४ वैशाख २०८१ मंगलबार
समाज

नाटकबाट भोट हाल्न सिकाइँदै

काठमाडौं- नारायणगढको पुल्चोकमा एक नेताले जनतासँग भोट मागिरहेका थिए। तर, भोट मागिरहँदा उनले नयाँ अजेन्डाभन्दा विकास गर्ने पुरानै लोभ देखाइरहेका थिए। 'हेर्नुस मैले चुनाव जिते यो नारायणी नदीमा पक्की पुल हाल्दिन्छु ' उनले भोट मागिरहँदा आश्वासन दिइरहेका थिए, ‘जसरी पनि मैले जित्नैपर्छ। भोट मलाई दिनुहोस् नत्र तपाईंहरूलाई थाहै छ म कस्तो मान्छे।’ उनको शैली फकाउने र तर्साउने दुवै खालको थियो। उनको मत माग्ने शैली हेर्दा लाग्थ्यो, उनी भोट हैन, कसैसँग जबर्जस्ती चन्दा मागिरहेछन्। उनको हाउभाउले यही भनिरहेको थियो 'दिन्छौ भने देओ नत्र खैरियत हुन्न।'

केहीबेरमै सोही ठाउँमा अर्को दलका नेता उनै जनतासँग भोट माग्न आउँछन्। तर, पहिलो उम्मेदवारभन्दा ठीक उल्टो।  ‘राम्रो काम गर्छु भोट यसपाला मलाई दिनुहोस्’ उसले नम्र भएर भोट माग्छ।  दुवै उम्मेदवारको कुरा सुनेपछि पनि जनता कसलाई भोट दिने निर्णय गर्न सक्दैनन्। उनीहरूको सामूहिक प्रश्न आँखामा नाच्छ , 'खै कसलाई भोट दिने हो?'

यो दृश्य साँच्चैको भोट मागेको भने हैन। भोट माग्दाका परिस्थिति झल्काउँदै सडक नाटकमा कलाकार कमलमणि नेपाल र मणिराम पोखरेलले गरेको अभिनय हो। चुनावको समयमा सही उम्मेदवार छान्न प्रेरित गर्ने उद्देश्यले निर्वाचन आयोगले नाटकमार्फत जनचेतना अभिवृद्धिका लागि युएनडिपीसँग सहकार्य गर्दै राजधानीबाहिर कचहरी नाटकको आयोजना गरेको हो। सोही उद्देश्यअन्तर्गत कलाकारले चितवनमा नाटकमार्फत सही नेतृत्व चुन्न मतदातालाई आग्रह गरेका थिए। दर्शक स्वयंलाई समेत नाटकमा सहभागी गराउँदै गरिएको प्रस्तुति रोचकसँगै जानकारीमूलक पनि थियो। कलाकारले दर्शकलाई समेत थाहै नदिई नाटकको हिस्सा बनाएका थिए।

'जनताले सही उम्मेदवार कसरी छान्ने? नाटककै क्रममा कलाकारले मतदातातर्फ प्रश्न तेर्स्याए। जनताका तर्फबाट आवाज आउँछ 'राम्रो काम गर्नेलाई दिनुपर्छ।' लगत्तै अर्का दर्शकको बोली सुनिन्छ 'राम्रो काम गर्नेले तत्काल गाह्रो भए पनि जनताले साथ दिन्छन्–दिन्छन्।'

'लोभलालचमा नफसी भोट दिनुपर्छ' पछाडिबाट अर्को आवाज आउँछ। मतदाताको धारणालाई कलाकारले अनुमोदन गर्छन्। हुँदाहुँदै रोकिएको नाटक फेरि अगाडि बढ्छ। अशान्ति मच्चाएर चुनाव लड्न खोज्ने नेताले हार्छ अनि शान्तिपूर्ण चुनाव लड्नेले जित्छ।

नाटकमा कलाकारले उम्मेदवार छान्ने मात्र हैन, भोट हाल्ने तरिका पनि सिकाएका थिए। कलाकारहरू सरिता गिरी, पशुपति राई, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, संगीत सापकोटा, उमेश तामाङ, रन्जना ओली, बादल भट्टलगायतले हातमा नमुना मतपत्र बोकेर भोट हाल्ने तरिका सिकाउँछन्। ‘स्वस्तिक चिह्न लाउँदा दायाँ र बायाँको चारकोठे धर्को छुन हुन्न’ गिरीले  सिकाइन्, ‘सातजनाभन्दा बढीलाई मत हाले बदर हुन्छ।’ उनले झै गाउँपालिकाको दुई सदस्यको चुनाव चिह्नमा अलमलिएकालाई पनि सिकाउँछन् कलाकार। ‘एउटै पार्टीको एउटा चिह्न एक सदस्यका लागि अनि त्यही चिह्न दुईवटा भएको अर्को सदस्यका लागि,’ उमेश तामाङले भने। यसरी जतिवटा चुनाव चिह्न भए पनि मतदाताले ध्यान दिएर हेरेर अनि बुझेर मात्र मतदान गर्न सुझाए अर्का कलाकार बादल भट्टले।

‘कसैले यसमा हाल्नु भनेकै भरमा मत दिनु हुन्न, उम्मेदवार चिनेर उसको पार्टीको चिह्न चिनेर भोट हाल्नुपर्छ भनेर नाटकबाटै सिकायौं,’ कलाकार सरिता गिरिले भनिन्। लामो समयपछि  हकअधिकार सुनिश्चित गर्न आएको स्थानीय चुनावमा मतदातालाई सक्रिय र सचेत बनाउन यसरी कलाकार टोली नगर र गाउँ डुल्दै नाटक गर्न थालेका हुन्।

निर्वाचन शान्तिपूर्ण, हिंसारहित ढंगले गर्नुपर्छ भन्ने सन्देश दिन कलाकार टोलीले चितवनका नागरिकलाई मतदाता शिक्षा दिएका हुन्। 'यस्तो सडक नाटकलाई कचहरी नाटक पनि भनिन्छ। गाउँमा सभा बसेझैं दर्शकलाई प्रश्न छाड्छौ' कलाकार गिरीले सुनाइन् 'दर्शकबाटै आएको सही उत्तर छानेर त्यहीअनुसार नाटक अघि बढाउँछौ।'

नारायणगढका मतदातासँगै पूर्वी चितवनका मतदातालाई पनि कलाकारले उम्मेदवार छान्ने र भोट हाल्ने तरिका सिकाए। गत शुक्रबार र शनिबार  दुई दिन चितवनमा कलाकारले सडक नाटक गरेका थिए।

अब दोस्रो चरणको स्थानीय चुनावका लागि पाँचवटा नाटक बाँकी रहेको सहयोगी संस्था युएनडिपीले जनाएको छ। बर्दिया, दाङ, कैलाली कञ्चनपुर र डोटीमा कलाकारले नाटक प्रस्तुत गर्नेछन्।

प्रकाशित: २९ वैशाख २०७४ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App