२५ असार २०७७ बिहीबार
समाज

तेस्रो बर्खा पनि टहरोमै

सिन्धुपाल्चोक- च्यातिएका, कुच्चिएका र बग्रेल्ती प्वाल परेका जस्तापाताले बारबेर गरी बनाइएको सानो खोपी जस्तै अस्थायी टहरो। बिगत तीन वर्षदेखि यही टहरोमा शरीर लुकाउँदै आएका छन्, इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका ८० वर्षीया तोर्की र उनका ४० वर्षीय छोरा सोमलाल तामाङ। उनीहरूले अझै भूकम्पले ढालेको घर ठड्याउन सकेका छैनन्।

एक वर्षमा १ सय ३० घर बनेको सरकारी तथ्यांक। पहिलो किस्ता बुझ्ने ६३ हजारले पुनर्निर्माण थालेनन्। पीडित तेस्रो बर्खा पनि टहरोमा भलबाढी सोहोर्न बाध्य हुँदैछन्।

वृद्धा तोर्की मुस्किलले भान्छाको कामसम्म गर्न सक्छिन्। उनका एकमात्र साहरा सोमलाल जन्मजात शारीरिक अशक्त छन्। दुबै खुट्टाले टेक्दैन, हात राम्ररी चल्दैन। शारीरिक अशक्तताले भएको थोरै पाखोबारीमा खेती लगाउन नसक्दा उनले टहरोमै सामान्य किराना पसल चलाएका छन्। छिमेकीले बजारबाट ल्याइदिने बिस्कुट, चाउचाउ, साबुन बेचेर उनी आमा–छोरालाई छाक जुटाउँछन्।

 यी आमा–छोरालाई बिहान–बेलुकीको छाक जुटाउन जति दुःख छ, त्योभन्दा ठूलो पीडा नयाँ घर बनाउन नसक्नुमा छ। 'यो बर्खा पनि टहरोमा रुझेरै बित्ने भो,’ बर्खे झरी चुहिने छानोका प्वाल देखाउँदै सोमलालले गुनासो गरे, 'यो पाली भलबाढी टहरोमा छिरेर कति दुःख दिने हो कुन्नि!’ यो तामाङ परिवार टहरोमा तेस्रो बर्खा गुजार्दै छ। अघिल्ला दुई बर्खामा भलबाढी सोहोर्दै धेरै रात अनिँदो बिताएको सोमलालले भुलेका छैनन्।

 'पसलका सामान भिजेर बग्रिन्छन्। आमालाई जोगाउन हम्मे–हम्मे पर्छ,’ बर्खा सुरु भइसकेकाले उनी कहालिइसकेका छन्। अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँले घडेरी खारे पनि आर्थिक अवस्था कमजोर हुँदा घर बनाउन नसकेको उनले सुनाए। निर्माण सामग्री ओर्सान छहरे टोलका २८ परिवारले प्रतिघर १० हजार रुपैयाँ उठाएर गाउँसम्म सडक पुर्‍याएका छन्। आफैँलाई सुविस्ता हुने ठानेर सोमलालले पनि ऋण काढेर रकम दिएका थिए। 'यही ऋण गलपासो हुने भयो, कसरी घर बनाउन सक्नु?’ अनुत्तरित हुँदै उनले सुस्केरा छोडे।

 सिम्पालकाभ्रे गाउँकै ६० वर्षीय सोमपाल तामाङको सात सदस्यीय परिवार पनि टहरोमै बस्दै आएको छ। अझै घर बनाउन नसकेको उनको परिवार टहरोमै यो बर्खा गुजार्दै छ। 'खेतीपातीले छपक्कै छोपी हाल्यो,’ तेस्रो बर्खाको बास टहरोमै निश्चित देखेका सोमपालले भने। दुई हिउँद र बर्खा शीत र भलबाढीको सामना गर्दै आएको उनको परिवारलाई यो बर्खा टहरोमा कसरी जुगार्ने भन्ने चिन्ताले सताएको छ।

 अनुदानको पहिलो किस्ता रसदपानीमा सकेका सोम्पाल साहुले ऋण पत्याए आउँदो हिउँदमा मात्र घर बनाउने सोचाइमा छन्। तीन हल गोरु लाग्ने बाखोबारीको कमाइले खान नपुग्ने भएपछि उनका जोइपोइ मजदुरीमा जोत्तिन्छन्। त्यति गर्दासमेत ठूलो परिवारलाई बिहान–बेलुका हातमुख जोर्नै मुस्किल छ।  त्यहीँमाथि अर्को परिलो बनेका छन् माइलो छोरो रिन्जिन। २३ वर्षीय उनी सुस्त मनस्थितिका छन्। राम्रो जन्म भए पनि १० वर्षअघि उनको एकाएक बोली हरायो। धामी, झाँक्रीदेखि अस्पताल पुर्‍याउँदासम्म उनको बोली फर्केन। 'दुःख र अभावले नयाँ घर सपना जस्तै भयो,’ सोमपालले दुःखेसो पाखे।

