७ वैशाख २०८१ शुक्रबार
समाज

भूकम्प पीडितको घरको जगमा झार मौलायो, दोस्रो किस्ता आएन

लैताकका पूर्णबहादुर चेपाङले सुरु गरेको दुई कोठे घर। दोश्रो किस्ताको पर्खाइमा बस्दा बस्दै उनले सुरु गरेको घरको जगमा झार पलाएको छ। तस्बिर: शंकर श्रेष्ठ

लैताक (धादिङ)- '५० हजार लिएर घर सुरु नगरे कारबाही हुन्छ भन्यो। हतार–हतार जग हालियो । आधा गारो पनि लगाइयो । न आफुसंग पैसा छ, न सरकारले दोश्रो किस्ता दिन्छ', लैताकका पूर्णबहादुर चेपाङ भन्छन्, ‘घरको जगमा झार मौलायो, दोश्रो किस्ता पाइएन।’

                पहिलो किस्ता लिएर सरकारको विश्वासमा घर निर्माण सुरु गरेका जिल्लाका अधिकांश भूकम्प पीडितको साझा समस्या हो यो। दोश्रो किस्ता आइहाल्छ सुरु गर्नुस् भन्यो, हो क्यारे भनेर त्यसैको आशामा हारगुहार गरेर आधा काम गरियो, अहिले पैसा नभएर घर पुरा गर्न सकिएन’ सन्तबहादुर चेपाङले गुनासो सुनाए।

                लैताकका पूर्ण बहादुर चेपाङले घर बनाउन थालेको नौ महिना पुरा भयो। असोजमा पहिलो किस्ता लिएर घरको जग हालेका पूर्ण बहादुरको घर निर्माणको काम अहिले रोकिएको छ । पैसा नभएकै कारण घर बनाउने काम रोकिँदा उनले बनाउन थालेको घरको जगमा अहिले झार फुलेर करेसाबारी जस्तो बनेको छ । हिँउदको घाम र वर्षात सुरु भएदेखिको पानीले जग लगाउँदा हालेको काठपात कुहिन थालेका छन्। ढुङ्गामाटोले जोडिएको गारो पनि विग्रिसकेका छन् । पूर्ण बहादुर भन्छन् ‘सरकारले पहिलो किस्तामा दिएको ५० हजार र खाइनखाई गरेको दुःख यो बर्खाले लाने भयो।’

                पूर्णबहादुरको लालाबाला सहितको परिवार भुकम्पले घर भत्किएदेखि नै जस्ता र त्रिपालको टहरामा बस्दै आएका छन् ।

                दोश्रो किस्ता नपाउँदा दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १० लैताक गाउँका मात्रै करिब २५ घर अधुरै छन् । बन्दै गरेका अधिकांश घरको जगमा झार पलाएको छ । दोश्रो किस्ताको लागि आठ महिना अघि नै निवेदन पेस गरेको भएपनि अहिलेसम्म दोश्रो किस्ता लिने लाभग्राही सूचिमा नाम नआएको स्थानीयहरुले गुनासो गरेका छन्।

                पैसा हुनेहरुले त थालेपछि पुरा गरे । नहुनेहरुले आधा गारो लगाएर छोडेका छन् । थालिसकेका घरको गारोमा पानी पसेर काम नलाग्ने बनिसक्यो । उपाय केही छैन । लैताकका लोकबहादुर श्रेष्ठले भने ‘गाविस गयो बैकमा बुझ्न जाउ भन्छ, बैकमा गयो किस्ता आएको छैन भन्छ, कहाँ गएर कैले पाउने दोश्रो किस्ता ?’

                 पहिलो किस्ता पाएर घर पुरा गरिसकेकाले पनि दोश्रो किस्ता पाएका छैनन् । चुनावमा भोट माग्ने बेला नेताहरुले पनि थालिसकेको घर पुरा गर्न तुरुन्तै दोश्रो किस्ता मिलाइदिन्छु भनेका थिए । चुनाव सकिएको पनि २ महिना वित्यो, न दोश्रो किस्ता आयो त नेता गाउँ फर्केर आए । स्थानीय होम बहादुर श्रेष्ठ भन्छन् ‘सोझा जनतालाई सरकार र नेता दुबैले झुक्यो।’

                नीजि आवास अनुदानको पहिलो किस्ता लिएर घर बनाउन नथाले कालोसूचिमा नाम पर्छ, कारबाही हुन्छ भन्यो । अलिअलि खर्च जुटाउन नपाउँदै हतार हतारमा घर थाल्न लगायो । अहिले हाम्रो विजोग भयो’ बुद्धराम चेपाङले गुनासो पोखे । तत्कालिन गाविस सचिव र इन्जिनियरहरुले हतारहतारमा घर थाल्न लगाएपनि अहिलेसम्म दोश्रो किस्ता नपाउँदा भूकम्प पीडित निराश बनेका छन्।

                २०७३ सालको माघ दोश्रो साता नै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले प्राधिकरणले भूकम्प पीडितलाई आवास अनुदान बापतको दोस्रो किस्ता वितरणको लागि अख्तियारी दिइसकेकाले तत्काल वितरण हुने बताएका थिए । तर अहिलेसम्म दोश्रो किस्ता नपाउँदा गाउँठाउँका भूकम्प पीडित समस्यामा परेका छन्। 

                लैताक आसपासमा अधिकांश चेपाङ र नेवार जातीको बसोबास छ । लैताक, गैरीगाउँ, माझागाउँ लगायत आसपासगरी करिब एक सय घर छन् । प्राय कसैको घर बस्न योग्य छैन । ढल्ने त ढलिगए, नढलेका ढुंगामाटोको घर जगैदेखि चिरिएका छन्, कुनै घरको चुच्चेगाउँ पहिरिएका छन् । तर करिब २० प्रतिशत घर लाभग्राही सूचिमा समेत परेका छैनन् ।

               

 

 

               

               

                 

 

प्रकाशित: ३१ असार २०७४ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App