coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सञ्चारमन्त्रीका स्वकिय सचिवसहित दुई पत्रकार अपहरणमा संलग्न

झापा— जग्गाधनीलाई अपहरण गरी करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा सञ्चारमन्त्री राम कार्कीका स्वकिय सचिव राजु आचार्य उर्फ अग्नि र दुई जना पत्रकार पनि तानिएका छन्। 

जिल्ला प्रहरी कार्यालय झापाले माओवादी नेता आचार्य तथा पत्रकारहरु पुजन घिमिरे र शम्भु दाहाललाई फरार सूचीमा राखेर खोजीरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयले विर्तामोडको चर्चित अपहरण काण्डको घटनाबारे  सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी चार जना मुख्य अभियुक्त सार्वजनिक पनि गरेको थियो।

पत्रकार घिमिरे प्रहरीलाई ब्ल्याकमेलिङ गरेर पैसा असुल्ने काण्डमा पक्राउ परेर झण्डै एक महिना प्रहरी हिरासतमा बसेका व्यक्ति हुन्। आचार्य नेकपा माओवादी केन्द्रका प्रभावशाली जिल्ला नेता तथा सूचना तथा सञ्चारमन्त्रीका स्वकिय सचिव हुन्।

अपहरण अभियोगमा प्रहरीको खोजी सूचिमा रहेका आचार्य मन्त्री कार्कीको संरक्षणमा कामाठडौंमा खुलेआम हिँडडुल गरिरहेका छन्। सञ्चार मन्त्रालय स्रोतका अनुसार उनी मन्त्रालयमै आउजाउ गरिरहेका छन्। थप दुई अभियुक्त पत्रकारहरुमा सगरमाथा टेलिभिजनका संवाददाता पुजन घिमिरे र स्थानीय अनलाइनका शम्भु दाहाल रहेका छन्।

घटनाका मुख्य अभियुक्तसहित ५ जना अझै फरार रहेको झापाका एसपी शैलेस थापाले जानकारी दिए। उनले अभियुक्तको नेपाल र भारतका प्रहरीमा समेत समन्वय गरेर खोजी भइरहेको हुनाले चाँडै पक्राउ पर्ने बताए । 

बिर्तामोड ५ मा बस्दै आएका टेलिभिजन पत्रकार  पुजन घिमिरे घटनाको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ। घिमिरेले शनिश्चरे ९ घर भएका जीवन बिष्टलाई अपहरण गरी भद्रपुर रोडको करोडौं मुल्य पर्ने ५ कठ्ठा १६ धुर जग्गा हत्याएका थिए। घिमिरेसहितका अभियुक्तहरुको टोलीले बिष्टलाई बिर्तामोडको एभरेष्ट होटलबाट अपहरण गरी गरामनीको शुभकामना पार्टी प्यालेसमा बन्धक बनाएर पेस्तोल देखाउँदै जवरजस्ती जग्गा पास गराएका थिए।  

गएको असार १९ गते घिमिरेले बिष्टको स्वामित्वमा रहेको त्यो जमिनमा होटल गर्ने प्रायोजनका लागि भाडामा लिएका थिए। शुरुमा ५ वर्षका लागि जमिन भाडामा लिँदा बिष्टको नागरिकतामा समस्या भएको पत्ता लागेपछि उनले फेरि अर्काे ५ वर्षको लागि भाडामा लिन कागज गर्ने भन्दै बोलाएका थिए। त्यही समयमा घिमिरेले विर्तामोडकै ओम शिवाकोटीको सहयोगमा बिष्टलाई अपहरण गरी गरामनीको शुभकामना पार्टी प्यालेसमा पुर्‍याए। ‘त्यो होटलमा बन्धक बनाएपछि उनले अरु अभियूक्तलाई सम्पर्क गरेको पाइएको छ’, एसपी थापाले भने, ‘बिष्टलाई माघ ११ गते नियन्त्रणमा लिएपछि जग्गा पास गर्न आवश्यक पर्ने कागजात लिएर पेस्तोल देखाएर धम्की दिंदै १२ गते भारततर्फ खेदाएको खुलेको छ।’

‘बिष्टलाई खेदाएपछि मेचीनगरकै राजु कुँवरको फोटो उनको नागरिकतामा टाँसेर माघ १९ गते जग्गा पास भएको देखिन्छ’, थापाले भने, ‘मालपोत कार्यालयले त्यो बेला बैधानिक रुपमै डोर गएको भन्ने सूचना आएको छ, अध्ययनपछि विस्तृत सार्वजनिक गर्छौं।’

