coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानव तस्कर  १२१ को पहिचान

काठमाडौं- नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्‍याई घरेलु कामदारको रुपमा बेच्न एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खुलेको छ। घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित नेपाली दूतावास पुगेका महिलाले तस्करको पहिचान गरेका हुन्।

पीडित महिलाको बयानका आधारमा खाडी राष्ट्र कुवेत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई) र ओमानस्थित नेपाली दूतावासले तस्कर तथा एजेन्टको नाम कारबाहीका लागि नेपाल पठाएका छन्। परराष्ट्र मन्त्रालयले ती नाम कारबाहीका लागि श्रम मन्त्रालयमा पठाएको छ ।

‘गत महिना हामी (युएईस्थित दूतावास) ले मात्र ४१ जना तस्करको नाम तथा ठेगाना पहिचान गरी कारबाहीका लागि पठाएका छौं,' युएईस्थित नेपाली दूतावास स्रोतले नागरिकलाई जानकारी दियो, ‘हामीले पठाएका तस्करको नाम परराष्ट्रले कारबाहीका लागि श्रम मन्त्रालयमा त पठाउँछ, तर आजसम्म एक जनालाई पनि कारबाही भएको जानकारी पाएका छैनौं।'

तस्करले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतको विमानस्थलमार्फत खाडी राष्ट्रमा पुर्‍याएर घरेलु कामदारको रुपमा बेचिएका महिला नारकीय जीवन बिताउन बाध्य छन्। घर मालिकले बढी काम लगाउने, पिट्ने, खान नदिने, कोठामा थुनेर राख्ने, यौन दुर्व्यवहार गर्ने, शरीरमा तातोपानी खन्याइदिने, आइरनले डाम्ने, घरको तला माथिबाट फ्याँकिदिने, फि्रजमा थुनेर राख्ने जस्ता यातना नेपाली महिला कामदारलाई दिने गरेका छन्।

घर मालिकले दिने हदैसम्मको यातना सहन नसकेपछि उनीहरू भागेर नेपाली दूतावास पुग्छन्। यसरी दूतावास पुग्न सक्नेको संख्या निकै सानो छ। पछिल्लो केही सातामा यसरी नै भागेर दूतावास आइपुगेका ७५  महिलाले नेपालमा रहेका १ सय २१ तस्करको नाम र ठेगाना खुलासा गरेका हुन्।

नेपाली महिलालाई खाडी राष्ट्रमा पुर्‍याउन तस्करले कुवेत, युएईलगायत देशमा कार्यालय नै खोलेर बसेको पाइएको छ। नेपालमा रहेका तस्कर र खाडी राष्ट्रमा कार्यालय खोलेर बसेका तस्करले समन्वयमा नेपाली महिलालाई घरेलु कामदार बनाई त्यहाँ बेच्ने गरेका छन्। कतिपय नेपाली महिलालाई तस्करले पटकपटक गरी तीन वटा देशमा बेचेको भेटिएको छ। तस्करले अधिकांश महिलालाई खाडी राष्ट्रको भिजिट भिसामा लग्ने गरेका छन्। ‘तस्करले केही महिलालाई पटकपटक गरी दुई तथा तीन देश पुर्‍याई बेचेको समेत भेटिएको छ,' दूतावास स्रोतले भन्यो। तस्करले नेपाली महिला उपलब्ध गराएबापत घर मालिकबाट १० लाख रुपैयाँसम्म बुझ्छन्।

दोलखा फस्कु–९ की दीलमाया (नाम परिवर्तन) लाई सुरुमा भिजिट भिसामा युएई पुर्‍र्याइएको थियो। युएईमा १० महिना काम गरेपछि उनलाई ओमान लगेर बेचियो। ओमानमा दुई महिना काम गरेपछि उनलाई फेरि युएईम ल्याई घरेलु काममा लगाइयो। युएईको अजमानमा रहेको मोनालिसा लेवर्स रित्रु्कटमेन्ट कम्पनी र महर्वा लेवर रित्रु्कटमेन्टले नेपाली महिलालाई विभिन्न स्थानमा पुर्‍याउन सघाएको दूतावास स्रोतले जनायो।

