coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राजमार्ग दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं- पछिल्लो वर्ष धादिङमा सवारीसाधन दुर्घटनाको संख्या घटेको देखिए पनि दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने बढेको पाइएको छ।
यस वर्ष धादिङमा भएका ९८ वटा दुर्घटनामा ९० जनाले ज्यान गुमाए। दुर्घटनामा ज्यान गुमाउनेको यो संख्या अघिल्लो वर्षभन्दा २९ ले बढी हो। आर्थिक वर्ष २०७२/०७३ मा एक सय ४९ दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका थिए।
जिल्ला ट्राफिक प्रहरीको तथ्यांकअनुसार जिल्लामा ३४ प्रतिशतले दुर्घटना कम भएको देखिन्छ। तर, दुर्घटनामा मृत्यु हुनेको संख्यामा भने ४८ प्रतिशतले बढेको देखिन्छ। दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएका विभिन्न कार्यक्रमले ठूला सवारी दुर्घटनामा कमी आए पनि मोटरसाइकल दुर्घटनामा कमी आएको छैन।
राजमार्गमा ठूला सवारीभन्दा साना सवारी मुख्यतः मोटरसाइकल दुर्घटनामै ज्यान गुमाउनेको संख्या उच्च रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरीक्षक रामचन्द्र घिमिरेले बताए। …मोटरसाइकल दुर्घटनामा स्पट डेथ हुनेको संख्या बढी छ। त्यसपछि गाडी खस्दा धेरैको मृत्यु हुन्छ,' उनले भने।
धेरैजसो दुर्घटनामा सडककै खराबी र चालकको लापरबाही देखिएका छन्। एक त गल्छीदेखि नागढुङ्गासम्मका सडकमा खाल्डोखुल्डी अत्यधिक छन् अर्काेतर्फ मुग्लिन नारायणगढको जाम क्रस गर्न चालक हतारिन्छन्। प्रहरी नायव निरीक्षक घिमिरे भन्छन्, …सडकको खराबी र चालकको लापरबाहीकै कारण सवारी दुर्घटनामा पर्छन्।'
दुर्घटनामा घाइतेको संख्यामा पनि तुलनात्मक रूपमा कमी आएको छ। यस आर्थिक वर्ष २०७३/०७४ मा भएका ९८ वटा दुर्घटनामा दुई सय आठ जना घाइते भएका छन्। घाइतेमध्ये एक सय १२ जनालाई ट्राफिक प्रहरीले गम्भीर घाइतेको सूचिमा राखेको छ।
धादिङ जिल्लाभित्र ८६ किलोमिटर पृथ्वी राजमार्ग पर्छ। यो राजमार्ग हुँदै देशका ६४ जिल्लाका यात्रु ओहोरदोहोर गर्ने गर्दछन्। ५४ हजार सवारी कारबाहीमा, चार करोड राजश्व संकलन यस वर्ष जिल्लामा ५४ हजार आठ सय ३९ सवारी कारबाहीमा परेका छन्। कारबाहीमा परेका सवारीसाधनबाट जिल्ला ट्राफिक प्रहरीले तीन करोड ९८ लाख ३१ हजार राजश्व संकलन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा एक करोड ९५ लाख ५९ हजार राजश्व संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्षको राजश्व दुई करोड दुई  लाख ७२ हजारले बढी हो। पछिल्लो वर्ष सरकारले नै ट्राफिक नियम उल्लंघन गरेबापत लिइने जरिवानाको रकम वृद्धि गरेसँगै राजश्व संकलनमा वृद्धि भएको प्रहरी नायव निरीक्षक रामचन्द्र घिमिरेले बताए।
…सवारीको चाप बढ्या बढ्यै छ त्यसले पनि दुर्घटना बढेको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको राजश्व दोब्बरले बढी छ,' घिमिरेले भने। ट्राफिक नियम उल्लंघन गरेबापत लिइने जरिवानाको रकम वृद्धि गरेर यस वर्षबाट सरकारले पाँच सय, एक हजार र एक हजार पाँच सय रुपैयाँ पुर्‍याएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार ट्रक र टि्रपर बढी कारबाहीमा परेका छन्। यी सवारीले क्षमताभन्दा बढी भार बोक्ने, लापरबाहीपूर्वक कुदाउने र कागजपत्र नबोक्ने सवारीमा पर्छन्।

प्रकाशित: ८ श्रावण २०७४ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App