८ वैशाख २०८१ शनिबार
समाज

'कर्मचारी हुन् कि बिचौलिया'

काठमाडौं- कहिले घुसखोरी, कहिले कर्मचारीको लापारबाही, कहिले कार्यालयको बेथिति लगायत विषयले चर्चामा आइरहने कार्यालय हो– यातायात व्यवस्था। सेवाग्राहीको उच्च चाप हुने उक्त कार्यालयमा  बेथितिको शृंखला अझै नरोकिएको पाइएको छ।

बुधबार राष्ट्रिय सतर्कता केन्द्रले कार्यालयको ललितपुर, एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र र साना ठूला सवारी बागमतीमा अनुगमन गरेको थियो। सतर्कताको टोली पुग्दा कार्यालयमा कर्मचारी हुन् कि बिचौलिया छुट्याउनै मुश्किल परेको टोलीमा सहभागी एक अधिकारीले बताए। कार्यालयका प्रमुखबाहेक ४२ जना कर्मचारी सरकारले निजामती कर्मचारीका लागि तोकिएको पोसाक नलगाई कार्यरत भेटिएका थिए ।

'कार्यालयका कर्मचारीले तोकिएको पोसाक नलगाउँदा को कर्मचारी, को बिचौलिया, को सेवाग्राही भन्ने छुट्याउन मुश्किल परेकाले सर्वसाधारण सेवाग्राहीमा द्विविधा उत्पन्न भई अनियमित कामलाई प्रोत्साहन हुने देखियो,' ती अधिकारीले भने, 'कर्मचारीले बिचौलियासँग साँठगाँठ गरी सेवाग्राहीलाई दुःख दिने सम्भावना देखियो।'

'निजामती कर्मचारीले कार्यालयमा काम गर्दा सरकारले तोकेको पोसाक अनिवार्य लगाउनुपर्ने नियम छ। सरकारले पोसाकका लागि कर्मचारीलाई भत्तासमेत उपलब्ध गराउँछ,'  सतर्कता केन्द्रका प्रवक्ता एवं सहसचिव विष्णुराज लामिछानेले भने, 'तर यायायातका कर्मचारीले उक्त नियम उल्लंघन गरेको पाइयो।' अनुगमनमा कार्यालयका ३ जना कर्मचारी बिनासूचना अनुपस्थित भएको पाइएको समेत उनले बताए। सो विषयमा सतर्कताले कार्यालय प्रमुख तेजनारायण यादवसँग स्पष्टिकरण मागेको छ। कार्यालय प्रमुख यादवले कार्यालयमा सुशासन कायम राख्न नसक्दा निजामती सेवा ऐनबमोजिम अनुशासनहीन काम भएको र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनमा व्यवस्था भएबमोजिमको काम, कर्तव्य र अधिकार पालना नभएको देखिएकाले ७ दिनभित्र केन्द्रमा स्पष्टिकरण पेस गर्न भनिएको छ।

प्रकाशित: ६ चैत्र २०७३ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App