१६ चैत्र २०८० शुक्रबार
समाज

हरिराम दम्पतीको सहयोगको याचना

बैतडी – जन्मजात नै अपांगता भएका तथा बोल्न नसक्ने बैतडी दशरथचन्द नगरपालिका–८ त्रिपुरा र्यासीका ५८ वर्षीय हरिराम दमाईंको दम्पतीले सहयोगको याचना गरेको छ। 

श्रीमान् श्रीमती दुवै जन्मजात नै अपांगता भएका तथा बोल्न नसक्ने, हातको इसाराले छिमेकीसँग मागेर दैनिक गुजारा गरिरहेका हरिराम दम्पती घर नहुँदा रातिराति सुत्नलाई नजिकै रहेको त्रिपुरासुन्दरी मन्दिर जाने गरेका छन् । मन्दिरमै दमाहा बजाउने र आउने भक्तजनबाट मागेर दैनिक छाक टार्ने गरेको स्थानीय सुशील क्षेत्रीले बताए। 

बिहे भएको केही वर्षपछि एउटा छोरा जन्मिएको र जन्मिएको १३ दिनमै मृत्यु भएको हो । हरिराम दम्पतीलाई बूढेसकालको सहारा छोराछोरी नहुँदाको पीडा एकातिर खेप्नुपरेको छ भने अर्कोतिर बिहान खाएर साँझ के खाने अनि कहाँ बस्ने भन्ने चिन्ताले अर्कोतिर पिरोलिरहेको छ। 

वर्षात्को समयमा न त बस्नलाई ठाउँ छ, सानो घर भएपनि त्यो भत्किएको र जीर्ण अवस्थामा रहेको छ । वर्षात्को समयमा ओत लाग्न नगरपालिकाको पहलमा स्थानीय युवाले एउटा त्रिपाल हालेर मकैबारी छेउमा सानो झुपडी बनाइदिएका छन्। 

कुनै पनि निकायले हरिरामको पीडा नदेखेपछि स्थानीय युवा जुटेर आर्थिक संकलनमा लागेका छन्। स्थानीय हिक्मत चन्दको नेतृत्वमा सहयोग संकलन टोली बनाएर हालसम्म रु १३ हजारभन्दा बढी संकलन भइसकेको छ। 

भदौ १ गतेदेखि हरिरामका लागि पक्की घर बनाउने गरी सहयोग संकलन गरिरहेको स्थानीय हिक्मत चन्दले बताए। सबै सरकारवाला निकाय र स्थानीयवासीलाई समेत सहयोग गर्न स्थानीय युवाले अपिल गरेका छन् । रासस 

प्रकाशित: २५ श्रावण २०७४ ०५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App