जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्दार सामाग्री प्राप्त भएको छ। प्राकृतिक विपदका लागि खोज तथा उद्दार गर्नका लागि सहजता प्रदान गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले शुक्रवार विपतका सामाग्री हस्तान्तरण गरेको हो।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलाई हस्तान्तरण गरेकी हुन्।
भरतपुर महानगरपालिकाले खोज तथा उद्दारमा प्रयोग हुने २२ प्रकारको सामान तथा औजार हस्तान्तरण गरेको हो। यी विपद् सामाग्रीरु ६ लाख ६६ हजार ३ सय ८३ रुपैयाँमा पर्ने महानगरपालिकाले जानकारी दिएको छ।
‘विपद्को दृष्टिकोणबाट उच्च जोखिममा रहेकाले खोज तथा उद्दार कार्यमा सहयोग पुराउन अति आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो,’ मेयर रेनु दाहालले भनिन्, ‘आगलागी र दुई ठुला नदीले बाढीको जोखिम रहेकाले यी सामाग्रीहरु खोज तथा उद्दारको कार्यमा सहयोग पुग्ने देखिएको छ।’ उनले आवश्यकताका आधारमा प्रहरीलाई सहयोग गर्दै जाने समेत बताइन्। महानगरको विपत व्यवस्थापनका लागि सम्वन्धित निकायसंग परामर्श गरेर अगाडि बढेको उनले जानकारी दिईन्।
भरतपुर महागनरपालिकाका केही वडामा प्रत्येक बर्ष जस्तै डुवान हुने गर्दछ। त्यस्तै यहाँ आगोलागिका घट्ना समेत हुने गर्दछन्। नारायणी नदीमा डुबेर मृत्युहुनेको संख्या पनि पछिल्ला समय बाक्लिँदै गएको छ। अर्को तर्फ यहाँ सवारी दुर्घटना पनि उत्तिकै मात्रामा हुने गरेका छन्। जसका कारण महानगरबासीलाई सुरक्षित राख्न महानगर सधै अग्रसर रहेको उनले बताईन्। यसैबीच खोता खोरमा उल्लेखिय कार्य गर्ने प्रहरीलाई महानगरपालिका प्रमुख रेनु दाहालले सम्मान समेत गरेकी छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले खोज तथा उद्दार समाग्री हस्तान्तरण गरी महानगरपालिकाले विपद्को कार्य गर्न सहयोग पुराएकोमा धन्यवाद व्यक्त गरेका थिए।
प्रकाशित: ५ जेष्ठ २०८० १२:४६ शुक्रबार