१६ चैत्र २०८० शुक्रबार
समाज

बाढीले कुलो बगाएपछि साढे पाँच सय बढी घरधुरी अन्धकारमा

तेह्रथुम – वर्षासँगै आएको बाढीले लघु जलविद्युत आयोजनाको कुलो बगाएपछि तेह्रथुमको खाम्लालुङ र सम्दुका साढे पाँच सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडक खण्ड समेत अवरुद्ध भएको छ । 

बुधबारसाँझदेखि लगातार परेको पानीले यहाँको २२ किलो वाट क्षमताको अमलेबेँसी लघुजलविद्युत आयोजनाको एक सय मिटर कुलो बगाएको आयोजनाका अध्यक्ष गोपी ढुंगानाले बताए । यस्तै १७ किलो वाट क्षमताको फलामसाँघु लघु जलविद्युत र २९ किलो वाट क्षमताको कोया खोला तेस्रो लघु जलविद्युत आयोजनाको समेत कुलो बगाएपछि विद्यतु उत्पादन ठप्प भएको छ । 

केन्द्रीय प्रशारण लाइन नपुगेको र जलविद्युत आयोजनाको समेत उत्पादन ठप्प भएपछि खाम्लालुङ र सम्दुका साढे पाँच सय घरधुरी दुई दिन देखि अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत उत्पादन बन्द भएपछि यहाँ सन्चालित करिब एक दर्जन मिलहरु समेत ठप्प बनेका छन् । 

यस पटक वैशाखको पहिलो साता नै आएको बाढीले ०६५ सालपछि कै सबैभन्दा ठूलो क्षति पुर्याएको स्थानीयले बताएका छन् । बाढीले खुङ्ग्रिङ खोलाको आसपास सडक क्षति गरेपछि खाम्लालुङ–सम्दु सडक खण्ड पनि अवरुद्ध भएको छ । स्थानीय उपभोक्ताले आफ्नै अगुवाई र लगानी समेतमा बनाएका आयोजना मर्मत गर्न सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। 

प्रकाशित: १० वैशाख २०७४ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App