१ श्रावण २०७७ बिहीबार
समाज

नयाँ हिमताल फुट्दा क्षति :  विज्ञ

सिन्धुपाल्चोक- चीन प्रवेशबिन्दु उत्तरी सीमा नाका तातोपानी क्षेत्र बगाउने गरी भोटेकोसी नदीमा बाढी आएको एक वर्ष बितेको छ।  गत वर्ष असार २१ गते राति तिब्बतबाट अकस्मात् आएको बाढीले लिपिङ बजारदेखि तल्लो तटीय ३० किमि क्षेत्रसम्म व्यापक क्षति पुर्‍याएको थियो। लिपिङ बजार ध्वस्त बनाएको बाढीले कोदारी, १० किलो हुँदै बाह्रबिसेसम्मका सयभन्दा बढी घर बगाएको थियो। पछिल्ला ३५ वर्षयताकै ठूलो उक्त बाढीले अरनिको राजमार्गको २६ किमि सडक क्षतविक्षत मात्र बनाएन, केही जलविद्युत् आयोजना, झोलुंगे पुल, स्कुल, तातोपानी धारा संरचना तथा उद्योग कारखानामा ठूलो नोक्सान पुर्‍याएको थियो।

ठूला हिमताल मात्र होइन स–साना नयाँ ताल फुटेरसमेत ठूलो क्षति पुर्‍याउन थालेकाले यसतर्फ पनि सचेत रहन विज्ञहरूको सुझाव छ।

भूकम्पपछि तंग्रिँदै गरेको तातोपानीक्षेत्र निमेषमै उजाड बनाउने गरी भोटेकोसीमा कसरी बाढी आयो भन्नेबारे चिनियाँ पक्षले अहिलेसम्म पनि आधिकारिक कुरा बाहिर ल्याएको छैन। बाढीपछि निरन्तर खोजअनुसन्धानमा जुटेका नेपाली विज्ञहरूले भने यसबारे नयाँ तथ्य फेला पारेका छन्। 'तिब्बतमा हिमताल फुट्दा भोटेकोसीमा ठूलो बाढी आएको पाइयो,’ भूगर्भविद् श्रीकमल द्विवेदीले नागरिकसँग भने।

 विगत १८ वर्षदेखि विभिन्न हिमतालबारे अध्ययन गरिरहेका विज्ञ द्विवेदी भोटेकोसी बाढीपछिको निरन्तर खोजबाट यो निष्कर्षमा पुगेको बताउँछन्। उनका अनुसार लिपिङ (मितेरी) पुलभन्दा २० किलोमटिरमाथि जाङजाम्बो हिमतालबाट १२ सय मिटर उत्तरमा रहेको ताल फुट्दा भोटेकोसीमा बाढी आएको हो। उक्त हिमताल नयाँ रहेको जानकारी दिँदै जलउत्पन्न प्रकोप न्यूनिकरण विभागका भूगर्भविद् द्विवेदी भन्छन्, '२ सय मिटर लम्बाइ र ७० मिटर चौडाइको ताल फुटेको देखिन्छ।’

 उनको खोजअनुसार उक्त हिमताल सन् २००० तिरबाट बन्न थालेको पाइएको छ। विश्वतापमान वृद्धिका कारण नयाँ–नयाँ पोखरी बन्दै तालमा परिणत भइरहेको तथ्य द्विवेदी प्रस्तुत गर्छन्। 'उक्त ताल यही प्रक्रियाद्वारा बनेको नयाँ हिमपोखरी हो,’ उनले भने। जल तथा मौसम विभाग बाढी पूर्वानुमान शाखाका अनुसार बर्खामा सामान्यतया भोटेकोसीमा प्रतिसेकेन्ड १ सय ५० क्यूमेक (घनमिटर) पानी बग्छ। बाढीका बेला यो गति प्रतिसेकेन्ड ६ सय ४० क्यूमेक थियो। 'अकस्मात नदी झण्डै चार गुणा बढेपछि त्यसले नजिकैको तातोपानी क्षेत्रमा क्षति पुर्‍याउने नै भयो,’ उनले भने।

 १६ वर्ष अघिदेखि पोखरीको रूप लिन थालेको उक्त ताल फुट्नुअघि १४ देखि १५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको द्विवेदीले जानकारी दिए। उनका अध्ययनअनुसार ताल फुटेपछि त्यहाँबाट २ लाखदेखि २ लाख ५० हजार घनमिटर पानी बाहिरिएको देखिन्छ। ‘सन् २००७ तिर पोखरीले ४ हजार वर्गमिटर क्षेत्रफल आकार लिएको पाइयो। नौ वर्षमै पोखरीले १० हजार वर्गमिटर क्षेत्रफल बढाएर सानो तालकै रूप लिएको हो', उनले भने। फुटेपछि अझै १४ सय वर्गमिटर क्षेत्रफलमा फैलिएर सानो आकारमा उक्त ताल कायमै रहेको उनी बताउँछन्।