केही नेपालीले कुवेतमा एजेन्टको रुपमा बसेर नेपाली महिलालाई विभिन्न खाडी राष्ट्रमा पुर्‍याउन सघाइरहेका छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार ताप्लेजुङ दोखु–७ का हर्कबहादुर खवास, निसा मोक्तान, झापा मेचीनगर–१३ का ओमप्रकाश आचार्य, नवलपरासी सुनवल–४ कि सीमा गुरुङ, सुर्खेत छाप्रे–९ कि रत्नकली कँडेल (रीता), सिन्धुपाल्चोक किउल–६ कि मीना लामा, सिन्धुपाल्चोक ठूलोपोखर–५ का श्याम लामा, खोटाङ सुइदेल–७ का जयसरा राईले कुवेतमा एजेन्टको रुपमा काम गरिरहेका छन्।

यस्तै, कुवेतमा एजेन्टको रुपमा रहेर नेपाली महिलालाई खाडी राष्ट्रमा पुर्‍याउन सघाइरहेका नेपालीमा झापा दमक–१३ कि विष्णुकुमारी कार्की, पींकी मगर, बाँके रझेना–८ कि अस्मिता पाण्डे, सुस्मिता लिम्बु र रामेछापकी गीता मगर छन्। तस्करले महिलालाई सुरुमा नेपालको पूर्वीनाकाबाट सिलगुढी लैजाने र सिलगुढीबाट नयाँदिल्ली तथा मुम्बई पुर्‍याई खाडी राष्ट्र पुर्‍याउने गरेको पाइएको छ।

पाँचथरकी रोजिना (नाम परिवर्तन) २०७३ फागुन २५ गते नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेकी थिइन्। तस्करले उनलाई दुबईमा आकर्षक काममा लगाइदिने आश्वासन दिएका थिए। तस्करहरुले नेपालबाट नयाँदिल्ली हुँदै उनलाई भिजिट भिसामा दुबई पुर्‍याएका थिए। दुबई पुगेको भोलिपल्ट फागुन २६ गते भिजिट भिसामै उनलाई ओमान पुर्‍याइयो। ओमानमा उनलाई अवैधानिक तरिकाले घरेलु कामदार बनाइयो। ओमान पुगेको १४ दिन बित्न नपाउँदै गत चैत १० गते सडक दुर्घटनामा परी उनको मृत्यु भयो। रोजिनाका श्रीमानका अनुसार सम्झना नाम गरेकी एक महिलाले उनलाई नयाँदिल्ली–दुबइई हु“दै ओमान पुर्‍याएकी थिइन्।

सुनसरी प्रकाशपुर–८ कि सोबिता (नाम परिवर्तन) लाई पनि तस्करले काठमाडौंबाट सिलगुढी–दिल्ली हुँदै एक महिना लगाएर भिजिट भिसामा युएई पुर्‍याएका थिए। सिन्धुपाल्चोक इँचोक–६ कि दीपिका (नाम परिवर्तन) लाई पनि तस्करले सिलगुढी–दिल्ली हुँदै भिजिट भिसामा खाडी राष्ट्र पुर्‍याएका थिए। केही नेपालीलाई तस्करले अफ्रिकी राष्ट्र हुँदै खाडीमा पुर्‍याउने गरेको समेत भेटिएको छ। मोरङ पथरी–१ का तीन युवतीलाई तस्करले सुरुमा अफ्रिकी राष्ट्र केन्या पुर्‍याएका थिए। पछि उनीहरुलाई भिजिट भिसामा युएई पुर्‍याइयो। 

खाडी राष्ट्रहरुमा नेपाली महिलालाई अवैध रुपमा लगेर बेच्न  तस्करले कुवेतलाई ‘ट्रान्जिट' बनाएको देखिन्छ। पछिल्ला दुई वषमा कुवेत भनेर साउदी लगेर बेचिएका तीन सय महिलाको उद्धार गरी साउदीस्थित नेपाली दूतावासले स्वदेश फर्काएको छ। अहिले पनि कुवेत हुँदै साउदी पुगेका दुई दर्जन नेपाली महिलाको उद्धार गरी दूतावासले आफ्नो सेल्टरमा राखेको छ। नेपाली महिलालाई खाडी राष्ट्र उडाउनु अघि तस्करले काठमाडौंका विभिन्न होटलमा लामो समय राख्ने गरेको पनि पाइएको छ।

प्रकाशित: ७ वैशाख २०७४ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App