८ वैशाख २०८१ शनिबार
समाज

पर्यटक भेषमा बालयौन दुराचार

काठमाडौं – बालयौन दुराचारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहका सदस्य केनेथ जोसेफ कम्बोस ८ बालबालिकासहित ठमेलमा पक्राउ परे । स्वयम्भू र ठमेल क्षेत्रका तीन बालकलाई होटलमा लगेर दुराचार गरिरहेकै अवस्थामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत भदौ २४ गते ठमेलको एम्बु होटलबाट पक्राउ गरेको थियो ।

उनलाई अदालतले नौ वर्ष जेल सजाय तोक्यो । केनेथ पक्राउ परेको १० महिना बित्यो । सिआइबीले अर्का विदेशी नागरिकलाई त्यस्तै प्रकृतिको अभियोगमा बिहीबार ठमेलबाट पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति हुन् जर्मनीका अल्वर्ट फ्रेड क्लिनकेई । ६३ वर्षीय उनी ज्याठाको एक होटलमा १३ वर्षीय बालकसँग नग्न भेटिएका थिए । ४३ दिनदेखि पर्यटकका रूपमा नेपालमा रहेका उनले तीनजना बालकमाथि यौन दुराचार गरेको ब्युरो प्रवक्ता एसपी मीरा चौधरी बताउँछिन् ।

‘प्रारम्भिक अनुसन्धानमा क्लिनकेईको क्यामराबाट दर्जनौं बालबालिकाको तस्बिर फेला परेको छ,’ चौधरीले नागरिकसँग भनिन्, ‘होटलमै भेटिएका एक बालक तथा १३ र १६ वर्षका अन्य दुई बालकसमेत पीडित रहेको पाइयो ।’

केनेथ पक्राउ पर्नुभन्दा १७ दिनअगाडि नेपाल आएका थिए । वेब डिजाइनर उनी पहिलोपटक नेपाल आएका भने होइनन् । उनी सन् २०१३ देखि पटकपटक नेपाल आएको पाइएको छ । 

अल्वर्ट विगत २३ वर्षदेखि निरन्तर नेपाल आइरहेका छन् । पछिल्लो समय उनी पर्यटकका रूपमा तीन महिनाको प्रवेशाज्ञामा जेठ ३० गते आएका थिए ।

‘बयानमा उसले २३ वर्षदेखि नेपाल आउँदै–जाँदै गरेको दाबी गरेको छ । यसबारे अध्यागमनबाट तथ्यांक लिनेछौं,’ एसपी चौधरीले भनिन्, ‘१५ वर्षदेखि ऊ नेपाल, भारत र श्रीलंका आउजाउ गरिरहेको देखियो ।’

१८ वर्षदेखि फैलिएको अपराध
नेपालमा यौन दुराचारी फेला परेको १८ वर्ष भइसकेको छ । २०५६ मा पोखरामा स्टार बालगृहमा रहेका अनाथ बालबालिकाको यौन दुराचार भइरहेको सूचनाका आधारमा प्रहरीले त्यसका सञ्चालक क्रिस्टोफर फ्रेजरलाई पक्राउ गरेको थियो ।

अनुसन्धानमा उनी समाजसेवीको आवरणमा नेपालमा बसेर गम्भीर अपराधमा संलग्न रहेको खुलेको थियो । अपराध पुष्टिसँगै तोकिएको सजाय काटेपछि उनलाई नेपालबाट निकालिएको थियो । 

बालगृहको आवरणमा रहेका विदेशी नागरिक गम्भीर अपराधमा संलग्न रहेको खुलेको करिब सात वर्षपछि काठमाडौंको गल्कोपाखामा अर्को बालगृहका निर्देशक बालयौन दुराचारको अभियोगमा पक्राउ परे । 

प्रहरीले २०६३ माघ १० मा गल्कोपाखामा रहेको हाम्रो जीवन चाइल्ड केयरका निर्देशक मेल्हुसेन हेन्ड्रिक ओटोलाई पक्राउ गरेको थियो । अपराध पुष्टि भएपछि उनलाई आठ वर्ष जेल सजाय तोकियो ।  

२०६६ मै अत्तरखेलमा फ्रेन्च नागरिक जी ज्या हे पक्राउ परे । अनाथ बालबालिकाको हेरचाहको आवरणमा यौन दुराचार गर्ने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुले उनलाई पक्राउ गरेको थियो । उनी त्यसअगाडि पनि त्यस्तै अभियोगमा पक्राउ परेर नेपालबाट निकालिएको खुल्यो । 

त्यसपछि नेदरल्यान्ड्सका हेन्क मुल्हाजेन सामाखुसीमा पक्राउ परे । हाम्रो जीवन नामको बालगृह खोलेर बसेका उनलाई नौ वर्ष जेल सजाय भयो । 

हेन्क पक्राउको ६ वर्षसम्म बालयौन दुराचारी फेला परेनन् । नेपालमा दुराचारी आउने क्रम रोकिएको भने रहेनछ । २०७१ पुसमा ललितपुरमा क्यानेडियन नागरिक अर्नेस्ट फेन्विक म्याकन्टोस फेला परे । 

