१६ चैत्र २०८० शुक्रबार
समाज

जात्रामय भक्तपुर

सांस्कृतिक नगरी भक्तपुर यति बेला जात्रामय छ। चैत २८ गते रथ तानेर सुरु भएको बिस्केट पर्वसँगै प्राचीन नगरीमा खुसी छरिएको छ। टोल–टोलमा नाचगान, घर–घरमा छरिएको जात्राको रौनकले नगर झनै जीवन्त देखिएको छ।

चैत २८ देखि भक्तपुरकौ टौमडीबाट रथ तानेर सुरु भएको उत्सव नौ दिन आठ रात चल्नेछ। रंगीविरंगी कपडामा सजिएका भक्तपुरवासी तान्त्रिक विधिअनुसार बिस्केट उत्सवमा सहभागी भएर रथ तान्दै गर्दा नगर जात्रामय बन्यो।

चैत मसान्तमा भेलुखेलमा लिंगो उठाउँदा होस् वा वैशाख १ गते लिंगो ढाल्दा, दुवैमा नगरवासीको उत्साह उस्तै थियो। दुवै दिन संस्कृति उभिएको थियो।

रथ तान्ने कार्यक्रममा युवा समुदायको सक्रियता अधिक देखियो। सांस्कृतिक जगेर्नामा युवाले हात बढाउने क्रम बढ्दा बुढापाका हर्षित देखिन्थे।

विगत र अहिलेका जात्रामा धेरै फरक देखिए पनि जात्रामा आउने उत्साह भने एकै रहेको बुढापाका सुनाउँछन्। 'जात्राको रमाइलो हाम्रो पालामा पनि यस्तै अहिले पनि उस्तै,' ७३ वर्षीय श्यामभक्त प्रजापती भन्छन्, 'जात्रालुको कपडा फेरिएका छन् तर जात्राको रहर उस्तै देखियो।'

चैत मसान्तको साँझ भेलुखेलमा लिंग्ाो ठड्याउँदा देखिएको रौनक होस् वा वैशाख १ गते बिहान लिंगो ढाल्दाको उत्साह, सबै रमाएका थिए। वैशाख २ मा थिमीमा मनाइने सिन्दुरे जात्राले त जात्राको रंग झनै गाढा बनाउनेछ।

संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ भक्तपुरको समग्र जीवन जात्रामय भएको बताउँछन्। 'यहाँ बाँचेका र मरेका सबैका लागि जात्रा मनाइन्छ,' उनले भने, 'हाँसो र आँसुको संगम बनेको छ, भक्तपुरको जात्रा।' लिच्छवी र मल्लकालमा राजनीति र प्रशासनिक क्षेत्रमा समेत प्रभावशाली रहेको भक्तपुरले समयसँगै यसको प्रभाव गुमाउँदै गए पनि संस्कृति भने जोगाउन सफल भएको उनी सुनाउँछन्।

यहाँ हरेक जात्राले केटाकेटीदेखि वृद्धवृद्धसम्मलाई छपक्कै पार्छ। यसको उमंगमा सबै रमाउँछन्। जात्राको समयमा टोल–टोलमा नाचगान, घर–घरमा रौनक देखिन्छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग जात्रा भक्तपुरको ढुकढुकी भएको जात्रा चलुञ्जेल भक्तपुर बाँच्ने सुनाउँछन्। 'त्यसैले स–साना केटाकेटीदेखि वृद्धवृद्धा सबै जात्रामा उत्साहित हुन्छन्,' उनी भन्छन्, 'यस्तो लाग्छ, जात्राले यहाँका मानिसलाई बाँच्न सिकाएको छ।'

। यहाँका जात्रासँग विभिन्न किंवदन्ती र मिथक जोडिएको संस्कृतिविद् तेजेश्वर बाबु ग्वंग सुनाउँछन्। 'कतै कथा जोडिएका छन्, कतै इतिहास,' उनले भने, 'यहाँको जीवन जात्रासँग जोडिएको छ।'

उनी भक्तपुरमा मनाइने जात्राले थुप्रै सन्देश दिने सुनाउँछन्। बिस्केटको लिंगो उठाउने र ढाल्ने प्रक्रियालाई प्रकृति र पुरुष समागमनको अवस्था भएको बताउँछन्। 'त्यो आकाश र पृथ्वीको मिलनको जात्रा हो,' उनले भने, 'त्यसैले लिंगो उठाउँदा र ढाल्दा सर्वसाधरण उस्तै रमाउँछन्।'

जात्रा जीवन्त बनाइराख्न यसमा देखिएका कमजोरीलाई हटाउँदै जानुपर्ने देखिन्छ।

जात्राको महत्व बुझाउँदै यसलाई समयअनुसार परिमार्जन गर्दै लैजानुपर्ने कतिपयको बुझाइ छ।

'जात्राको मौलिकता नगुम्ने गरी यसलाई समय साक्षेप गर्नु जरुरी छ,' संस्कृतिविद् ओम धौभडेल भन्छन्, 'योभन्दा पहिला जात्रा मनाउनेलाई जात्राको खास अर्थ बुझाउन आवश्यक छ।'

बिस्केट रथ तान्ने काममा हुने झडपलाई उनी संस्कृतिबारेको राम्रो ज्ञान नभएको बताउँछन्। 'रथलाई सन्तुलन मिलाउन दुवैतिर डोरी राखेर रथ तान्ने प्रक्रियाको सुरुवात भएको हो,' उनले भने, 'जात्राको महŒव नबुझ्दा रथ आफ्नोतर्फ लैजान होडबाजी हुने गरेको छ।' भक्तपुरमा रथ तान्ने पहिलो दिन यस्तै होडबाजीमा कतिपय समयमा टौमडी क्षेत्रमा झै–झगडा समेत पर्ने गरेको छ।

जात्रामा बूढापाकाको सहभागिता घट्दै गए पनि युवा सहभागिता भने बढ्न थालेको छ। कला–संस्कृतिमा उनीहरूको माया यसपटक पनि बिछट्टै देखियो। जात्रालाई भनेर टोलटोलमा धिमे बजाउने अभ्यास गरिएको थियो। रथको डोरी तान्न युवाले थुुप्रै पसिना बगाए। यस्तो लाग्छ, रथको डोरीसँगै युवा पिँढीले संस्कृति तानिरहेका छन्।

चैत २८ गते तौमढीबाट भैरवको रथ तान्दै सुरु भएको बिस्केट जात्रा वैशाख ५ गते रथ भिœयाउँदै सम्पन्न हुनेछ।

प्रकाशित: २ वैशाख २०७४ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App