७ वैशाख २०८१ शुक्रबार
समाज

नक्कली प्रश्नपत्र भेटिएपछि जेटिएको परीक्षा रद्द

पर्वत- कार्यालय सहायकले प्रश्नपत्र बनाउने र आँफै आउट गरेको पाएपछि यहाँ सञ्चालित प्राविधिक शिक्षालयमा (कृषि प्राविधिक) जेटिएको प्रवेश परीक्षा रद्द भएको छ। कुश्मा नगरपालिका–११ मा रहेको विरेन्द्र प्राविधिक शिक्षालयमा प्रवेश परीक्षा लिदै गर्दा कार्यालय सहायकले नै प्रश्नपत्र बनाउने र आफै आउट गरेको पाएपछि रद्द गरिएको विद्यालय निरीक्षक हिमलाल लामिछानेले बताए। नक्कली प्रश्नपत्र भेटिएपछि परीक्षा रद्व भएको हो।

‘प्रश्नपत्र सिटिइभिटिबाट प्राप्त भएको भन्दै कार्यालय सहायकले भनेपछि विश्वास गरेर परीक्षा सुरु गर्‍यौं तर शंका लागेर सिटिइभिटिमा सम्पर्क गर्दा त्यहाँबाट नआएको पुष्टि भयो’ लामिछानेले भने–‘कुरो बुझ्दा प्राविधिक शिक्षालयकै कार्यालय सहायक गणेश पौडेलले प्रश्न बनाएर प्रवेश परीक्षामा सहभागी आफन्तलाई बितरण गरेका रहेछन्।’

उनले कार्यालय सहायकले नै प्रश्न बनाउने र आउट गरेको पुष्टि भएपछि परीक्षा रद्द गरेको जानकारी दिए। प्रवेश परीक्षा सञ्चालनका लागि शिक्षा कार्यालयले तोकेको अधिकृत, प्राविधिक शिक्षालयका अध्यक्ष र सम्बन्धित बिद्यालयका प्राचार्य गरी तीन सदस्यीय समिति रहने प्रावधान छ।

जिल्ला शिक्षा कार्यालयले विद्यालय निरीक्षक लामिछानेलाई प्रतिनिधि तोकेको थियो। प्रवेश परीक्षा सुरु गरेको पाँच मिनेटमै नक्कली प्रश्न पत्र बनेको र त्यो पनि सार्वजनिक भएको थाहा पाएपछि जिल्ला शिक्षा कार्यालयको जिम्मेबार प्रतिनिधिको हिसावले परीक्षा रद्द गरेर बुधबारका लागि राखेको लामिछानेले जानकारी दिए ।

‘सिटिइभिटीबाट प्रश्नपत्र आएको भनेपछि सबैको रोहबरमा सिलबन्दी खोलेर परीक्षार्थीलाई प्रश्न बितरण गरेको पाँच मिनेटमात्रै भएको थियो’ उनले भने–‘नक्कली काम गरेको पत्तो पाएपछि परीक्षा रद्द गर्नुपरेको हो।’ परीक्षा रद्द भएपछि काठमाडौ, पोखरा, चितवनलगायत ठाउँबाट आएका परीक्षार्थीले आक्रोश ब्यक्त गरेका थिए ।

प्राविधिक शिक्षालयमा ४० जनाको कोटामा एक सय १० जनाको दरखास्त परेको शिक्षालयका अध्यक्ष रमेशबम मल्लले जानकारी दिए । ‘कार्यालय सहायकलाई विश्वास गर्दा दरखास्त दिएका परीक्षार्थीले दुःख पाए’ मल्लले भने–‘अर्को परीक्षा बुधबार (भोली)का लागि राखेका छौ।’ प्रवेश परीक्षाको प्रश्नपत्र तीन सदस्यीय समिति वा सिटिइभिटीले बनाउने प्रावधान छ ।

तर, कार्यालय सहायकले प्रश्नपत्र सिलबन्दी भएर सिटिइभिटीबाट आएको बताएपछि विश्वासमा परेर परीक्षा सुचारु गरिएको उनले जानकारी दिए । कार्यालय सहायकको लापरबाहीपछि जिल्ला शिक्षा कार्यालयको निगरानीमा बुधबारको प्रवेश परीक्षा सञ्चालन गर्नका लागि मंगलबार प्रश्नपत्र तयार गरिएको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।

‘सक्षम ब्यक्ति प्रवेश परीक्षामा चयन होस्, धाँधली नहोस् भन्ने हाम्रो मुख्य ध्येय हो’ विद्यालय निरीक्षक लामिछानेले भने।

 

   

प्रकाशित: १७ श्रावण २०७४ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App