५ वैशाख २०८१ बुधबार
समाज

उफ ! कलंकीको जाम

खिलक बुढाथोकी/हिमाल लम्साल

काठमाडौं- राजधानीको पुरानो बसपार्कमा थानकोट रुटमा चल्ने ३/४ वटा मिनी बस लाममा छन्। सहचालक थानकोट, थानकोट... भन्दै चिच्याइरहेका छन्। बा३ख ३११५ बसमा दुई महिला चढे। एकपछि अर्को गर्दै बसको सिट भरियो। बिहान १०:४५ बजे बस गन्तव्यतर्फ लाग्यो। सुन्धारामा दुई यात्रु चढे भने त्रिपुरेश्वरमा एक ओर्लिए।

बसचालक (गुरुजी) थिए, धर्मदास महर्जन। थानकोटका स्थानीय महर्जनले यो रुटमा बस चलाउन थालेको २० वर्ष भइसक्यो। यसैले धेरैजसो यात्रुसँग उनको चिनजान पनि छ।

‘गुरुजी यतिबेला कलंकीमा जाम होला कि नहोला?’ एक महिलाले टेकु चोकमा जाम हुँदा सोधेको प्रश्नमा चालक महर्जनले  भने, ‘अफिस टाइम त सकियो तर पनि कलंकीमा जाम नहोला त कसरी भनूँ?’

बस अघि बढिरहेको थियोे। यात्रु चढाउने, ओराल्ने भइरहेको थियो। कलंकी माई मन्दिर छेउमा पुगेर बस रोकियो। ती महिलाले टाउको तानेर झ्यालबाट हेरिन्। भनिन्, ‘लामै पो रहेछ जाम, कतिबेला खुल्ने होला?’ सबै यात्रुको ध्यान जामको लामतिरै थियो।

२७ मिनेट रोकिएपछि जाम खुल्यो। यतिबेला घडीमा ११ः३० बजेको थियो। ‘तीन दिनअघि ४ घन्टा जाममा परेको यही बाटोमा,’ चालकले सुनाए, ‘जामले वाक्कदिक्क भएका बेला त पेसा नै छोडुँछोडँु झै लाग्छ।’ तीन वर्षदेखि असाध्यै जामको पीडा खेपिरहेको उनले सुनाए। ‘सडक विस्तारका नाममा भत्काएको पनि तीन वर्ष भयो,’ उनले भने, ‘त्यसै कारण घन्टौं जाम हुन्थ्यो।’ तर, अहिले कंलकीमा भएको जामको कारण भने अर्कै छ। कंलकी चोकमै निर्माणाधीन अन्डर पास सडकले गर्दा ७/८ महिनादेखि यो समस्या अचाक्ली छ।

गाडी अगाडि बढाए चालक महर्जनले। सिटका यात्रु निद्राबाट ब्युँझिए। उभिएका यात्रु पसिना पुछ्दै थिए।

कलंकी माई मन्दिरबाट कलंकी चोक पार गर्न ६ मिनेट लाग्यो बसलाई। सडकभरि गाडीको लस्कर थियो। ३ सय ८७ वटा गाडीले कलंकीदेखि नैकापसम्मको एक लेन भरिएको थियो। घन्टौंको जामले कुनै गाडीका चालक त सिट निदाएको पनि देखियो।

‘देख्नुभयो कलंकी–नागढुंगा सडकमा जाम कति हुँदोरहेछ,’ चालक महर्जनले भने, ‘यही जामले गर्दा थानकोट नागढुंगाबाट धाएर जागिर गर्नेले धमाधम जागिर छोडेका छन्।’

चालकको छेउकै सिटमा बसेकी महिलाले थपिन्, ‘थानकोटबाट काठमाडौं (सिंहदरबार आसपास) गएर आउन त भ्याइन छोड्यो, जागिर कसरी गर्नु।’

नागढुंगा–रत्नपार्कको दूरी करिब १३ किमि छ। सडक खुला हुँदा १३ किमि पार गर्न यात्रु चढाउँदै ओराल्दै गर्दा पनि आधा घन्टा काफी हुन्छ। ‘पहिला त थानकोटबाट २५/३० मिनेटमै पुरानो बसपार्कमा पुग्थें,’ चालक महर्जनले भने, ‘तीन/चार वर्षयता कम्तीमा पनि दुई घन्टा लाग्ने गरेको छ।’

