१५ चैत्र २०८० बिहीबार
समाज

बटुवा कारबाही अभियान, गृहमन्त्रीको निर्देशनमा उल्टियो ट्राफिक अभियान

काठमाडौं- जथाभाबी सडक काट्ने बटुवासँग दुई सय रुपैयाँ जरिवाना लिँदै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि कारबाही गर्ने शैली फेरेको छ। अब नचाहिँदो किसिमले बाटो काट्ने बटुवासँग जरिवाना नलिइने भएको छ। तर, मनपरी बाटो काट्नेलाई आधा घण्टासम्म सचेतना कक्षा लिनुपर्नेछ।

सडक पूर्वाधार नबनाई ट्राफिक प्रहरीले बटुवालाई कारबाही गरेको भन्दै चर्को आलोचना भएपछि गृहमन्त्री शर्माले प्रहरी महानिरीक्षक प्रकाश अर्याल र महाशाखाका प्रमुख डिआइजी मिङमार लामालाई मन्त्रालयमै बोलाएर जरिवाना नलिन निर्देशन दिएपछि कारवाहीको स्वरुप बदलिएको हो ।

महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा बटुवासम्बन्धी प्रावधानमा टेक्दै जेठ १६ मा २ सय रुपैयाँ जरिवाना वा तीन घण्टा नियन्त्रणमा लिँदै आएको थियो । जरिवाना र नियन्त्रणपछि ट्राफिक सचेतना कक्षा लिएर बटुवा मुक्त हुने गरेका थिए ।

ऐनको दफा १३६ ले पैदलयात्रुले सडकमा अपनाउनुपर्ने प्रावधान उल्लेख गरेको छ । सो प्रावधानमा पेटीमा नहिँडे, जेब्राक्रसिङ, सब–वे, ओभरहेड ब्रिज प्रयोग नगरे जरिवानाको व्यवस्था छ ।

मन्त्रीले निर्देशन दिए पनि ऐन संशोधन नभएसम्म जरिवानाको व्यवस्था कायम नै रहनेछ । मन्त्रीको निर्देशन पनि पालना हुने र आलोचना पनि घट्ने बुझाइले ट्राफिक प्रहरीले जरिवाना नलिने तर कक्षा लिनुपर्ने मध्यमार्गी बाटो समातेको छ । ‘मन्त्रीज्यूको निर्देशनसँगै मंगलबार १२ बजेदेखि जरिवाना लिन छाडेका छौं,’ डिआईजी लामाले नागरिकसँग भने, ‘अबदेखि जथाभाबी बाटो पार गर्ने पैदलयात्रुलाई आधा घण्टा सचेतना कक्षामा मात्र राख्छौं ।’

ट्राफिक असन्तुष्ट, बटुवा खुसी

काठमाडौंलाई वैशाख १ बाट हर्न निषेध बनाएपछि बटुवाको बाटो काट्ने बानीका कारण अप्ठ्यारो भएको चालकबाट गुनासो आएपछि यातायात व्यवस्था विभाग र महाशाखाले बाटोमा नियम पालना नगर्ने बटुवालाई कारबाही गर्ने अभियान सुरु गरेका थिए । जरिवाना लिन सुरु भएको केही दिन चर्को आलोचना व्योहोरे पनि नियम लागू भएको १४ दिनमा काठमाडौं उपत्यकामा जथाभाबी बाटो काट्ने बटुवाको संख्या उल्लेख्य मात्रामा घटेको थियो ।

जेठ १६ गते देखि २९ गतेसम्म उपत्यकामा जथाभाबी बाटो काट्ने २४ हजार ३ सय पैदलयात्रुले जरिवाना तिरेका थिए भने तीमध्ये ११ हजार ९ सय ९६ जनासँग २ सय रुपैयाँ जरिवाना लिइएको थियो । १२ हजार ३ सय ४ जना सचेतना कक्षामा सहभागी भएको महाशाखाले जनाएको छ ।

जेब्राक्रस र ओभरहेड ब्रिजको प्रयोग गर्ने क्रम बढेको देखिन्थ्यो भने यी सडक पूर्वाधार नभएका ठाउँमा बटुवा सडकको किनारा च्यापेर हिँड्न अभ्यस्त बन्दै थिए ।

तर, यसबीचमै गृहमन्त्रीबाट आर्थिक सजायको विकल्प खोज्नुपर्ने निर्देशन आएपछि नियम पालना गराउने ट्राफिक प्रहरी त्यत्ति खुसी देखिएनन् । सामाजिक सञ्जालमा बटुवाहरूले नियम हटेकोमा प्रसन्नता व्यक्त गर्दै पछिल्लो निर्णयको स्वागत गरेका छन् ।

डिआईजी लामाले मंगलबार छलफलको क्रममा गृहमन्त्रीले जभाभाबी बाटो काट्ने पैदलयात्रुबाट जरिवाना नउठाउन निर्देशन दिएको बताए । उनले भने, ‘अहिले पैदलयात्रु धेरै सचेत भइसके । उल्लंघन गर्नेलाई अब आधा घण्टा सचेतना कक्षामा राखेर सुधार्ने प्रयत्न गर्नेछौं ।’

 

 

 

 

 

 

 

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App