coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्राफिक चिह्न नभएका सडकमा कारबाही

काठमाडौं- काठमाडौं उपत्यकाका सडकमा लेन छुट्टिदैन न त जेब्राक्रस नै देखिन्छ। तर, अधिंकाश चालक मेटिएका त्यही चिह्न मिचेको भन्दै ट्राफिक कारबाहीमा पर्ने गरेका छन्। राजधानीका सडकमा जेब्राक्रस तथा लेन मेटिएको महिनौं भइसक्यो। सडक मर्मत तथा सम्भारको जिम्मा पाएका सडक विभाग र मातहतका सडक डिभिजन कार्यालयबीच समन्वय नहुँदा लामो समयदेखि अनाहकमा जरिवाना तिर्न बाध्य भएको सवारीचालकले दाबी गर्छन्। दुरवस्थाका सडकले दुर्घटनासमेत बढाइरहेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार  काठमाडौं उपत्यकामा ४० प्रतिशत पैदलयात्री सडक दुर्घटनाका कारण ज्यान गुमाउने गर्छ ।

आ.व. २०७२–७३ मा १ सय ६६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो। काठमाडौं उपत्यकामा कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, सहिदगेट, सुन्धारा, एयरपोर्ट, चाबहिल, गौशाला, कमलपोखरी, बत्तिसपुतली, कलंकीलगायत विभिन्न ठाउँमा जेब्राक्रस तथा लेन चिह्न मेटिएर देेख्नै मुस्किल भइसक्यो। काडाँघारी–रत्नपार्क रूटका माइक्रोबस चालक भोलानाथ सापकोटा सडकमा चाहिने आधारभूत पूर्वाधार नबनाउने तर नियम मात्रै कडाइका साथ कार्यान्वयन गर्न नहुने बताउँछन्। ‘सडक हेर्दा एम्बुसजस्ता छन्' उनले भने, ‘ट्राफिक प्रहरीले कारबाही गरेर मात्रै हुन्छ, खोई जेब्राक्रस र लेन?'

महालेखापरीक्षकको कार्यालय काठमाडौंको ५४ औं प्रतिवेदनले उपत्यकाका भित्री सडकमा रोड मार्किङ्ग नभएका ४६ स्थानमा तत्काल मार्किङ्ग गर्नुपर्ने, जेब्रा क्रसिङ्ग भएका स्थानमा मेटिएकोमा पुनः पेन्ट गर्नुपर्ने निर्देशन दिएको छ। उक्त प्रतिवेदनमा काठमाडौंको १४५, ललितपुरको २१ र भक्तपुरको १२ समेत १७८ थप स्थानमा नयाँ जेब्रा क्रसिङ्ग तथा बढी यात्रु आवागमन हुने क्षेत्रमा सडकछेउ रेलिङ्गको बार तत्कालै लगाउनुपर्ने उल्लेख गरिएको छ।  उपत्यकामा चल्ने अधिकांश सवारीचालकले लेन मेटिएको सडकमा नै कारबाहीमा परेको दाबी गर्छन्। चक्रपथ रूटका चालक श्याम अवालले भने, ‘लेनचिन्ह् चैँ नबाउने कारबाही मात्रै गर्ने?'

‘उपत्यकाका सडक भताभुङ छन्, जेब्राक्रम तथा लेन चिह्न केही भेट्टिदैनन्, सर्वसाधारण जहीँतहीँबाट हिँडनुपर्ने बाध्यता छ,' ट्राफिक ईन्जिनियर आशिष गजुरेलले भने, ‘पूर्वाधारबिनै कारबाही गर्दा चालक तथा सर्वसाधारणमा आक्रोश बढ्ने गर्छ, त्यसैले पूर्वाधारमा जोड दिनुपर्छ।' महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा डिआईजी मिङमार लामाले  सडकमा व्यवस्थित पूर्वाधार नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या आएको स्वीकार गरे। ‘पटक–पटक सडक विभागलाई सडक मर्मतसम्भारका लागि गुहारिसक्यौं। तर, अहिलेसम्म बाटो सुधारिएको छैन,' उनले भने, ‘व्यवस्थित पूर्वाधार नहुँदा कहिलेकाहीँ चालक र ट्राफिक प्रहरीबीच कारबाहीका विषयमा विवाद हुने गरेको छ।' महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार  दैनिक २२ सयदेखि २६ सय सवारीसाधन ट्राफिक नियम उल्लघंन गरेकाले कारबाहीमा पर्ने गरेका छन्। काठमाडौं उपत्यकामा दैनिक ७ सय  चालक लेन उल्लघंन, चार सय  ‘नो हर्न’  नियम उल्लंघन र  ८० जना मापसेका लागि कारबाहीमा  पर्ने गरेका छन्। मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख अयोध्याप्रसाद श्रेष्ठले सडक मर्मतसम्भार गर्ने विभिन्न निकायबीच समन्वय नहुँदा समस्या भएको बताए। ‘उपत्यकाका ठूला सडकमा मेटिएका जेब्राक्रस ,लेन तथा सडक फर्निचर बनाउनका लागि सडक डिभिजन कार्यालय काठमाडौं १ र २ लाई निर्देशन दिइसकेका छौं,' उनले भने, ‘अब छिट्टै बनाउनेतर्फ केन्द्रि्रत हुनेछौं।'

प्रकाशित: ८ वैशाख २०७४ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App