८ वैशाख २०८१ शनिबार
समाज

भूकम्पपीडितको नाममा दिइएको अनुदान फिर्ता हुँदै

बनेपा – भूकम्पपीडितका नाममा अनुदानलगायत सुविधा उपभोग गरेका परिवारले काभ्रेपलाञ्चोकमा पहिलो किस्ताबापतको रकम फिर्ता दिन थालेका छन् । 

भूकम्पपीडितको नाममा मौखिक र लिखित उजुरी पर्न थालेपछि जिल्लाको पाँचखाल नगरपालिकाबाट पहिलो पटक एकजनाले पहिलो किस्ताबापतको रु ५० हजार फिर्ता गरेको पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलले जनाएको छ । 

रकम फिर्ता गर्नेमा पाँचखाल नगरपालिका–९ का परशुराम सेढार्इं रहेका छन् । उनले सो रकम पुनःनिर्माण प्राधिकरण कोषमा नै जम्मा गरेका छन् । पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका प्रमुख ध्रुव गैडाले भूकम्पपीडितको नाममा सुविधा लिएकाहरुमा कहाँ र कसरी रकम फर्काउने भन्ने विषयमा अन्योल रहेको र कतिपयले फिर्ता गर्न चाहेको बताए । 

जिल्लाभरबाट त्यस्ता उजुरी आएपनि सबैभन्दा बढी पाँचखाल क्षेत्रबाट करिब एकसयको हाराहारीमा उजुरी आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सदस्य सचिवसमेत रहनुभएका गैडाले जानकारी दिए । उनले नक्कली भूकम्पपीडितविरुद्ध बेनामी लिखित उजुरी दिनसमेत जनसाधारणलाई आग्रह गरेको जानकारी दिँदै पीडित नभएकाले पनि सुविधा उपभोग गरे कानुनअनुसार असुल गरिने उल्लेख गरे । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत माघ २६ गते एक सूचना प्रकाशन गरी भूकम्पपीडितका नाममा पीडित नभएकाले पनि सुविधा उपभोग गरेको भए फिर्ता गर्न अनुरोध गरेको हो । जिल्ला समन्वय समितिको केही दिनअघि बसेको बैठकले पनि भूकम्पपीडितको नाममा पीडित नभएकाले उपभोग गरेको सुविधा अविलम्ब फिर्ता गर्न जोड दिएको थियो । रासस 

प्रकाशित: ६ चैत्र २०७३ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App