 विभिन्न अध्ययनअनुसार फुटेको उक्त नयाँ हिमताल नजिकको जाङजाम्बो हिमताल दुई पटक फुट्दा तल्लो तटीय क्षेत्रमा व्यापक जनधनको क्षति पुर्‍याइसकेको छ। सन् १९६४ मा पहिलोपटक यो ताल फुटे पनि त्यतिबेला पुर्‍याएको क्षति कतै नभेटिएको विज्ञहरू बताउँछन्। सन् १९८१ जुलाई ११ मा दोस्रो पटक पुनः उक्त ताल फुट्दा तिब्बत र नेपालमा व्यापक क्षति पुगेको थियो। मितेरी र फुल्पिङसहित तिब्बतमासमेत तीन पक्की पुल बगाएको थियो। त्यसले सुनकोसी हुँदै दोलालघाटसम्म क्षति पुर्‍याउँदा ठूलो जनधनको नोक्सानी हुने क्रममा ४० घरधुरीको पूरानो बाह्रबिसे बजार पूरै बगाएको थियो।

 अघिल्लो वर्षको भोटेकोसी बाढीपछि चिनियाँ विज्ञ र अधिकारीलाई उद्धृत गर्दै नेपाली विज्ञले तिब्बती क्षेत्रमा अबिरल बर्षापछि खसेको पहिरोले भोटेकोसी थुनेको र पानी थुनिएर बनेको ताल अकस्मात फुट्दा ह्वात्तै बाढी आएको दाबी गरेका थिए। सुरुदेखि नै यो तर्कसँग असमत राख्ने भूगर्भविद् द्विवेदी अझै पनि सहमत छैनन्। पहिरोले भोटेकोसी नथुनिएको दाबी गर्दै उनले दुईटा कारण अघि सारेका छन्।

 २०७१ साउन १७ गतेको जुरे पहिरोको स्थलगत अध्ययन गरेका द्विवेदीकाअनुसार कोसी नै थुन्न ठूलो पहिरो आउनुपर्छ। त्यस्तो पहिरोले सतही तरंग निकाल्दा जमिनै हल्लिन्छ। जस्तो जुरे पहिरो निम्तँदा शक्तिशाली म्याग्नीच्यूडको भूकम्प आए झैँ जमिन हल्एिको थियो। पहिरोले थुनेको कृत्रिम कोसी ताल फुट्दा सँगै बग्ने लेदो, ग्रेगरमाटो निकै तलसम्म गन्हाउँछ। ‘भोटेकोसी बाढी आउँदा यी दुवै भएनन्,’ जुरेसहित तामाकोसी बाढीसमेत अध्ययन गरेका उनको तर्क छ, ‘जमिन हल्लिएको पाइएन। माटोसमेत गन्हाएको थिएन।’ अविरल वर्षासँगै माथिबाट ग्रेगान (स–साना पहिरो) झरेर नयाँ ताल सतह भरिएपछि त्यहाँबाट ह्वात्तै पानी बाहिरिँदा भोटेकोसीमा बाढी निम्तिएको निष्कर्ष विज्ञ द्विवेदीको छ।

 हिमतालबाट बग्ने भोटेकोसीलाई तिब्बतको दुःखको रूपमा लिइन्छ। विगतदेखि नै तिब्बतमा भारी वर्षा हुँदा वा बाढी आउँदा त्यसको प्रत्यक्ष मार त्यहाँका नागरिकले मात्र होइन नेपालीले पनि भोग्दै आएका छन्। बाढी पहिरोको इतिहास पल्टाउने हो भने भोटेकोसी उपत्यका र सुनकोसी नदी करिडोरमा हरेक १०–१५ वर्षको अन्तरालमा उनीहरू विपत्तिको मारमा पर्दै आएका छन्।

 चिनियाँ र नेपाली विज्ञको सहयोग लिएर अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले दुई वर्षअघि चीनतिरका हिमतालको अध्ययन गरेर तयार पारेको प्रतिवेदनमा तिब्बती भोटेकोसी जलाधार क्षेत्रमा ७४ हिमताल रहेकोमा १० वटा जोखिमपूर्ण रहेको निष्कर्ष निकालिएको छ। टोलीका सदस्य अनुसन्धानकर्ता विज्ञ प्रदीप भन्छन्, 'त्यसमध्ये ६ वटा जुनसुकै बेला विस्फोट हुन सक्छ। सचेतना अपनाएर बस्नु पर्छ।'  जलउत्पन्न प्रकोप न्यूनिकरण विज्ञ द्विवेदी भने अघिल्लो वर्षको भोटेकोसी बाढीको उदाहरण दिँदै ठूला हिमताल मात्र होइन स–साना नयाँ तालले समेत ठूलो क्षति पुर्‍याउन थालेकाले यसतर्फ पनि सचेत रहन सुझाउँछन्।

प्रकाशित: २२ असार २०७४ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App