त्रिपुरेश्वर–नागढुंगासम्म सडक विस्तार चलिरहेको छ। निर्माणले गति लिन नसक्दा सर्वसाधारणले सास्ती भोगिरहेका छन्।

चालक महर्जनले बस गुडाइरहेका थिए। पछाडिबाट आवाज आयो। ऐय्या! सबैको ध्यान त्यतै गयो। कोल्टेको गाडीलाई सोझाए चालकले। ‰यालमा टाउको ठोकिएछ यात्रुको।

‘मैले त धेरै जोगाएर चलाएको छु,’ विस्तारो चलाउनु नि भन्ने यात्रुलाई जबाफ दिए चालकले, ‘हेर्नुस् बाटोमा कत्राकत्रा खाल्डा छन्। यी खाल्डा नपुररुन्जेल जोगाउँदै जोगाउँदै चलाउँदा पनि समस्या हुन्छ।’

बस चालक महर्जनको आफ्नै हो। बिग्रिए आफैंले बनाउनुपर्छ। विस्तारै चलाउँदा पनि खाल्डोमा परिहाल्छिन्। ‘खाल्डामा परेर पट्टा नगएको महिना छैन,’ उनले भने, ‘एकपटक पट्टा बनाउन पाँच हजार रूपैयाँ लाग्छ।’ अचेल चाहिँ पाँच हजार कमाउन पापडै बेल्नुपर्छ उनलाई। सडक सग्लो हुँदा चालक महर्जनले यो रुटमा दैनिक ७ पटकसम्म बस ओहोरदोहोर गराए। तर, अहिले बल्लतल्ल तीन टिप गर्छन् उनी।

‘कहिले कलंकीदेखि धादिङको खानीखोलासम्मै जाम हुन्छ,’ उनले भने, ‘कलंकी–नागढुंगा पुग्न दुईदेखि तीन घन्टा लाग्छ, अनि कसरी टिप गर्न सक्नु र कमाउनु?’

‘साँच्चै अहिले यो रुटमा गाडी चलाउने चालकले पनि धेरै दुःख भोगेका छन्,’ बसको बनोटमा बसेकी स्मिता पौडेलले भनिन्, ‘हुन त यो सडकमा जोडिएका सास्ती नखेप्ने सायदै होलान्।’ उनका अनुसार सडक विस्तार थालेयता मर्मत गरिएको छैन। दुई लेनको सडकमा ठेकेदारले निर्माण सामग्री असरल्ल राख्छन्। सडकमा गाडी नै गुड्न नसक्ने खाल्डा पर्दा समेत पुर्न कसैको ध्यान नपुगेको थानकोटवासी पौडेलले बताइन्।

‘कस्तो धुलो आयो, ‰याल बन्द गर्नुस् न,’ बस सतुंगल पुगेपछि पछाडिको सिटबाट यात्रुको आबाज गुन्जियो। अगाडि पूरै अँध्यारो भयो। धुलोले ५० मिटर अघिको अर्को गाडीसमेत देखिएनन्।

‘ल, हेर्नुस् धुलो।’ बुङबुङती धुलो उडेर भएको अँध्यारोमा गाडी गुडाउँदै महर्जनले भने, ‘कहिलेकाहीं त धुलोले सडक नदेखिएर  गाडी नै चलाउन सकिन्न। रातमा बाल्नुपर्ने हेडलाइट दिनमै बालेर चलाएको पनि छु।’

जाममा घ्याच्च–घ्याच्च पार्दै, ठाउँठाउँमा यात्रु चढाउँदै–ओराल्दै, खाल्डामा ढल्काउँदै महर्जनले जसोतसो थानकोट बसपार्कमा बस पुराए। त्यहाँ पुग्दा १२ः१० बजेको थियो। पुरानो बसपार्कदेखि थानकोटको दूरी करिब ११ किलोमिटर छ। ‘झन्डै डेढ घन्टामा लागेछ बसपार्कबाट यहाँ आइपुग्दा,’ धर्मदासले गर्वका साथ भने, ‘चाँडो पो आइपुगिएछ। डेढ घन्टामा आइपुग्नु त भाग्यकै कुरा हो।’

