१६ चैत्र २०८० शुक्रबार
समाज

स्वास्थ्य क्षेत्र सुधारका लागि साँढे ३६ करोड बजेट

धौलागिरी अञ्चल अस्पताल । तस्बिर :संगम घर्तीमगर

बाग्लुङ, – यहाँको स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न शिर्षकमा साढे ३६ करोड रुपैयाँ विनियोजन भएको छ । धौलागिरी अञ्चल अस्पतालमा उपकरण खरीद, पूर्वाधार निर्माणमा करिब तीन करोडसहित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा पूर्वाधार निर्माण गर्नको लागि साढे ३६ करोड रुपैयाँ विनियोजन भएको हो । अस्पतालमा सेवाको स्तरोन्नती गर्नको लागि स्वास्थ्य मन्त्रालयले तीन विशेषज्ञ डाक्टरसहित यो वर्ष करिब तीन करोड रुपैयाँ विनियोजन गरेको छ ।

धौलागिरी अञ्चल अस्पतालमा उपकरण खरीद गर्न एक करोड ९८ लाख र मर्मत सुधारको लागि थप एक करोड गरी दुई करोड ९८ लाख बजेट उपलब्ध गराएको स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले बताए । ‘स्वास्थ्य क्षेत्रमा सुधारको लागि भौतिक पूर्वाधार निर्माणसहित जनशक्ति व्यवस्थापनमा ध्यान दिएका छौं,’ पौडेलले भने । धौलागिरी अस्पतालका अतिरिक्त बागलुङका स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार निर्माण गर्नको लागि ३३ करोड ५० लाख रुपैयाँ विनियोजन भएको पौडेलले बताए । 

धौलागरी अञ्चल अस्पतालमा पूर्वाधार निर्माण गर्न ६ करोड रुपैयाँ, कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा दुई करोड, गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच करोड, देविस्थान स्वास्थ्य चौकी, नरेठाँटी, ताराखोला, सुखौरा, अमरमभूमी, खुंगा, निसीसहित सात स्वास्थ्य चौकीमा  एक करोड ५० लाखका दरले १० करोड ५० लाख विनियोजन भएको थियो । त्यसैगरी जलजला, छिस्ती, तित्याङ, पाला, राजकुतसहित चार स्वास्थ्य चौकीमा दुई करोडका दरले १० करोड विनियोजन भएको थियो । ‘यो वर्ष बाग्लुङमा १२ वटा स्वास्थ्यचौकी र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रका लागि बजेट विनियोजन भएको हो,’ जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले भने,‘भवन डिभिजन कार्यालय मार्फत काम अगाडि बढ्दैछ ।’

भद्रगोल अवस्थामा रहेको धौलागिरी अञ्चल अस्पताल बाग्लुङको सेवा पछिल्लो समय सुधार देखिन थालेको छ । डाक्टरको अभावमा रिफर सेन्टरमा परिणत भएको अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरहरू आएसंगै सेवाग्राहीको विश्वास समेत बढेको छ । बिरामी हुँदा साथ पोखरा काडमाडौं पुग्नेहरू पनि अहिले अञ्चल अस्पतालमा जाने गरेका छन् । दुई महिना अघिसम्म मेडिकल सुपरिटेन्डेन्टको भरमा चलेको अस्पतालमा अहिले ७ जना विशेषज्ञ डाक्टरले सेवा दिइरहेका छन् । धौलागिरी अञ्चल अस्पतालमा अहिले जनरल सर्जन, गाइनोक्लोजिस्ट, एनेस्थेसियोलोजिष्ट, अर्थोपेडिक, फिजीसियन, रेडियोेलोजिष्ट सहित ७ जना विशेषज्ञ डाक्टरले सेवा दिइरहको अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए ।

