२३ असार २०७७ मंगलबार
समाज

युवा विकासमा नेपाल दक्षिण एसियाको चौथो

गुणस्तरीय इन्धनले गाडी चलाउँन ऊर्जा दिन्छ भने गुणस्तरहीनले इन्जिन नै बिगार्न सक्छ । जसरी सवारीका लागि इन्धन ऊर्जा हो, उसैगरि मुलुकका लागि युवा ऊर्जा हुन् । स्वस्थ्य र सबल युवाशक्तिले मुलुकको इन्जिन चलाउँन मद्दत गर्छ । अस्वस्थ र असक्षम युवा जमातले भने अस्थिरतातर्फ धकेल्न सक्छ ।

गाडीमा प्रयोग हुने इन्धनको गुणस्तर मापन गरिएजस्तै युवाको गुणस्तर नाप्ने गरिन्छ । तर, युवाको गुणस्तर मापन गर्ने तरिका भने गाडीको इन्धन मापन जस्तो हुदैन । युवाको गुणस्तर मापनका लागि भने उनीहरुको विकास हेरिन्छ ।

‘युवा विकास’ मापन धेरैले गर्छन् । हरेक मुलुकले आफ्नै तरिकाले युवा विकासको मापन गरिरहेका हुन्छन् भने कतिपय अन्तर्राष्ट्रिय संस्थाले पनि विभिन्न मुलुकको युवा विकासलाई नियाल्ने गर्छन् ।

युवाको विकासलाई नजिकबाट निकाल्ने संस्थामध्ये पर्छ–लण्डनस्थित ‘द कमनवेल्थ’ । यसले ‘विश्व युवा विकास सूचकांक’ प्रकाशन गर्ने गर्छ । ‘कमनवेल्थ सचिवालय’बाट प्रकाशित हुने यो सूचकांकका आधारमा धेरै मुलुकले आफ्नो युवा नीति समेत बनाउँने गर्छन् । कतिपयले नयाँ योजनाका लागि यसलाई मार्गदर्शककोरुपमा लिन्छन् ।

नेपालमा अरु सूचकांकको चर्चा भएपनि युवा विकास सूचकांकको भने खासै चर्चा हुने गरेको छैन । अङ्ग्रेजी क्यालेन्डर अनुसार गत वर्ष (सन् २०१६)को अन्त्यतिर निकालिएको यो सूचकांकमा नेपालको अवस्था कहाँनेर छ त ? विश्वका १ सय ८३ मुलुकमध्ये ७७ औ स्थानमा। अर्थात, युवा विकासको हिसाबले नेपाल अझै निक्कै पछाडी छ । नेपालको युवा विकास मध्यम खालको देखिएपनि उच्च युवा विकास भएको मुलुकमा पुग्न नेपालले अझै धेरै कसरत गर्नुपर्ने देखिएको छ ।

दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा रहेको छ । नेपालको तुलनामा श्रीलंका (३१ स्थान), माल्दिभ्स (६२ स्थान) र भुटान(६९ स्थान)को युवा विकास राम्रो छ भने भारत (१३३), बंगलादेश (१४६), पाकिस्तान (१५४) र अफगानिस्तान (१६७) कमजोर ।

कसरी गरिन्छ मापन ?

युवा विकास सूचकांक लागि विभिन्न १८ वटा सूचकलाई एकीकृतरुपमा मापन गरिन्छ । पछिल्लो सूचकांकमा १ सय ८३ मुलुक समेटिएका छन् । यसका लागि शिक्षा, स्वास्थ्य र समृद्धि, रोजगारी र अवसर, राजनीतिक सहभागीता तथा युवाको सार्वजनिक एवं नागरिक सहभागीतालाई मुख्य आधार मानिएको छ ।

