७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष दुई करोड ठगी प्रकरणका मुख्य मतियार

काठमाडौं—जापान मान्छे पठाइदिन्छु भन्दै दुई करोडभन्दा बढी रकम ठगी गर्ने प्रकरणमा पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तिलक मल्लको संलग्नता देखिएको छ। जापानमा आकर्षक रोजगार लगाइदिने भन्दै गोविन्दप्रसाद तिवारी नेतृत्वको गिरोहले नेपालमा दुई करोडभन्दा बढी रकम असुलेको थियो। उनीहरुले प्रतिव्यक्ति ४० लाखसम्म असुलेर गायब भएका थिए।

जापान बस्दै आएका तिवारी र मल्लको गिरोहले आकर्षक रोजगारीको प्रलोभनमा पारी रकम संकलन गरेको थियो। टोकियोमा बसेर गिरोहले काठमाडौंमा पैसा असुल्ने जिम्मेवारी सुदर्शन मल्ललाई दिएको थियो। बैंक, मनि ट्रान्सफरमार्फत् सुदर्शनले पैसा संकलन गरेका थिए। (हेर्नुहोस् पैसा बुझेका रसिद)

सुदर्शन तिलक मल्लका छोरा हुन्। मल्लले ठगी प्रकरणमा छोरालाई लगाएर पैसा संकलन गरेको स्वीकारेका छन्।

‘मैले छोराको अकाउन्ट दिएको हो। छोराको नाममा पैसा गएको सत्य हो’, ठगी प्रकरणको समाचार प्रकाशित भएपछि नागरिकन्युजका सुरेन्द्र पौडेलसँग कुराकानी गर्दै उनले भनेका छन्। (अडियो सुन्नुहोस्। ट्रान्सकाइभ भर्सन स्टोरीको अन्तिममा पढ्नुहोस्)

असार १३ गते नागरिक दैनिकले यो प्रकरण उजागर गर्दै समाचार प्रकाशित गरेको थियो।

गिरोहले २०७० सालदेखि नै जापानमा रोजगार लगाइदिने भन्दै ठगेको पाइएको छ। २०७० सालमा कल्पना थापालाई २० लाख रुपैयाँ ठगेका थिए। जापान जान नपाएपछि उनले त्यतिबेलै प्रहरीमा उजुरी गरेकी थिइन्। त्यसपछि तिवारी पक्राउ त परे तर केही दिनमै छुटेर जापान जान भ्याए। त्यसयता गिरोहको कोही पनि पक्राउ परेका छैनन्।

जापानमा जापानमा मासिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको जागिरमा लगाइदिने प्रलोभनमा देखाएर उनीहरुले एकजनासँग ४० लाख रुपैयाँसम्म असुलेका थिए। मोटो रकम असुलेर जापान जान नपाएर पीडित बनेकाहरुले त्यसपछि मात्र वैदेशिक रोजगार विभाग र प्रहरीमा उजुरी गरेका हुन्। पीडितकाअनुसार दुई वर्ष अवधिमा ठगी प्रकरणका नाइके तिवारीले १९ वटा मोबाइल नम्बर परिवर्तन गरेका छन्। मल्ल गत चैत महिनासम्म पत्रकार महासंघ जापानको अध्यक्ष थिए।

पत्रकारिता देखाउने रोधीघर चलाउने
पत्रकार महासंघ जापन शाखाका संस्थापक अध्यक्ष तिलकबहादुर मल्ल सन् २०११ देखि २०१७ सम्म अध्यक्षको भूमिकामा रहे। उनलाई नजिकबाट चिन्नेहरुका अनुसार मल्ल सन् १९९० को दशकमा जापान गएका हुन्। सन् १९९४ मा ओभर स्टे भएपछि उनले जापानी महिलासँग नक्कली विवाह गरी जापानमै बसेका थिए। त्यतिबेला उनी मासु पसलमा काम गर्थे। हाल टोकियो बसोबास गर्ने उनी जिएमटी इन्टरनेशनलका अध्यक्ष हुन्। सो कम्पनीले समुन्द्रपारि डट कम र क्लिक बजार डट कम भन्ने दुई अनलाइन सञ्चालन गर्ने कम्पनीको वेबसाइटमा उल्लेख छ।

उनलाई नजिकबाट चिन्नेहरु मल्लको आर्थिक हैसियत सन् २०११ पछि बढेको बताउँछन्। २०११ देखि २०१७ सम्म लगातार दुई कार्यकाल उनी पत्रकार महासंघ जापानको अध्यक्ष भएका थिए। टोकियोको सिनोकुवोमास्थित टोकियो रोधीघरका ७ सञ्चालकमध्ये एक हुन्- मल्ल। करिब २०० जना क्षमताको सो रोधीघरले तीन-तीन महिनामा नेपालबाट कामदार लैजाँदै आएको छ। भ्रमण भिषामा जानेले जापानमा काम गर्न पाउँदैनन्। 

