coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२७ वर्षपछि नागपञ्चमी र रक्षाबन्धन एकसाथ मनाइँदै (भिडियाे)

भिडियाे : प्रबिन काेइराला

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म (यज्ञोपवीत धारणसम्बन्धी प्रक्रिया),  ऋषितर्पणी र रक्षाबन्धन आज श्रावण शुक्ल पञ्चमीकै दिन मनाइँदैछ। साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने 'सत्कर्म रत्नावली', 'निर्णय सिन्धु', 'कृत्यबाटिका' लगायत ग्रन्थमा उल्लेख गरिएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

यसअघि विसं १९६३, १९८२, २०२८ र २०४७  मा पनि नागपञ्चमीका दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाइएको धर्मशास्त्रविद् प्रा. डा. गौतमले जानकारी दिए। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी 'जेले गर्दा अत्यन्त वलशाली दानवराज बलि बाँधिए, त्यसले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ' भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ। यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरुपुरोहितले 'येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल' भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको प्रा. डा. गौतमले बताए।

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन्। यसका लागि बिहबिारदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन्। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ। आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तर्षि र पितृलाई पनि तर्पण दिइन्छ। आजको दिन सप्तर्षी काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ।

वैदिक गुरु परम्परानुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ। अर्को डोराको तीन शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ।

आज बिहानै यजमान आफ्ना गुरुपुरोहितकहाँ गई यज्ञोपवीत मन्त्रने गर्छन्। आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनाका साथै फेर्नलाई समेत उपयोग गरिन्छ। कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवीत फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ।

आजका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाइन्छ। यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्छन्। यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। 'जात्रा, उत्सव, पूर्णिमा तिथि श्राद्ध र पूर्णिमाको व्रत साउन २३ गते नै गरिन्छ, यसका लागि ग्रहणमा पनि शुभ मानिन्छ,' उहाँले भन्नुभयो। यदि श्रावण शुक्ल पूर्णिमा संक्रान्तिका दिनमा परे पनि नागपञ्चमीकै दिन रक्षाबन्धन, उपाकर्म र ऋषितर्पणी पर्व मनाउनुपर्ने शास्त्रीय प्रमाण रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।

प्रकाशित: १३ श्रावण २०७४ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App