएको डुबान र कटानको समस्याले चितवनको धेरै ठाउँमा विद्युत आपूर्ति शनिबार रातिदेखि ठप्प भएको छ । आइतबार जिल्लाका विद्यालय बन्द रहे । नारायणी नदीमा कम भेल आए पनि खहरे खोला उर्लेपछि चितवन जलमग्न भएको थियो । 

 

नोट ः बाढीमा फँसेका चितवनको रत्ननगर बाघमाराका स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थान तर्फ लगिदै गरेको फोटो पनि छ । 

क्याप्सन ः डुबानमा परेका सर्लाहीको कौडेनास्थित छप्कैौं टोलका घर । तस्बिर ःनागरिक 

 

प्रकाशित: ३० श्रावण २०७४ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App