८ आश्विन २०७७ बिहीबार
समाज

मौसमविद् नै भन्छन्- 'यो चैत हिउँद हो कि ग्रिष्म?

काठमाडौं- वरिष्ठ मौसमविद् तथा काठमाडांै विश्वविद्यालयका सहायक प्राध्यापक मणिरत्न शाक्यलाई चिसोले समातेछ। उनी केही दिनयता घरबाहिर निस्किएका छैनन्। चैतमा पनि दिनदिनै चिसो किन बढिरहेको छ भन्ने नागरिकको प्रश्नमा शाक्यले आइतबार दिउ“सो भने, 'हेर्नुस् न म आफैंलाई चिसोले समातेको छ। रुघाखोकी लागेर घरमै बसेको छु।'

 नागरिकले यो जाडो महिना हो कि गर्मी भनेर सोध्दा उनले हा“स्दै भने, 'मलाई पनि त्यस्तै लागिरहेको छ। यो नियमित खालको हावापानी होइन।'

उनका अनुसार यो चिसोले यसपटकको मनसुनमा राम्रो वर्षा संकेत गर्छ। उनले बिहान र बेलुका चिसो बढिरहेको बताए। 'मौसमको त्यति ठूलो प्रणाली केही पनि छैन तर पनि चिसो बढिरहेको छ। यसका धेरै कारण हुन सक्छन्', शाक्यले भने।

उनका अनुसार बिहान आकाश सफा हुन्छ, बिहान एकैछिन लागेको सूर्यको तापको विकिरण जमिनमा ठोकिएर खुला आकाशमा हराउ“छ। दिउ“सो बादल लाग्छ, त्यसले सूर्यको प्रकाश पृथ्वीमा आउनबाट छेक्छ। यी दुवै प्रक्रियाले जमिन चिसो हुन्छ, तात्नै पाउँदैन। वायु प्रदूषण त्यत्तिकै पनि छ। सवारीसाधनले फाल्ने कार्बनको धुलो पनि आकाशमै गएर बस्छ। त्यसले पनि प्रकाशलाई जमिनमा आउन दिँदैन। 'अनि किन चिसो नहोस् त?', शाक्य प्रश्न गर्छन्।

त्रिभुवन विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका तर्क अलि फरक छन्। उनका अनुसार अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर धेरै छ। 'अन्तर बढी भएपछि मौसम अलि चिसो हुन्छ र अनौठो पनि', उनले भने। केही दिनयता बिहानमा करिब ६/७ डिग्री सेल्सियस हुने न्यूनतम तापक्रम दिउ“सोमा बढेर २०/२२ डिग्री सेल्सियस भइरहेको छ। यी दुई तापक्रमबीचको अन्तर बढी छ।

अर्यालका अनुसार पश्चिमी वायु त्यत्तिकै सक्रिय छ। त्यसमा स्थानीय वायुको प्रभाव पनि त्यत्तिकै छ तर ठूलो वर्षाको सम्भावना केही छैन। उनका अनुसार चिसोपन र हावा बढ्नुको अर्को प्रमुख कारण फागुन २७ र २८ गतेको झरी र त्यसपछि देशका पहाडी र उच्च पहाडी क्षेत्रमा भएको हिमपात पनि हो।

'ती दिनमा २५ सय मिटरभन्दा अग्ला पहाडमा धेरै हिमपात भएको थियो। अझ मध्यपश्चिम, पश्चिमका पहाडी क्षेत्रमा धेरै हिउ“ परेको थियो। पश्चिमी वायु तीनै पहाड हुँदै बहने हुनाले चिसो बढेको हो', अर्यालले स्पष्ट पारे, 'चैतलाई हिउ“ पग्लिने महिना पनि भनिन्छ। एकतिर हिउ“ पग्लिने अर्कोतिर पश्चिमी वायु सक्रिय भइरहेको अवस्था छ।'