गैरआवासीय नेपाली संघ जापानका सल्लाहकारसमेत रहेका उनले पछिल्लो समय काठमाडौंको सानो भर्‍याङमा घर बनाएका छन्। उनको पुर्ख्यौली घर भने म्याग्दीको मंगला गाउँपालिका–५ मा हो। पीडितहरुले मल्लको घर ठेगाना थाहा पाएपछि असार २२ गते सानो भर्‌याङ पुगेर धर्ना दिएका थिए। (तल हेर्नुहोस् तस्विर) याे प्रकरणाबारे कुराकानी गर्न नागरिकन्युजले मल्लकाे जापानकाे नम्बर +८१८०५८९८४३२१ मा सम्पर्क गरेकाे थियाे। 'दुइ कराेड ठगी प्रकरणमा तपाइँकाे भूमिका देखियाे। तिवारी र तपाइँबीचकाे साँठगाँठ के हाे?' प्रश्न सुनेपछि उनी केहीबेर अक्मकाए। फाेन राखिदिए।  

तस्विसर सौजन्यः उज्यालो अनलाइन

त्यहाँ आमा र एक छोरी मात्र भेटिएपछि पीडितहरु रित्तै फर्किएका थिए। पीडितहरु घरमा पुगेर धर्ना दिएको थाहा पाएपछि मल्लले घटना सामसुम पार्न सुवास विक नाम गरेका व्यक्तिलाई खटाएका छन्।

घरजग्गा रोक्का, सुदर्शन भागेर जापान
तिवारी-मल्ल गिरोहलाई पैसा बुझाएर बिचल्लीमा परेका पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले तिलकबहादुर मल्लको चलअचल सम्पत्ति रोक्का गर्न भूमिसुधार विभागलाई पत्राचार गरेको छ। विभागले २०७४ जेठ २० मा सम्बन्धित भूमिसुधार कार्यालयमार्फत् मल्लको नाउँमा रहेको चलअचल सम्पति रोक्का गरेको हो (हेर्नुहोस् विवरण)।

मल्ल बाउछोरा र तिवारीको खोजी प्रहरीले तीब्र पारेको बताए पनि उनीहरु तीनै जना जापानमा छन्। ठगी प्रकरणका मुख्य नाइकेहरु जापानमा रहेकाले पक्राउ नपरेको भन्दै पीडितले प्रहरीको इन्टरपोल शाखासमेत उजुरी गरेका थिए।

प्रहरीले परराष्ट्र मन्त्रालयमार्फत पीडितले गोविन्द तिवारीलाई डिपोर्ट गर्न भनेको थियो। कास्की, पुरन्चौर–३ का तिवारीलाई त्यहाँबाट डिपोर्ट गरी नेपाल ल्याउने प्रक्रिया नेपाल प्रहरीले थालेपछि तिवारी जापानमा पक्राउ परेका थिए। ८ घन्टा थुनामा बसेपछि जापान प्रहरीले उनलाई मुक्त गरेको छ। उनी अहिले जापान प्रहरीको निगरानी छन्।

ठगी सम्बन्धमा आवश्यक कागजात नेपालबाट प्राप्त नहुँदासम्म कारबाही अघि बढ्न नसक्ने बताउँदै जापान प्रहरीले तिवारीलाई छोडिदिएको हो। नेपाल प्रहरीले भने सबै कागजात कुटनीतिक च्यानलबाट पठाइसकेको जनाएको छ।

ठगी प्रकरणकै अर्का व्यक्ति सुदर्शनलाई पक्राउ गरी नेपाल फर्काउन वैदेशिक रोजगार विभागले टोकियोस्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ। रहादानी नं. ०५७६२९१५ नम्बर भएका सुदर्शनलाई पक्राउ गरी नेपाल पठाउन विभागले दूतावासलाई पत्राचार गरेको हो। (हेर्नुहोस् पत्र)

जापानी युवतीसँग नक्कली विवाहको कागजात बनाएर डिपेन्डेन्टको भिषामा उनी जापान पुगेका स्रोतको दाबी छ। टोकियोस्थित दूतावास स्रोतका अनुसार पत्र आइसके पनि उनलाई पक्राउ गर्ने प्रक्रिया सुरु भएको छैन।

के गर्दैछ दूतावास?
प्रहरीको इन्टरपोल शाखाले गोविन्द तिवारीलाई पक्राउ गर्न लेखेको पत्र, वैदेशिक रोजगार विभागले तिलक मल्ल र सुदर्शन मल्ललाई पक्राउ गर्न लेखेको पत्र यतिबेला टोकियोस्थित नेपाली दूतावास पुगेका छन्। आखिर नेपाली दूतावास के गर्दैछ? ठगी प्रकरणका पीडित र कतिपय जापानबासी नेपाली नै यो प्रकरणमा दूतावासले मौनता अर्थपूर्ण देखिएको बताइरहेका छन्। 'हामी ठोष परिणाम आवस् भनेर काम गरिरहेका छौं', दूतावास स्रोतले भन्यो,'कुटनीतिक च्यानलबाट जापान प्रहरीको नियमित सम्पर्कमा छौं। छिटै परिणाम आउनेछ। तपाइँहरुले थाहा पाउनु नै हुनेछ।'

यो पनि पढ्नुहोस्

प्रकाशित: ६ श्रावण २०७४ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App