१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा पनि देखियो बालेन पारा: थालियो अव्यवस्थित ठेला पसल हटाउन

बाटोमा अवरोध हुने गरी राखिएका फुटपाथ गाडाहरू नगरपालिकाले उठाउन थालेपछि लुकाउन ल्याइएका गाडाहरू। 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जस्तै भक्तपुर नगर क्षेत्रमा पनि ठेलागाडाहरु तथा अन्य अव्यवस्थित पसल व्यवसाय हटाउने अभियान थालिएको छ। भक्तपुर नगरपालिकाले केही हप्ता अगाडिदेखि सार्वजनिक सूचना जारी गरी अव्यवस्थित रुपमा राखिएको ठेलागाडा तथा पसलहरू हटाउने सूचित गरेको थियो। तर जारी आदेशको पालना नभएपछि नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा राखेर घुम्ती व्यापार व्यवसाय गर्दै आएका ती व्यवसायलाई हटाउन थालिएको हो। 

भक्तपुर नगरपालिकाका वडा निरीक्षक रामकृष्ण प्रजापतिले अटेर गर्ने व्यवसायको ठेलासमेत जफत गरी नगर क्षेत्रका अव्यवस्थित फुटपाथलाई व्यवस्थित गर्न थालेको जानकारी दिए। वडा निरीक्षक प्रजापतिका अनुसार ठेला हटाउने अभियान सुरु गरेको हो। सार्वजनिक सूचना सञ्चार माध्यमबाट दिएर गाडीबाट हप्तौँ पहिलेदेखि माइकिङ गरे पनि अटेर भई बाटोमा बटुवाहरू आवतजावत गर्न अवरोध र गाडी जाम भई दुर्घटनासमेत हुने सम्भावना भएकोले अटेर गरेकाको गाडा उठाएका हौ, वडा निरीक्षक प्रजापतिले भने।  

नगरको बाराहीस्थान सूर्य विनायकबाट सुरु भएको ठेला हटाउने अभियान अन्तर्गत बुधवार कमल विनायक, भाने र हाकुफो हिटीसम्म पुगेको छ। पहिलो पटक मंगलबार १५ वटा र बुधवार १५ वटा गरी अहिलेसम्म ३० वटा ठेला पसलेहरू नियन्त्रणमा आएको वडा निरीक्षक प्रजापतिले बताए। 

भक्तपुर नगरपालिकाले नगर क्षेत्रको सडक पेटी र फुटपाथमा पसलको सामान राख्ने साइकल, ठेलागाडा, गाडी, धावा पसल राख्ने र घुम्ती पसल व्यवसाय सञ्चालन कार्यले सर्वसाधारणको आवतजावतमा अवरोध हुनुका साथै सवारी दुर्घटनासमेत हुनसक्ने भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गर्दै व्यवसायलाई हटाउन थालेको होे। नगरपालिकाको आह्वानलाई अवज्ञा गरेको भन्दै नगरपालिकाले सडक पेटी र फुटपाथमा पसलको सामग्री राखेका, साइकल, ठेलागाडा, गाडी धावा तथा घुम्ती पसलका साथै अनधिकृतरुपमा राखिएका सामग्री र निषेधित क्षेत्रमा सञ्चालन गरिएका व्यवसायहरूलाई उठाई वा हटाई नियमानुसार कारबाही गर्न थालेको हो। 

नगरपालिकाको यो अभियानले न्यून आय भएका व्यवसायी मारमा पारेको भन्दै एकथरीको विमति पनि देखिएको छ। काठमाडौ महानगरपालिकामा जस्तै भक्तपुर नगरपालिका क्षेत्रमा त्यस्तो अनधिकृत व्यवसायमा रोक लागेपछि देशका विभिन्न क्षेत्रबाट भक्तपुर आएर व्यवसाय प्रवर्धन गर्दै आएका समुदायलाई समस्या भएको गुनासो उनीहरूको थियो। काठमाडौँमा व्यवसाय प्रवर्धन गर्न नदिएपछि भक्तपुरसम्म ठेला र साइकलमा व्यवसाय गर्नेहरूको माहोल बढेपछि सार्वजनिक क्षेत्रमा समेत सर्वसाधारणलाई आवत जावत गर्न गाह्रो भएपछि सर्वसाधारणहरूको गुनासोका आधारमा पनि नगरपालिकाले यो कदम चालेको नगरपालिकाले बताएको छ।

प्रकाशित: २४ श्रावण २०८० १६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App