coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दाङमा बाढीले २० घर बगायो, ५० घर डुबानमा

अविरल वर्षाका कारण बबई नदीमा आएको बाढी, तथा भत्किएको तुलसीपुर घोराही सडक खण्ड

दाङ – शुक्रबार रातीदेखिको लगातार भएको वर्षाका कारण खहरे खोला तथा बबइ नदीमा आएको बढीले दाङमा २० भन्दा बढी घर बगाएको छ भने ५० भन्दा बढी घर डुबानमा परेको छ।  

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका  १४ फूलवारीमा स्थानीय तुही खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय भगवती सुनारलाई शुक्रवार राती खोलाले बगाएको हो । बाख्रा सार्न राती बाहिर निस्केको बेला उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । उनको शव शनिवार बिहान घर नजिकै झ्याङमा अड्किएको अवस्थामा फेला परेको थियो। 

अहिले सम्म प्राप्त जानकारी अनुसार सबै भन्दा बढी तुलसीपुर उपमहानगरपालिकाको फूलवारीमा १३ घर बगेका छन् । स्थानीय तुही खोलामा आएको बाढीले अम्बापुर, दमारगाउँ, मजघटुवा गाउँका १३ घर बगाएको स्थानीय हरिहर पौडेलले बताए । यसैगरी बाढीले स्थानीय अमरराज कार्कीको पोल्ट्री फार्ममा रहेका कुखुरा बगाएको छ भने स्थानीय सामुदायिक विद्यालयको पर्खाल समेत बगेको छ। 

दंगीशरण गाउँपालिकाको गोल्टाकुरीमा ६ वटा घर भत्कीएका छन् । बबई नदीमा आएको बाढीले ६ घर भत्काएको स्थानीय प्रकाश डाँगीले जानकारी दिएका छन् । बबईको बाढीले ४० बढी घर डुबानमा परेको पनि उनले जानकारी दिए । यसैगरी तीन वर्ष अघिको बाढीले ठूलो विपत्ति निम्त्याएको तुलसीपुर उपमहानगरपालिकाको मोतीपुर गाउँमा पुनः ४ घर बगाएको छ । तीन वर्ष अघि बाढीबाट विस्थापित चार परिवारलाई पुनः बबईले विस्थापित बनाएको छ । यसैगरी लमही नगरपालिका ९ अमिलियामा ७ घर स्थानीय खहरे खोलाले भत्काएको छ । स्थानीय फिरंगी खोलामा आएको बाढीले ७ घर बगाएको छ । बाढीले त्यहाँ बालीनालीमा समेत क्षति पुर्याएको छ । बबईको तटीय क्षेत्रमका रहेका थुप्रै बस्तीका घर परिवारहरू बाढीको त्रासका कारण विस्थापित बनेका छन् । कैयन स्थानमा बाढी पसेर घर डुवानमा परेका छन्। 

उता देउखुरीमा भने राप्ती नदीले खेतीयोग्य जमिन कटान गरेको छ । राप्तीले बस्ती भने डुवानमा पारेको छैन् ।
यसैबीच लगातारको वर्षाका कारण घोराही तुलसीपुर सडक खण्डका सडक भत्किएको छ । तुलसीपुर उपमहानगरपालिकाको मोतिपुर भन्ने स्थानमा सानो कल्भर्टमा आएको पानीको ठूलो मुलले सडक बीच भागबाटै भत्काइदिएको छ । सडक बीच भागबाट भत्काएपछि सवारी आवागमन ठप्प भएको छ । यसैगरी यहाँका पुलविहिन खोलाहरुमा आएको बाढीका कारण लमही तुलसीपुर सडक खण्डमा  यातायात सेवा विहानै देखि अवरुद्ध छ । 

शुक्रबार रातीदेखिको वर्षा अहिले पनि जारी रहेकाले तटीय क्षेत्रका वस्तीहरू डुवानको उच्च जोखिममा छन् । स्थानीयहरू त्रसित बनेका छन् । यसअघि २०७१ साउन २९ गते दाङको बबई नदीमा आएको बाढीले स्थानीय नागरिकको ज्यानै जानुका साथ सैयौँ घर बगाएको थियो । 

प्रकाशित: २८ श्रावण २०७४ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App