प्रहरीले घटनामा संलग्न भएको आरोपमा मेचीनगरका भूपु कान्छा भनिने अजय राई, राजु कुँवर, चन्द्रगढीका तेजेन्द्र न्यौपाने र प्रेम न्यौपानेलाई पक्राउ गरेको थियो। भूपु कान्छा कांग्रेसका प्रभावशाली स्थानीय कार्यकर्ता हुन् भने तेजेन्द्र जिल्ला प्रशासन कार्यालयका खरदार हुन्। प्रेम चन्द्रगढीको न्यौपाने स्टोरका सञ्चालक हुन् भने कुँवर भुपु कान्छाका सहयोगी हुन्। 

प्रहरीले सार्वजनिक गरेको फरार अभियूक्तको नामावलीमा पुजन घिमिरे, शम्भु दहाल, अग्नि भनिने राजु आचार्य, लक्ष्मण बस्नेत र ओम शिवाकोटी रहेका छन्। घिमिरे सगरमाथा टेलिभिजनका झापा सम्वाददाता हुन्। उनी यसअघि पनि प्रहरीलाई ब्ल्याकमेलिङ गरेर पैसा असुल्ने काण्डमा पक्राउ परेर झण्डै एक महिना प्रहरी हिरासतमा बसेका थिए। दहाल स्थानीय एक अनलाइनमा काम गर्ने पत्रकार हुन्। आचार्य नेकपा माओवादी केन्द्रका प्रभावशाली जिल्ला नेता तथा सूचना तथा सञ्चारमन्त्रीका स्वकिय सचिव हुन्। बस्नेतले भद्रपुरका ब्यवसायी पर्शुराम अग्रवालको गरामनीमा रहेको होटल शुभकामना भाडामा लिएर सञ्चालन गरिरहेका थिए। शिवाकोटी र घिमिरेले विर्तामोडमा रहेको बिष्टको जमिन भाडामा लिएर एभरेष्ट होटल सञ्चालन गरिरहेका छन्। 

प्रहरीले मालपोत कार्यालयका लेखापढी व्यवसायी मुक्ति निरौला, नायब सब्बा टीकाराम लुइँटेल र खरिदार रुद्र सापकोटासहित केही कर्मचारीलाई पनि अनुसन्धान गरिरहेको जनाएको छ । थापाले भने, ‘उनीहरुले डोरमा जाँदा केही समस्या उत्पन्न भएको बुझेको छौं, विस्तृत अनुसन्धानपछि पक्राउ गरेर कारवाही अघि बढाउछौं।’

जमिन खरिद गर्ने प्रेम न्यौपानेको बैंक खाताबाट १ करोड ७५ लाख रुपैयाँ निकालेको खुलेको छ। उनले ३० लाख रुपैयाँ नगद नै दिएको तथा पास खर्च १५ लाख गरेर जम्मा २ करोड २० लाख जतिको कारोबार भएको पाइएको प्रहरीले जनाएको छ। सो रकम फरार र पक्राउ परेका ब्यक्तिहरुले बाँडफाँड गरेको भेटिएको एसपी थापाले बताए। बिष्टले इलाका प्रहरी कार्यालय विर्तामोडमा चैत २५ गते किटानी जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले २७ र ३० गते उनीहरु पक्राउ परेका हुन्।

प्रहरीले फरार रहेका घटनाका योजनाकार पुजन घिमिरेको घरबाट जीवन बिष्टको नागरिकता, जमिनको धनिपुर्जा, जमिन भाडामा लिएको सम्झौता पत्र, बैंकका चेकबुक बरामद गरेको जनाएको छ। यसैगरी पक्राउ परेका अर्का मुख्य अभियूक्त तेजेन्द्र न्यौपानेको घरबाट बिभिन्न ब्यक्तिका नाममा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता, लाइसेन्स, फिलिपिन्सका एकजना नागरिकको राहदानी, नेपाली राहदानी, नेपाली सेनामा कार्यारत रहेको भन्ने प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रको खाली कार्ड ४९ वटा बरामद भएको प्रहरीले जनाएको छ। न्यौपाने लामो समय यातायात ब्यवस्था कार्यालयमा काम गरेर केही अघि मात्र प्रशासन कार्यालयमा सरुवा भएर गएका थिए। घटनापछि उनी नक्कली लाईसेन्स बनाउन पनि संलग्न रहेको खुलेको छ। 

एसपी थापाले अभियूक्तमाथी अपहरण, शरिर बन्धक जस्ता संगठित अपराध, ठगी, सरकारी छाप दुरुपयोग जस्ता अभियोगमा मुद्दा चलाउने जनाएको छ। 

 

प्रकाशित: १२ वैशाख २०७४ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App