नागढुंगा, नागढुंगा भन्दै थानकोट चन्द्रगिरि नगर यातायातको लोकल बस आयो। राजन लामाले हाँकेको बा३ख ३१३० नम्बरको बसले नागढुंगाको गन्तव्य ताकिरहेको थियो। उक्त बसभन्दा अघि ट्रक थियो। ट्रकले उडाएको धुलोले कतै बाटो नै देखिएन। सडकको किनारामा हिँडिरहेकी महिला छिनभरमै विरूप भइन्। पूरै खैरो देखिइन्। सडक आसपासका घरको रङसमेत खैरो देखिएको थियो। ‰यालबाट बसमा पसेको धुलोले यात्रुको अवस्था पनि उस्तै थियो। चालकले बस किनारा लाए। धुलो उडाउँदै ट्रक अलि पर पुगेपछि बल्ल सडक देखियो। अनि फेरि गुडाए चालकले बस।

महाशक्ति पेट्रोलपम्प... सहचालक ढोकाबाट ठूलो स्वरमा चिच्याए। बाहिरचाहिँ पूरै अन्धकार जस्तो थियो। धुलोले महाशक्ति पेट्रोलपम्प नै ढाकेको। बसको ‰यालबाट पछाडि नियाल्दा त बस्ती नै पूरै धुलाम्मे देखिन्थ्यो। बस्तीको बीचमा रहेको सडकबाट धुलो धुँवाको मुस्लो जस्तो भएर उडिरहेको देखियो।

नागढुंगा पुगेर रोकियो बस। अन्तिम गन्तव्य थियो नागढुंगा।

एक महिला कुचो लिएर पसल बढारिरहेकी थिइन्। ‘पसल बढार्ने त ड्युटी जस्तै भइसक्यो,’ ती महिलाले भनिन्, ‘एकछिन बढारेन भने त पसल पूरै धुलोले भरिन्छ। धुलैधुलो भएको सामान फेरि कसले किन्ने?’

ती महिलाको कुरा सुनिरहेका थिए अनुप राउत। महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रहरी नायब निरीक्षक राउतले थपे, ‘धुलोले त ज्यान लिने भयो हउ सर हाम्रो त।’

राउतका अनुसार नागढुंगा नाका भएर दैनिक १४ सय हाराहारी बस ओहोरदोहोर गर्छन्। बसमा दैनिक ६० हजार हाराहारीमा यात्रु आतेजाते गर्छन्। उतिकै तुलनामा ट्रक, निजी साना गाडी, दुई पांग्रे सवारी पनि गुड्छन्। यी सबै सवारीमा गरेर झन्डै एक लाख यात्रुले दैनिक यात्रा गर्ने राउतले जानकारी दिए। यी सबै यात्रुले धुलोको मार खेपिरहेका छन्।

धुलोको मार मात्रै होइन, जामको मार पनि उतिकै हुन्छ। ‘यो सडकमा जाम नभएको दिन नै हुँदैन,’ राउतले सुनाए, ‘घाम लागेको बेला भन्दा पानी परेको बेलामा लामो जाम हुन्छ।’ पानी परेको बेला सडक पोखरीमा परिणत हुन्छ। पोखरी छलेर सवारी गुडाउँदा पनि समय धेरै लाग्ने हँुदा जाम हुन्छ। राउतका अनुसार खाल्डा नछल्दा पनि खाल्डामा परेर सवारी बिग्रने समस्या उत्तिकै हुन्छ। ‘एउटा सवारी बिग्रियो भने उताको जाम कंलकी पुग्छ, यताको जाम खानीखोला पुग्छ,’ उनले भने, ‘सडक साँघुरो छ। यसले गर्दा यो सडकसँग जोडिएका यात्रु, चालक सबै सरोकारवाला जामले ठूलै समस्यामा परेका छन्।’

यही समस्याले पीडित छन्, ट्रकचालक समिर थापा पनि। जाम र जीर्ण सडकले उनलाई काठमाडौं राजधानी हो जस्तो लाग्दैन। ‘नागढुंगा राजधानी प्रवेशको मुख्य नाका हो,’ चालक थापाले भने, ‘नागढुंगादेखि नै समस्या सुरु हुन्छ भने यसलाई कसरी राजधानी मान्ने?’

