१५ चैत्र २०८० बिहीबार
समाज

पाटन दरबारसँग जोडिएका ६ पर्व लोप

ललितपुर- ललितपुरको पाटन दरबारस्थित मूल चोकसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीन पर्वहरु लोप भएको एक अध्ययनमा भेटिएको छ। यल सांस्कृतिक पर्व संरक्षण समितिले गरेको अध्ययनमा दरबार क्षेत्रसँग जोडिएका ६ पर्व लोप भएको भेटिएको हो।

समितिले पछिल्लो समयमा सँस्कृति नासिँदै गएको स्थानीयको गुनासोपछि अध्ययन थालेको थियो। ७ दिनसम्म गरिएको अध्ययनबाट ६ पर्व लोप भइसकेको निष्कर्ष निकालिएको छ।

समितिले गरेको अध्ययनमा लोप हुने पर्वमा लिच्छविकालीन मूस्छेँ आँगन घर गुठीको माजु द्यः पूजा, शाहकालीन फूलपाती, मल्लकालीन तलेजु पूजा लगायतका पर्व छन् । अध्ययनअनुसार लिच्छविकालीन माजु द्यँ पूजा पर्व गुठीले मनाउन छाडेको दुई दशक बितिसकेको छ ।

पाटनको गँ प्याँख, कात्तिक नाच, ठेचोको नवदुर्गा नाच, हरिसिद्धिको हरिसिद्धि भवानी देवी नाच, खोकनाको रुद्रायणी नाच, दशमी पर्व, कालरात्रि पर्व पनि मुस्किलले चलेको संस्कृतिविद् हरिराम जोशीले बताए । उनका अनुसार प्रत्येक १२ वर्षमा मनाइने कीर्तिपुरको बाघभैरव, काठमाडौंको नरदेवी, पचली भैरव र भद्रकाली नाच पनि लोप भएका छन् । ‘पुराना पर्वहरु लोप हुनुमा रुपियाँपैसाको अभाव र नयाँ पुस्ताको चासोहीनता हो,’ सँस्कृतिविद् जोशीले भने ।

शाहकालीन फूलपाती भित्र्याउने र महिनाभर सञ्चालन हुने कात्तिक नाच पनि छोट्टिएर अहिले १२ दिनमा झरेको समितिको रिपोर्टमा उल्लेख छ । अहिले ललितपुर उद्योग वाणिज्य संघ, संस्कृतिविद् र स्थानीयले पुराना पर्वहरुलाई जर्गेना गुर्नुपर्ने आवाज उठाउँदै आएका छन् । उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले संस्कृतिलाई अर्थतन्त्र र पर्यटन उद्योग प्रवद्र्धनसँग जोडेर अघि बढाउन सके देशको विकास हुने बताए । उनले पाटन दरबार क्षेत्रको लिच्छिविकालीन सम्पदा मुआगं छेँसंग सम्बन्धित कतिपय मूर्त र अमूर्त संस्कृति लोप भइसकेकाले संस्कृति बचाउन बेलैमा ध्यान पु¥याउनुपर्ने धारणा राखे । ‘हामीले परम्परा बचाउन सक्यौँ भने हाम्रो समाजको मौलिकता रहन्छ,’ उनले भने । 

त्यस्तै, ताम्राकार समाजका अध्यक्ष रबिन्द्रराज ताम्राकारले ललितपुरमा पर्यटन विकासका लागि स्थानीय संस्कृति संरक्षणमा जोड दिइनुुपर्ने बताए । ‘स्थानीयले मात्रै चाहेर पुराना पर्वहरु बचाउन सकिँदैन,’ उनले भने, ‘पूराना पर्वहरु बचाउन त्यसतर्फ सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।’

प्रकाशित: २२ चैत्र २०७३ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App