१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साझामा आगो लगाउनेलाई सार्वजनिक मुद्दा

काठमाडौं– प्रहरीले शनिबार साझा यातायातको बसमा आगजनी गरेको आरोपमा पक्राउ गरेका एकजनालाई केही सार्वजनिक अपराध ऐन अनुसार कारवाही थालेको छ । महानगरीय प्रहरी वृत्त बालाजुले आगजनीको आरोपमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका काठमाडौं जिल्ला कमिटि सदस्य नुवकोट हल्दई कालिका गाबिसमा रजमान तामाङलाई पक्राउ गरेको हो ।

वृत्तका डिएसपी सन्तोष तामाङले घटनास्थलमा रहेका प्रत्यक्षदर्सीले बताएको हुलियाको आधारमा तामाङलाई सोमबार लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको बताए । उनले आगजनीमा संलग्न अन्यको खोजी र थप प्रमाण जुटेपछि अन्य मुद्दामा कारवाही हुनेगरि हाललाई सार्वजनिक अपराधमा काठमाडौं प्रशासनबाट पाँच दिन म्याद लिएर अनुसन्धान थालेको बताए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शनिबार बालाजु बाइपासमा रोकिराखेको  बा.४ ख ५६४८ नम्बरको साझा बसमा केही अपरिचत युवकले आगो लगाएका थिए । काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीका अनुसार साझा बसको यात्रु बनेर बस चढेका चारजनाले बालाजुमा बस रोकिनासाथ अचानक पेट्रोल छर्केर आगो लगाएका थिए । उनले प्रहरीले आगो निभाउन प्राथमिकता दिँदा उनीहरू भाग्न सफल भए । बसको भित्री भागमा मात्र क्षति भएको छ ।

साझा यातायातका सुपरभाइजर हरेराम मिश्रले विमानस्थल यात्रुलाई लक्षित गरी सञ्चालन गरिएको रुटमा चल्ने बसमा आगजनी भएको बताए । उनका अनुसार बालाजु बाइपासमा यात्रु झारेर केही समय रोकिएको बसमा मास्क लगाएका युवाले पेट्रोल छर्केर आगो लगाएका थिए ।

सरकारीभन्दा सामुदायिक प्रयासमा सञ्चालित साझा यातायातले मंसिर १२ पछि ३० नयाँसहित काठमाडौं उपत्यका र बाहिर गरी ४६ बसमार्फत सेवा दिँदै आएको छ । बन्दहडताल र आपत्कालीन अवस्थामा समेत सर्वसाधारणलाई निरन्तर सेवा दिँदै आएको साझा यातायातमा शनिबार भएको आगजनीको नागरिक समाज र सामाजिक सञ्जालमा व्यापक विरोध व्यक्त गरिएको छ । 

प्रकाशित: ३० फाल्गुन २०७३ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App