coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भोटेकोसीमा तत्काल फड्के हाल्न मन्त्रीको निर्देशन

पुल भाँचिएको लार्चा क्षेत्रको अवलोकन निरीक्षण गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत । तस्बिर : ध्रुव दंगाल

सिन्धुपाल्चोक – सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पुल भाँचिएपछि सडक सम्पर्क टुट्दा चार दिनदेखि नाकाबन्दीमा परेको उत्तरी तातोपानी सीमा नाका तत्काल जोड्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । 

चट्टाने ढिस्को खसेर पुल भाँचिएपछि बिहीबार सरकारको तर्फबाट पहिलो पटक निरीक्षण भ्रमणमा आएका उनले भोटकोसी नदीमा फड्के हालेर केही दिनभित्रै आवागमन खुलाउन निर्देशन दिएका हुन् । मन्त्री नियुक्त भएको भोलिपल्टै गृहजिल्ला आएका बस्नेतले भने, ‘स्थायी संरचना बन्नुअघि नदी तर्न फड्के वा साँघु हालेर भए पनि आवागमन सहज बनाउनु पर्छ ।’

आइतबार राति अक्करे भिरबाट तत्कालीन फुल्पिङकट्टी र तातोपानी जोड्ने ९० मिटर लामो लार्चाको मोटरेबल पुल भाँचिएको थियो । पुल भाँचिएपछि सवारी र पैदल यात्राको बिकल्प नहुँदा स्थानीय गाउँमै थुनिएका छन् । भोटेकोसीमा बेलिब्रिज र फड्के एकसाथ बनाउन पनि मन्त्री बस्नेतले निर्देशन दिए । तातोपानी क्षेत्रमा विगत तीन वर्षदेखि प्राकृतिक बिपत्ति आइलागेको चर्चा गर्दै उनले भने, ‘पहिला नाकाबन्दी खोलौँ, अन्य काम सरकारले गर्दै जाने छ ।’

पुल भाँचिएर तातोपानीका स्थानीय गाउँमै थुनिएको पाँच दिनपछि पहिलो पटक बल्ल सरकारका सूचना तथा सञ्चारमन्त्री प्रभावित क्षेत्रमा । गृहजिल्ला भएकाले मात्र प्राथमिकतामा । 

भूकम्पपछि बन्द नाका सञ्चालनमा ल्याउन चीन सरकार सकरात्मक भइरहेकै बेला पुल भाँचिनु दुर्भाग्य भएको मन्त्री बस्नेतले टिप्पणी गरे । ‘निजी क्षेत्र, यस क्षेत्रका राजनीतिक नेता र सरकारको तीव्र लबिङपछि चीन बन्द नाका खुलाउन सकरात्मक थियो,’ उनले भने, ‘यतिबेलै पुल भाँचिएपछि तत्काल नाका सञ्चालनमा बाधा उत्पन्न भएको छ ।’ 

भोटेकोसीमा बेलिब्रिज लगायत संरचना बनिरहँदा नाका सञ्चालनमा ल्याउन सरकारले चीनसँग पहल गरिरहने उनले बताए । फड्के बनेर आवागमन सहज हुनुअघि तातोपानीमा खाद्यन्न र औषधी अभाव भए सरकारले व्यवस्था गर्ने उनले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले नाका जोड्न तीव्र गतिमा काम भइरहेको बताए । ‘दुई–तीनदिन भित्र भोटेकोसीमा फड्के हालेर आवागमन सम्भव बनाउँछौँ,’ उनले मन्त्री बस्नेतलाई सुनाए । उनका अनुसार नदी दायाँ–वायाँ जाली गाह्रो उठाउने काम भइरहेको छ । फड्केको लागि फलामे पोल लगायत सामग्रीसमेत आइसकेको छ । 

फड्केमार्फत आवागमन सहज बनाउँदै यातायात साधनै सञ्चालन हुने गरी बेलिब्रिज राख्ने काम पनि एकसाथ सुरु भएको प्रजिअ सिलवालले बताए । ‘सडक डिभिजनका प्राविधिकले पुलको सर्वे सम्पन्न गरेका छन् । एक–दुई दिनमै बेलिब्रिजका सामग्री आइपुग्छन्,’ उनले भने । 

 

प्रकाशित: १२ श्रावण २०७४ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App