४ वैशाख २०८१ मंगलबार
समाज

नेपाली युवक ११ महिनादेखि साउदी जेलमा

इलाम–  वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका दानाबारी गाउँका एक युवक ११ महिनादेखि त्यहींको जेलमा कष्टप्रद जीवन बिताइरहेका छन् । उनले आफूलाई जेलबाट छुटाएर घर फर्काइदिन परिवारजनमार्फत सरकारलाई आग्रहसमेत गरेका छन् ।     

दानाबारी गाविस–३ शुक्रबारे बजारका २९ वर्षे प्रेमबहादुर राई साउदीको नदिम रियाद जेलमा रहेको उनका दाजु चक्रबहादुरले जानकारी दिए । सन् २०१२ मा साउदी पुगेका प्रेम घर आएर पुनः जनवरी २०१६ मा त्यही कम्पनीमा कामका लागि गएका थिए । उनी अल सहलावी कम्पनीको गाडी (लहरी) चलाउँथे । आफूले चलाएको गाडीमा रहेको केबलतार चोरी भएपछि उनी त्यसैको आरोपमा जेलजीवन बिताउन बाध्य भएका हुन् । 

‘जेलमा तिर्खा लागेका बेला पानीसमेत पिउन दिइएको छैन,’ भाइले आफूसँग पोखेको दुःख सुनाउँदै चक्रबहादुरले भने, ‘कम्पनीले गलत आरोप लगाएर जेलमा सडाइरहेको छ ।’ गाडीमा रहेको सामान लिएर जाँदै गर्दा १० किलोमिटर टाढा पुगेपछि गाडी रोकेर उनी साथी भेट्न गएका थिए । त्यहीबेला लहरीसहित तार चोरी भएको थियो । २ दिनपछि १० किमी टाढा रोमा भन्ने स्थानमा गाडी भेटिएपनि तार भने भेटिएन । यही आरोपमा उनले २ महिना कैद र ५० कोर्राको सजाय भोगिसकेका थिए । तर, घर फर्कने बेला पुनः कम्पनीले अर्को मुद्दा लगाएर विमानस्थलबाटै पक्राउ गराइ उनलाई ३ लाख रियाल (९५ लाख रुपैयाँ नेपाली) जरिमाना तोकेको छ । 

यो रकम तिर्ने उपाय नभएपछि राई ११ महिनायता जेलमै रहेको चक्रबहादुरले सुनाए । ‘अब भाइको घर फर्कने इच्छा त सपना मात्रै होलाजस्तो भएको छ,’ चक्रबहादुरले भने, ‘जेलमा दिनहुँ शारीरिक र मानसिक यातना सहन उनलाई निकै गाह्रो भइरहेको छ ।’ पीडित परिवारले उनको रिहाइका लागि पहल गरिदिन साउदीस्थित नेपाली दूतावासमा समेत आग्रह गरेको थियो । तर, अहिलेसम्म उनको कागजात लैजानेबाहेक केही सहयोग हुन नसकेको परिवारजनले बताएका छन् । 

दूतावासका इन्चार्ज आनन्दराज शर्मा र कानुन व्यवसायी विजयकुमार राउतलाई बारम्बार आग्रह गर्दा उनीहरूले राईको कागजात चाहिँ लगेका छन् । ‘यत्रो महिना भइसक्यो अहिलेसम्म कुनै काम नहुँदा भाइ जेलमै बस्न बाध्य छन्,’ चक्रबहादुरले भने, ‘सरकारले कुनै पहल गरिदिए हुन्थ्यो ।’ राई काठमाडौंको क्राउन इन्प्लोइमेन्ट प्रालिबाट लहरी ड्राइभिङमा साउदी गएका हुन् । आर्थिक अवस्था दयनीय रहेका राईको घरमा सुत्केरी पत्नी र वृद्ध आमा–बाबु मात्रै छन् ।

प्रकाशित: २१ फाल्गुन २०७३ ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App