७ वैशाख २०८१ शुक्रबार
समाज

जग्गा विवादले दिपायल बसपार्क अवरुद्ध

डोटी –जग्गाको विवादका कारण दिपायल बसपार्क अवरुद्ध बनेको छ । मुख्य सडकबाट बसपार्क जोड्ने सडक क्षेत्रमा पर्ने जग्गामा विवाद उत्पन्न भएपछि बसपार्कमा गाडीहरु जान सकेका छैनन् । जसका कारण बसपार्क प्रयोगविहिन बनेको छ ।
बसपार्क जोड्ने सडकमा आफ्नो ७ आना जग्गा पर्ने भन्दै स्थानीय टेक बहादुर शाहले सडकमै फलामको डण्डीको घेरा हालेका छन् । जसले बसपार्क जोड्ने सडक साँघुरो परेपछि बसहरु भित्र जान नसक्ने भएका छन् । ‘यो बसपार्कमा हाम्रो ७ आना जग्गा छ । मैले आफ्नो जग्गालाई सुरक्षित पार्न घेरा हालेको हुँ ।’
दिपायलको पिपल्ला बजारस्थित यो बसपार्क संचालन गर्नका लागि दिपायल सिलगढी नगरपालिकाले २०५४ सालदेखि प्रयास थालेको थियो । सोही प्रयासका आधारमा २०५८ सालमा जमिन भाँडामा लिएर बसपार्क संचालनका लागि नगरपालिकाले निर्णय गरेको थियो । तत्कालिन दिपायल सिलगढी नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष रहेका पूर्व मेयर हिक्मत बहादुर शाहको जमिनलाई बसपार्कका रुपमा प्रयोग गर्ने सम्झौता भएको थियो ।

सम्झौता अनुसार २५ वर्षसम्म ३ रोपनी दुई दाम जमिन बसपार्कको रुपमा प्रयोग गर्ने र पार्किङ बाफत उठेको रकममध्ये आधा नगरपालिकाको राजस्वमा जाने र आधा जग्गाधनी रहेका तत्कालिन वडाध्यक्ष शाहले पाउने व्यवस्था छ । सो सम्झौतापछि मुख्य सडकबाट बसपार्क जोड्ने सडकका लागि नक्सा पास गरेर २०५९ सालबाट बसपार्क सुरु गरिएको थियो । त्यतिबेला पास गरिएको नक्सामा सडकका लागि पर्याप्त जमिन रहेको पूर्वमेयर शाहले बताए । ‘नक्सामा पर्याप्त जमिन छ । सडक पनि सोही जमिनमा छ,’ उनले भने,‘चारदेखि ७ मिटरसम्म चौडाई भएको बाटो छ ।’

उता टेक बहादुर शाहले भने पूर्व मेयर शाहलाई ‘आफ्नो जमिनको भाँडा लिने अरुको जमिन त्यत्तिकै हड्पाएको’ आरोप लगाए । उनले भने,‘१४÷१५ बर्षसम्म चुप्प लागेर बस्यौ । मूल्यांकन गरेपनि ५०/६० लाखको जमिनको कतिदिन चुप लाग्ने ।’ नगरपालिकाले समेत कुनै सुनुवाई नगरेको उनले आरोप लगाए ।
दिपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्यले लगतकट्टा गरेको जमिन रहेकाले विवाद हुनु नपर्ने बताए । ‘जग्गा विवादले गर्दा एक्कासी लामो समय चलेको लगतकट्टा गरेर निर्माण गरेको बाटो बन्द भएको छ । केही दिनभित्र समस्याको समाधान गर्नेछौं।’

प्रकाशित: ९ श्रावण २०७४ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App