 भूकम्पबाट सर्वाधिक क्षति बेहोरेका सिन्धुपाल्चोकका पीडित तेस्रो बर्खा पनि जस्ताको अस्थायी टहरोमै बिताउँदै छन्। पुनर्निर्माणले गति नलिँदा टहरोमा कष्टकर दुई बर्खा र हिउँद गुजारेका उनीहरु यो बर्खामा पनि उही नियति भोग्दै छन्। अनुदान सम्झौता र वितरणमा भएको ढिलाई, झञ्झटिलो प्रशासनिक प्रक्रिया, दोस्रो किस्ता वितरणमा छाएको सुस्तता, कर्मचारी र कामदार अभाव लगायत कारण पुनर्निर्माण गति लिन सकेको छैन। 

 अधिकांश भूकम्प पीडित अझै टहरोमै आश्रित छन्। कतिपय गाउँमा त त्रिपाल र टेन्ट अझै विस्थापित हुन सकेको छैन। विनासकारी भूकम्पको तीन वर्ष पूरा हुँदा पक्की संरचनाले एउटै बस्ती ठडिएको उदाहरण छैन्। भूकम्पको एक वर्षपछि २०७३ वैशाख १२ गते चौताराका सर्वे तामाङको घरको जग शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकबाट पुनर्निर्माण अभियान थालनी भएको घोषणा गरेका थिए।

 त्यसयता कति घर संरचना बने? सम्वन्धित निकायसँगै विश्वसनीय तथ्यांक छैन। सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार पुनर्निर्माण अभियान सुरु भएयता जिल्लामा मात्र १ सय ३० घर बनेका छन्। 'पुनर्निर्माणले गति लिनै सकेन,’ अधिकांश भूकम्प पीडितको यो बर्खाको बास टहरोमै हुने इकाइ प्रमुख रहेका डिभिजन डा. युवराज पौडेल स्वीकार्छन्।

 उनकाअनुसार जिल्लामा ९ हजार २ सय ६१ पीडितले मात्र पुनर्निर्माण सुरु गरेका छन्। तीमध्ये ४ हजार ९४ ले दोस्रो किस्ता पाएकामा १ सय ३० ले मात्र तेस्रो किस्ता माग गरेका छन्। अनुदान रकम पर्याप्त आए पनि पीडितले पुनर्निर्माण नथाल्दा खर्च हुन नसेको डा. पौडेल बताउँछन्। 'सरकारका तर्फबाट पनि धेरै कमजोरी भएका छन्,’ पुनर्निर्माणले गति लिन नसक्नुको कारणमा उनी भन्छन्, 'पीडितले नै घर बनाउन त्यति धेरै चासो दिएको पाइएन।’

 जिल्लामा साढे ७८ हजार लाभग्राही रहे पनि अझै ४ हजारसँग अनुदान सम्झौता हुन सकेको छैन। साढे ७३ हजार पीडितले पहिलो किस्ता ५० हजार पाएको अझै ६३ हजारभन्दा बढीले घर बनाउन सुरु गरेको पाईंदैन। दसैँ, तिहजार जस्ता चाडबाडको मुखमा पहिलो किस्ता बितरण गरेकाले धेरै पीडितले खानपानमै रकम खर्चिएका छन्। तीन वर्षभित्र पीडितका आवास बनाउने सरकाको लक्ष्यअनुसार वर्षको त्यसको एक तिहाइले असारसम्म २६ हजार घर पुनर्निर्माण हुनुपर्थ्यो। पुनर्निर्माणको गति हेर्दा सरकार लक्ष्यमा सफल हुने देखिँदैन।

 केही अघि बढेको पुनर्निर्माण स्थानीय तह निर्वाचनले सुस्त बनायो। झण्डै दुई महिना पीडित घर बनाउन छोडेर चुनावी अभियानमा हिँडेका थिए। निर्वाचनले नेतालाई पदमा पुर्‍याए पनि पीडित भने टहरोमा बस्न बाध्य छन्। पीडित खेतीपातीमा जुटिसकेकाले पुनर्निर्माण लगभग ठप्पको अवस्थामा पुग्नै लागेको छ। 'खेतीपाती गर्नुपर्ने बाध्यताले पुनर्निर्माण रोकिने नै भयो,’ डिभिजन प्रमुख डा. पौडेलले भने।

प्रकाशित: १३ असार २०७४ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App