ललितपुरको क्याफे ब्राजिल गेस्ट हाउसमा पक्राउ परेका उनले शारीरिक रूपमा अशक्त बालकलाई कृत्रिम हात उपलब्ध गराउने प्रलोभनमा पारेर यौन दुराचार गरेको पुष्टि भयो । अनुसन्धानमा उनी ४० वर्षअगाडि क्यानडामा यौन दुराचार अभियोगमै फसेको खुल्यो । उनलाई सात वर्ष जेल सजाय तोकिएको छ ।

२०७२ मा चैतमा पोखरामा जर्मन नागरिक कर्निलियल स्किलिङ भोन पक्राउ परेका थिए । लेकसाइडको होटलमा बालक लगेर यौन दुराचार गरेको पुष्टिसँगै उनलाई ६ वर्ष जेल सजाय तोकियो । २०७३ भदौमा केनेथ पक्राउ परे र असार १५ मा फेला परे अल्वर्ट ।

आँखा मध्यवर्गीय परिवारमा
सुरुमा बालगृहको आवरणमा यौन दुराचार हुने गरेको देखिए पनि पछिल्ला घटनाले भने परिवारसँगै बस्ने बालबालिकालाई यौन दुराचारीले तारो बनाएको देखियो । अमेरिकी नागरिक केनिथले २१ वर्षीय युवक बुद्ध पुतवारलाई सहयोगीका रूपमा परिचालन गरेर बालकलाई होटलमा लगेर दुराचार गर्ने गरेको खुलेको थियो । 

उनले १० बालकमाथि यौन दुराचार गरेको पुष्टि भएको थियो । उनको आर्थिक प्रलोभनमा परेका सबै बालक परिवारसँगै बस्ने मध्यमवर्गीय परिवारका सदस्य रहेको खुलेको थियो । 

बिहीबार पक्राउ परेका जर्मन नागरिकको बालक खोज्ने शैली पनि केनिथको जस्तो  देखियो । उनले पनि ठमेल क्षेत्रमा परिवारसँगै बालकलाई फकाएर दुराचार गरेका थिए । उनको फन्दामा परेका एक १३ वर्षीय बालक आमासँग बस्ने गरेको खुलेको छ । अन्य दुुईजना पनि परिवारसँगै बस्ने गरेको र अल्वर्टले खाना खुवाउने, कपडा किनिदिने गरेपछि प्रलोभनमा परेर होटलमा जाने गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।

‘उसले बेलुका बालकलाई होटल लैजाँदा शंका गर्लान् भनेर दिउँसो लैजाने गरेको रहेछ,’ एसपी चौधरीले भनिन्, ‘प्रायः सबै पीडित बालक परिवारसँगै बस्ने गरेको देखिएको छ ।’

अन्तर्राष्ट्रिय गिरोह सक्रिय
दुई वर्षअगाडि अमेरिकामा पक्राउ परेका कुख्यात यौन दुराचारी विलियम्स जेम्स वाहे सन् २०१२ मा नेपाल आएको खुलेको थियो । शिक्षकसमेत रहेका उनले आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको पुष्टि भएको थियो । बयानमा उनले नेपालमा समेत दुराचार गरेको देखिए पनि यता अनुसन्धान हुन सकेन ।

जर्मन नागरिक अल्वर्टको क्यामरामा दर्जनौं बालकको तस्बिर फेला परेको छ । उनले मेटाएको तस्बिर प्रहरीले प्रविधि प्रयोग गरेर रिकभर गर्दा अश्लील तस्बिरसमेत फेला परेका छन् । बालयौन दुराचारमा उनी एक्लै संलग्न छन् या अन्तर्राष्ट्रिय गिरोहका सदस्य हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ । 

केनेथ जोसेफ भने बालयौन दुराचारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको खुलेको थियो । केनेथ अमेरिकामा समेत बालयौन दुराचारको अभियोग प्रमाणित भएर फरार रहेका थिए । गिरोहका सदस्य नेपाल, भारत र श्रीलंकामा सक्रिय देखिएको थियो ।

केनेथले बुद्धलाई बालबालिकाको तस्बिर र भिडियो खिच्न लगाएर सामाजिक सञ्जालमार्फत गिरोहलाई पठाउने गरेको र उनीहरूले सोही आधारमा बालक चयन गरेर नेपाल आउने गरेको खुलेको थियो । 

केनेथसँग पनि बालकहरूको आपत्तिजनक तस्बिर र भिडियो फेला परेको थियो । बयानमा उनले गिरोहका सदस्यलाई पठाउन खिचेको बताएका थिए । 

पाँच वर्षअगाडि बंगलादेशमा बेलायती नागरिक पिटर एलिसन पक्राउ परेका थिए । उनको पक्राउपछि उनले बंगलादेशका बालकलाई घुमाउन नेपाल ल्याएर दुराचार गर्ने खुलेको थियो । 

‘नेपाल आउन सहज र थोरै खर्चमा पीडितहरू फेला पर्ने भएकाले अन्तर्राष्ट्रिय बालयौन दुराचारीहरूको सक्रियता  देखिन्छ,’ एसपी चौधरीले भनिन्, ‘नेपालमा अन्य बालयौन दुराचारीसमेत हुन सक्ने देखिएको आशंकामा गम्भीर अनुसन्धान अगाडि बढाइरहेका छौं ।’

प्रकाशित: १७ असार २०७४ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App