फरक–फरक संस्थाले फरक ढंगले युवाको परिभाषा गरेका छन् । युवा विकास सूचकांकका लागि भने ‘द कमनवेल्थ’ले आफ्नो परिभाषा अनुसारका युवालाई समेटेको छ । यसले १५ वर्षदेखि २९ वर्षसम्मकालाई युवा मानेको छ ।

युवा विकास सूचकांकका लागि मानव विकास सूचकांककै सुत्र प्रयोग गर्ने गरिएको छ । सन् १९९० देखि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले मानव विकास सूचकांक निकाल्न थालेको हो । मापनका क्रममा सबै सूचकलाई एकीकृतरुपमा विश्लेषण गरि हरेक मुलुकलाई शुन्य (०)देखि एक (१) सम्मको अंक दिइन्छ ।

शुन्य ल्याउने मुलुकमा युवा विकास नभएको र एक ल्याउने मुलुकमा सबैभन्दा बढी युवा विकास भएको मानिन्छ । सबैजसो मुलुकमा मानव विकास सूचकांककै प्रकृया अपनाइएको भएपनि कतिपय मुलुकमा भने सामान्य परिवर्तन गरिएको छ । सूचकांकका आधारमा मुलुकहरुलाई अति उच्च, उच्च, मध्यम र निम्न युवा विकास भएका मुलुककारुपमा समेत वर्गीकरण गरिएको छ ।

मापनका आधार

शिक्षा

माध्यमिक शिक्षामा युवा (१५–२४)को सहभागीता र युवाको डिजिटल साक्षरता (पाँच वर्षदेखि इन्टरनेट चलाएको अनुभवका आधारमा)

स्रोतः युनेस्को र आइटीयू

स्वास्थ्य र समृद्धि

प्रति लाखमा युवा (१५–२९) मृत्युदर, मानसिक समस्याबाट प्रतिवर्ष ज्यान गुमाउनेको दर, मद्यपानबाट हुने दुव्र्यवहारको दर, लागूऔषध दुव्र्यवहार दर र युवा (१५–२४)मा एचआइभी संक्रमण, विश्व समृद्धि सूचकांक

स्रोतः वर्ड बैंक, गालअप वर्ड पोल, ग्लोबल बर्डेन अफ डिजिजेज, इन्जुरी एन्ड रिक्स फ्याक्टर्स स्टडी (जीबीडी) र हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन

रोजगारी

शिक्षा, रोजगारी र तालिनमा नभएका युवा (१५–२९)को संख्या, युवा रोजगारी अनुपात, प्रजनन् दर र वित्तिय संस्थामा खाताको अवस्था

स्रोतः विश्व बैंक, युएन, आइएलओ, विश्व बैंक र ओइसिडी

राजनीतिक सहभागीता

युवा नीतिको अवस्था (भए÷नभएको), मतदाता शिक्षा अवस्था र सरकारी अधिकारीप्रतिको धारणा सम्बन्धी सर्वेक्षण  

स्रोतः गालुप वल्र्ड पोल, युथ पोलिसी ल्याब र एसिई इलेक्ट्रोलर ग्लोबल नलेज नेटवर्क

सार्वजनिक/नागरिक सहभागीता

स्वयंसेवाका लागि युवाले छुट्ट्याउने समय, नचिनेको मान्छेलाई गर्ने सहयोग बारेको सर्वेक्षण

स्रोतः गालअप वल्र्ड पोल

दक्षिण एसियाली मुलुकको युवा विकास सूचकांक

मुलुक  स्थान  अंक

श्रीलंका ३१    ०.७३१

माल्दिभ्स     ६२    ०.६६५

भुटान  ६९    ०.६५७

नेपाल  ७७    ०.६४७

भारत  १३३   ०.५४८

बंगलादेश     १४६   ०.४९२

पाकिस्तान    १५४   ०.४७०

अफगास्तिान   १६७   ०.४४०

स्रोतः युवा विकास सूचकांक, २०१६

 

 

 

 

 

 

प्रकाशित: १५ वैशाख २०७४ ०८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App