उनी बेलाबेला सामान लिएर काठमाडौं आइरहन्छन्। तर, उनले कहिल्यै राजधानी आएको जस्तो अनुभव गर्न नपाएको सुनाए। केही दिनपहिले सिसा लिएर आएको थापाले नागढुंगा–कंलकीको बाटोको कारण ठूलै क्षति भयो। ‘आधाभन्दा बढी सिसा फुटेपछि साहुको गाली सहनुपर्‍यो। झन्डै जागिर गएन,’ उनले भने, ‘जति होसियारीसाथ चलाएर जोगाउन खोजे पनि सकिएन।’

कुराकानीका क्रममा उनको ट्रक ढुंगाअड्डाको जाममा आएर रोकियो। ‘आजचाहिँ जाममा परिएन् भनेर नाक ठाडो पारेको थिएँ,’ उनले भने, ‘यो बाटोमा जाम नहुने त कहिले होला र। लु आज पनि परिहाल्यो जाम।’

१८ मिनेटपछि जाम खुल्यो। ‘दुई वर्षयताको यो पहिलो रेकर्ड हो,’ उनले भने, ‘यसअघि आधा घन्टा हाराहारी जाममा बस्नुपर्थ्यो।’

उनको ट्रक २ः२४ बजे कलंकी आइपुग्यो। ट्रकबाट ओर्लिएर पुरानो बसपार्क आउने माइक्रोेमा चढियो। जसोतसो माइक्रो सुन्धारा आएर रोकियो। बसपार्कदेखि नागढुंगा पुगेर सोही स्थानमा फकर्िंदा ४ घन्टा २० मिनेट लागेछ। कारण थियो–साँघुरो र मर्मत नगरिएको सडकमा  भएको जाम। माइक्रोबाट ओर्लिंदा ३ः०५ बजेको थियो। यो अनुभव गत आइतबारको हो। यस्तो समस्या यात्रु र चालकले दिनहुँ भोग्नुपर्छ।

किन हुन्छ जाम

त्रिपुरेश्वर–नागढुंगा १२.५ किमी छ। दुई लेन सो सडक वषर्ौंदेखि मर्मत भएको छैन। जसले गर्दा सडकमा ठूल्ठूला खाल्डा बनेका छन्। सडक विभागका अनुसार यो सडक विस्तार गरेर ६ लेन बनाउन लागिएको छ। अहिले विस्तार जारी छ। २०७२ असार ३१ मा २८ महिनाभित्र विस्तार सम्पन्न गर्ने गरी निर्माणको जिम्मा दिइएको थियो।

कहिले सकिन्छ विस्तार?

अहिलेसम्मको प्रगति हेर्दा आधासमेत काम भएको छैन। हालसम्म सतुंगल नजिकै करिब पाँच सय मिटरबाहेक अन्यत्र कालोपत्रे भएको छैन। विस्तार चलिरहेको ठाउँमा पनि जथाभाबी निर्माण सामग्री राखेर सडक झन् साँघुरो बनाइएको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दीपक केसीका अनुसार अहिलेसम्म ३० प्रतिशत मात्रै विस्तार भएको छ। ‘हामीले काम नगरेका होइनौं, काम गर्ने वातावरण नभएको हो,’ उनले भने, ‘मुआब्जा विवादले अदालतको अन्तरिम आदेश, बिजुली र टेलिकमका पोल नहटाउँदा विस्तारले गति लिन सकेकेा छैन।’ समस्या समधान भए सडक फराकिलो तत्कालै गर्न सक्ने उनले बताए। समस्या नसुल्भि्कए सडक कहिलेसम्म विस्तार भइसक्छ भन्न नसकिने केसीको भनाइ छ।

२०३३ सालको राजमार्ग मापदण्डअनुसार त्रिपुरेश्वर–नागढुंगा सडक मुख्य विन्दुबाट दायाँबायाँ २५–२५ मिटर चौडा हुनुपर्ने प्रावधान छ। तर, स्थानीय भने यसमा सहमत छैनन्।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुंगा– त्रिपुरेश्वर सडकका खल्डाखुल्डी पुर्न सरोकार निकायलाई निर्देशन दिएको बताए। 'केही ठाउँमा अवरोध भयो भन्दैमा सबै सडक भताभुंग बनाउनु भएन,' उनले भने, 'अदालतको आदेश भएका ठाउँ छाडेर अन्य ठाउँमा कालोपत्रे गराउन आयोजनालाई अनुरोध गरेको छु।'

प्रकाशित: २७ जेष्ठ २०७४ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App