८ वैशाख २०८१ शनिबार
समाज

आगोले खायो नमूना विद्यालय, पठन–पाठन बन्द

खोटाङ– खोटाङमा नमूना बिद्यालयकारुपमा स्थापित बिद्यालय आगलागीमा ध्वस्त बनेको छ। रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योती माबि सोमबार राती लागेको आगोले ध्वस्त बनेको हो। शंकास्पद आगलागीमा विद्यालयको २ कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित ९ वटा कोठा ध्वस्त बनेको छ । सवा ११ बजे सुरु भएको आगोले बिद्यालयको प्रशासन कक्षमा राखिएको १० थान दराज, टेबल, कुर्सी, विद्यालयसँग सम्बन्धीत कागजात, शैक्षिक सामग्री लगायतका सम्पत्ती नष्ट भएको छ । पुस्तकालयमा राखिएको ५ वटा र्‍याक, दर्ता गरेर राखिएका ७ हजार थान पुस्तक, ल्यावका सामान, माइक्रोस्कोप, टेलिस्कोप, हार्मोनियम लगायतका सामग्री खरानी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईले बताए।

आगोले नर्सरीकारुपमा सञ्चालन हुँदै आएको बाल बिकास केन्द्र, यूकेजीकारुपमा पठन–पाठन हुँदै आएको कक्षा १ (ख), कक्षा १, कक्षा २, कक्षा ३ र कक्षा ४ को कोठा पूर्णरुपमा जलेको छ । जस्ताको छाना भएको कक्षा कोठाभित्रको डेस्कबेञ्च समेत खरानी भएको छ । २०४६ सालमा स्थापना भएको विद्यालयको आगलागीको कारण खुल्न सकेको छैन । आगोलागीको प्रकृति हेर्दा मट्टीतेल वा पेट्रोल छर्किएर विद्यालयमा आगो लगाइदिएको जस्तो देखिएको अभिभाबकको भनाई छ । ‘आगोले नौ कोठाभित्रको केही पनि बाँकी छैन, कोठा पनि काम लाग्ने अवस्थामा छैन,’ व्यवस्थापन समितिका अध्यक्ष राईले भने, ‘नियोजितरुपमा अपराधीक मन भएका व्यक्तीले आगजनी गरेको हाम्रो अनुमान छ।’

जिल्लामा निजी बिद्यालयमा मात्र अंग्रेजी माध्यमबाट पठन–पाठन हुने समयमा ज्योती माबिले २०६५ सालदेखि अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेको थियो । आगोले कक्षा कोठा डढेपछि पठन–पाठन प्रभाबित भएको छ । अस्थायी कक्षा कोठाको व्यवस्थापन नभएसम्मका लागि बिद्यालयले शनिबारसम्म बिदा दिएको छ । बिद्यालयको चारैतिरबाट एकैचोटी आगो सुरु भएका कारण अभिभाबकले नियोजितरुपमा कसैले आगो लगाइएको दावी गरेका हुन् । ‘आगो लाग्दा एकातिरबाट सल्किएर बिस्तारै फैलिन्छ, तर विद्यालयको चारैतिरबाट एकैपटक आगो लागेको छ,’ राईले भने, ‘अनि १५/२० मिनेटमै आगोको लप्काले स्कुल ध्वस्त हुनुले कुनै प्रज्वलनशील पदार्थ प्रयोग गरिएको हाम्रो आशंका छ।’

आगलागीमा बिद्यालयको ५० लाखभन्दा बढिको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा नमूना बिद्यालयकारुपमा पहिचान बनाएको बिद्यालय एसईईमा उत्कृष्ट नतिजा ल्याएकामा यसपल्ट जिल्ला शिक्षा कार्यालयबाट पुरस्कृत भएको थियो । ज्योती माबिका हाल २६१ बिद्यार्थी अध्ययनरत छन् । ‘नमूना बिद्यालयकारुपमा ज्योती माबिलाई शिक्षाकातर्फबाट पुरस्कार स्वरुप दुई लाख दिएका थियौँ,’ जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले भने, ‘त्यही नमूना विद्यालयलाई आगोले शुन्य बनाइदिए छ ।’

घटनाको जानकारी आएपछि जिशिअ नेपाल र डिएसपी प्रधान घट्नास्थल पुगेका थिए । पछिल्लो समय ज्योती माबिको अध्ययन भ्रमण गर्ने र उसको शैक्षिक विधिको सिको गर्ने बिद्यालय बढ्दो छ ।

प्रकाशित: १६ जेष्ठ २०७४ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App