६ वैशाख २०८१ बिहीबार
समाज

सुतिरहेका चार जना पहिरोले पुर्यो

पहिरोले अवरूद्ध रसुवाको सडक पन्छाउँदै एक्साभेटर। फाइल तस्विर

काठमाडौं– अविरल वर्षासँगै गएको पहिरोले रसुवाको उत्तरगया गाउँपालिका–४, पैरेबेसी गाउँका चार जनालाई पुरेको छ। गएराति १०ः२० बजे गएको पहिरोले धर्म थापा मगरको घर पुर्दा सुतिरहेका चार जना परेका हुन्।

रसुवा जिल्लाकी सहयाक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलेकाअनुसार पहिरोमा परी धर्म थापा मगर, उनकी बुहारी मुना थापामगर, ४ वर्षीय नाती, घरमा कामगर्ने भक्तबहादुर नगरकोटी पुरिएका हुन्। सुरक्षाकर्मीले पहिरो पन्छाएर उद्धार प्रयास जारी राखे पनि हराइरहेकाहरू फेला परेका छैनन्।

सुरक्षाकर्मीले पहिरो पन्छाएर उद्धार प्रयास जारी राखे पनि हराइरहेकाहरू फेला परेका छैनन्।

पहिरोमा परी तीन जना घाइते भएका छन्। गम्भीर घाइते बिन्दा थापमगरलाई प्रहरीले उद्धार गरी उपचारका लागि त्रिशुलीतर्फ लगेको छ।

‘पहिरोले मान्छे पुरेको सूचना पाउनासाथ उद्धारका लागि राति नै नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ’, सहायक प्रजिअ पौडेलले भनिन्, ‘अविरल वर्षासँगै खसेको पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध पारेकाले घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको छ।’

पहिरो गएको पैरेबेसी गाउँ रसुवा सदरमुकाम धुन्चेदेखि करिब ४५ किलोमिटर पूर्वदक्षिणमा पर्छ। धुन्चेदेखि बेत्रावतीसम्म तीन ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ। घटनास्थल रसुवाको बेत्रावतीदेखि एक घन्टा पैदल दूरीमा पर्छ। कालिकास्थान, धारापानी र कटुन्जे भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध पारेकाे सहायक प्रजिअ पौडेलले बताइन्। पहिरो पन्छाउन धुन्चे र कालिकास्थन दुवैतिरबाट एक्साभेटर परिचालन गरिएको उनले जानकारी दिइन्।

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र जिल्ला प्रहरी प्रमुख डिएसपी फणिन्द्र प्रसाईं राहत सामग्रीसहित घटनास्थलतर्फ पैरेबेसीतर्फ जाँदैछन्।

प्रकाशित: २३ श्रावण २०७४ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App