‘यो दुई महिनाको अवधिमा आधा दर्जन विशेषज्ञ डाक्टरहरू आउनुभएको छ,’ गौतमले भने,‘यो नै पर्याप्त त होइन तर उहाँहरूलाई मात्र यहाँ राखिराख्न सकियो भने धेरै सेवा प्रवाह गर्न सक्छौं ।’ ‘भेन्टीलेटरमा राख्नुपर्ने बाहेक अन्य सबै बिरामीको उपचार अब यही सम्भव छ,’ गौतमले भने । अहिले अस्पतालमै औषधी विक्री कक्ष समेत स्थापना गरिएको छ । ‘अस्पतालमा उपचार गराउन आउने विरामीलाई बाहिर औषधी किन्न पठाउँदा अस्पतालप्रति जनताको अविश्वास देखिएको थियो,’ उनले भने,‘अहिले अस्पताल परिसरमै औषधी वितरण कक्ष स्थापना गरेर ५ सय ६२ प्रकारका औषधी उपलब्ध गराईरहेका छौं ।’

एपेन्डीक्सको अप्रेसन समेत अञ्चल अस्पतालमा शुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारीले बताए । ‘विशेषज्ञ डाक्टरहरू आउनुभएको छ, केही दिन अघि मात्रै हामीले एपेन्डीक्सको सफल अप्रेसन गरेर त्यो सेवा पनि यहाँ शुरु गरेका छौं,’ डा. राजभण्डारीले भने,‘हाइड्रोशिल हर्निया लगायतको सेवा त अलि पहिलेबाटै शुरु भएको हो ।’ ठेकेदार भागेर निर्माणाधीन भवन अलपत्र परेका भवन अभाव भएपछि अस्पताल विकास समिति, प्रशासन र लेखा शाखालाई छाप्रोमा सारेर उक्त ठाउँबाट उपचार सेवा दिन शुरु गरिएको छ ।

‘विरामीले उपचार पाउनुपर्छ भन्ने हाम्रो पहिलो प्राथमिकता हो, हामी जहाँ बसे पनि सेवा दिन सक्छौं,’ उनले भने,‘मैले मेरो अफिस, अध्यक्षज्यू कार्यालय र लेखा शाखालाई समेत छाप्रोमा सारेको छु । त्यो ठाउँमा केही दिनमै ट्रमा सेन्टर र मृगौला रोगीका लागि निःशुल्क डाइलाइसिस सेवा शुरु गर्छौं ।’ हरि खड्का ट्रमा सेन्टरका लागि आवश्यक सामग्री आउने क्रम जारी रहेको र डाइलाइसिसका लागि ५० लाख रुपैयाँ निकासा भएर सामान खरीद प्रक्रियामा गएको डा. राजभण्डारीले बताए ।

अस्पतालमा कोरियन संस्था कोईकाको सहयोगमा ३० लाख बराबरको उपकरण थप गरिएको छ । अस्पतालले अहिले हाडजोर्नी, हर्निया, एपेन्डीक्स, सुरक्षित गर्भपतन, सुरक्षीत सुत्केरी, ल्याब लगायत इमरजेन्सी र बैरङ्ग सेवा पदान गर्दै आएको छ । अस्पतालमा विशेषज्ञ डाक्टर आएसंगै आफुलाई रगतको माग थेग्न गाह्रो भएको नेपाल रेडक्रस सोसाईटी बाग्लुङ रक्तसञ्चार केन्द्रका ल्याब टेक्निसियन गुरु शर्माले बताए । ‘अस्पतालमा डाक्टरहरु आएपछि रगतको माग बढेको छ,’ उनले भने,‘एपेन्डीक्सम्मको अप्रेसन यही हुन थालेपछि रगतको माग धान्न गाह्रो भएको छ ।’

अस्पतालमा एनआरएन ओशाका जापानको सहयोगमा अटोमेटेड अनलाईजर मेसिन समेत भित्र्याएर सेवा शुरु गरेको छ । ‘रोजगारीमा गएको नेपाली बाग्लुङे दाजुभाईको सहयोगमा रगत परिक्षणका लागि आधुनिक मेसिन भित्र्याएका छौं,’ मेडिकल सुपरीटेन्डेन्ट डा. राजभण्डारीले भने,‘यसले प्रतिघण्टा एक ८० रोग परिक्षण गर्न सकिन्छ ।’

 

प्रकाशित: २२ वैशाख २०७४ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App