त्यसो त अहिले नेपालमा मौसमको कुनै ठूलो प्रणाली भित्रिएको छैन। मौसमविद् यसलाई सामान्य अवस्था भनिरहेका छन् तर चिसो भने हट्न सकेको छैन। 'प्रारम्भिक मनसुन सुरु भएको छ। जाडोका दिन भर्खरै सकिएका छन्। एकैपटक स्वात्तै चिसो घट्दैन र यो अब धेरै दिन पनि रहँदैन', अर्याल भन्छन्।

उनका अनुसार दुई/चार दिनसम्म मौसम यस्तै रहन्छ। बिहान आकाश सफा हुन्छ। दिउ“सो बादल लाग्छ। मौसम धुम्म हुन्छ। 'मध्य र पूर्वमा पानीको सम्भावना छ', अर्याल भन्छन्।

वरिष्ठ मौसमविद् शाक्य सामान्यतया उत्तर–पश्चिमबाट आउनुपर्ने हावा दक्षिण–पश्चिमबाट नेपाल भित्रिरहेको बताए। 'त्यसैले मैले यसलाई रेगुलर नहुने खालको मौसम भनेको हु“', उनले स्पष्ट पारे।

फागुन २७ र २८ गते पश्चिमबाट दुइटा मौसम प्रणाली एकैपटक भित्रिएका थिए। त्यसले दुई दिन लगातार वर्षा गराएको थियो। वर्षापछि पहाडी र उच्च हिमाली भेगमा हिमपात भएको थियो। सामान्यतया प्रारम्भिक मनसुनमा पनि पश्चिमी वायु प्रभाव रहन्छ। मनसुन सुरु भएपछि पूर्वी वायुको प्रभाव सुरु हुन्छ। सामान्यतया जेठको अन्तिम सातामा मनसुनपूर्वबाट नेपाल भित्रिने गर्छ।

मौसमविद्ले अहिलको हावापानीबारे आ–आफ्ना व्याख्या र तर्क प्रस्तुत गरिरहेका बेला सर्वसाधारण भने जाडोको कपडा थन्क्याएर गर्मीका कपडा निकाल्ने दिन पर्खिएर बसेका छन्। 'यो जाडो धेरै दिन रहँदैन। ह्वात्तै गर्मी बढ्छ', शाक्य भन्छन्, 'र, यसपटकको मनसुनमा पनि राम्रो वर्षा हुने वैज्ञानिकले अनुमान गरेका छन्।'

उनका अनुसार यस वर्षको मनसुनमा 'लानिना' सक्रिय हुन्छ। हिन्दसागरको पानी औसत तापमानभन्दा बढी तात्नेे प्रक्रियालाई 'इलनिनो' भनिन्छ भने यसको ठिकविपरीत पानी चिसो हुने प्रक्रियालाई लानिना भनिन्छ। समुद्रको पानी तात्ने वा चिसो हुने प्रक्रिया सामान्यजस्तो लागे पनि यसले मौसममा धेरै परिवर्तन ल्याउ“छ। यसले हिन्द महासागरमा उत्पन्न हुने मनसुनलाई प्रभावित गर्छ।

शाक्यका अनुसार मनसुन वास्तवमा प्रत्येक वर्ष देखा पर्ने एउटा वायुमण्डलीय प्रणाली हो जुन हिन्द महासागरमा उत्पत्ति भई दक्षिण एसियाको विभिन्न भागमा फैलिन्छ। यो हिन्द महासागरबाट भारतको दक्षिण भेग हँुदै सामान्यतया बंगालको खाडीको बाटो लाग्दै उत्तरपूर्वी भारत र बंगलादेश पुग्छ। त्यहँाबाट उत्तरपश्चिम दिशातिर मोडिएर पाकिस्तान प्रवेश गर्छ। यही क्रममा नेपाल भित्रिने गर्छ।

प्रकाशित: ७ चैत्र २०७३ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App