१६ चैत्र २०८० शुक्रबार
समाज

संकटमा तामा-पित्तल व्यवसाय

ललितपुर- ललितपुर पाटन क्षेत्रका ताम्राकार समुदायको तामा-पित्तल व्यवसाय पछिल्लो समय संकटमा परेको छ। परम्परागत सामानको माग घट्दै गएको र आधुनिक सामान भित्रिएकाले स्थानीयको पुर्ख्यौली पेसा संकटमा परेको हो।

नेपाल तामा–पित्तल व्यवसायी संघका महासचिव रविन्द्रराज ताम्राकारका अनुसार चार वर्षअघि तीन सयभन्दा बढी परिवार तामा र पित्तल व्यवसायमा आश्रित थिए। 'तर अहिले यो व्यवसायमा सयजना पनि छैनन्,' उनले भने।

अहिले खड्कुँलो, कसौंडी, डेक्चीलगायत विवाह, दाइजो र व्रतबन्धमा प्रयोग हुने भाँडाको माग हुन छाडेको छ। मदिरा बनाउन प्रयोग हुने भाँडाको भने माग बढेको व्यवसायीको भनाइ छ।

उनका अनुसार यो व्यवसायमा दक्ष कालिगडको पनि अभाव देखिएको छ। 'तामा–पित्तल व्यवसाय संकटमा पर्न थालेपछि दक्ष कालिगड सबै बिदेसिए,' महासचिव ताम्राकारले भने, 'आम्दानी नभए पनि पुर्ख्यौली व्यवसायलाई जेनतेन धानेका छौं।'

पछिल्लो समय परम्परागत भाँडा र विवाहका सामानको माग नहुँदा पनि तामा व्यवसाय धरापमा परेको हो। व्यवसायीका अनुसार तामा र पित्तलले बनेका सजावटका वस्तुको माग भने बढेको छ। 'पानस, बुट्टादार सामान, फुलदानीलगायतको अहिले बढी माग छ,' पाटन मंगलबजारमा २५ वर्षदेखि तामा–पित्तल व्यवसाय गर्दै आएका सञ्जयकुमार ताम्राकारले भने, 'तर, तामा र पित्तलले बनेका ठुल्ठूला सामान बिक्री नहुँदा यो व्यवसायबाट घरखर्च चलाउन मुस्किल परेको छ।'

पाटन मंगलबजारका अर्का व्यवसायी शम्भुगोविन्द ताम्राकार तामा–पित्तलको व्यवसाय कलाकारिताले भरिपूर्ण र दक्ष कामदारमाथि निर्भर रहेको बताउँछन्। 'पछिल्लो समय कालिगड नहुनु र बजार घट्नुले पुर्ख्यौली व्यवसाय धरापमा परेको छ,' उनले भने।

सिंगापुर, जापान, भारत, जमर्नी, टर्की लगायत देशबाट काँचो तामा र पित्तल आयात गर्ने व्यवसायी बताउँछन्। अहिले खड्कुँलो, कसौंडी, डेक्चीलगायत विवाह, दाइजो र व्रतबन्धमा प्रयोग हुने भाँडाको माग हुन छाडेको छ। मदिरा बनाउन प्रयोग हुने भाँडाको भने माग बढेको व्यवसायीको भनाइ छ।

'तामा र पित्तलका भाँडा प्रयोगले मानिसको स्वास्थ्यमा फाइदा गर्छ। प्रविधि र सजिला वैकल्पिक सामान उपलब्ध हुन थालेपछि भने परम्परागत सामानको प्रचलन हट्दै गएको छ,' व्यवसायी गोपाल ताम्राकारले भने। उनका अनुसार खासगरी आल्मोनियमका सामानको प्रयोग बढेकाले पुराना सामानको माग घटेको हो।

यो व्यवसाय सीपमा निर्भर पेसा भए पनि कर छुटको व्यवस्था नहुँदा व्यवसायी दोहोरो मर्कामा परेको संघका महासचिव ताम्राकारले बताए। 'कच्चा पदार्थका लागि धेरै कर तिर्नुपर्छ,' उनले भने, 'यदि राज्यले कर छुटको व्यवस्था लागू गर्ने हो भने व्यवसायीलाई सहज हुन्थ्यो।'

अहिले ताम्राकार र अन्य समुदायका गरी देशभर पाँच हजार हाराहारीमा तामा र पित्तल व्यवसायी रहेको उनले बताए। नयाँ पुस्ताले पुर्ख्यौली व्यवसायलाई आत्मसात् नगर्नु, दक्ष कालिगडको अभाव, साँघुरो बजार लगायत कारणले पछिल्लो समय तामा–पित्तल संकटमा परेको व्यवसायीको भनाइ छ।

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App