coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माग साढे ३७ करोड लिटर, आपूर्ति नौ करोड लिटर

काठमाडौं- सुक्खायाम लागेसँगै उपत्यकामा खानेपानीको माग बढेको छ। तर खानेपानी आपूर्तिको जिम्मेवारी लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मागअनुसार आपूर्ति गर्न नसक्दा यसपटकको सुक्खायाममा पनि राजधानीमा खानेपानीको अभाव हुने भएको छ। 

काठमाडौं उपत्यकामा दैनिक खानेपानीको माग ३७ लाख ५० करोड लिटर छ।  केयुकेएलले दैनिक करिब नौ करोड लिटर पानी वितरण गर्दै आएको छ। नौ करोड लिटरमध्ये ४० प्रतिशत पानी चुहावटमै सकिन्छ। चुहावट रोक्न केयुकेएलले प्रभावकारी उपाय अवलम्बन गर्न सकेको छैन।

‘उपत्यकामा दैनिक ३७ करोड ५० लाख लिटर पानी माग छ,’ केयुकेएलका प्रवक्ता सुरेश आचार्यले भने, ‘मागको एक चौथाइमात्रै आपूर्ति हुँदै आएको छ।’ उनका अनुसार केयुकेएलले वितरण गर्ने पानीमा ४० प्रतिशत चुहावटमै सकिन्छ। ‘कमजोर व्यवस्थापनका कारण पानी अभाव भएको होइन’, आचार्यले भने, ‘पानीको स्रोत नभएपछि कसरी वितरण गर्नु?’

फागुन १ गते भएको केयुकेएलको वार्षिकोत्सव समारोहमा खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले केयुकेएलले पानी लुकाएको आशंका गरेका थिए। मन्त्री सिंहले खानेपानी वितरण तालिकासमेत नभएको भन्दै चुहावट र चोरीको बारेमा ध्यान दिन निर्देशन दिएका थिए।

पुसमा खानेपानी आपूर्ति असहज भएको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि केयुकेएललाई विभिन्न १७ बुँदे निर्देशन दिएका थिए। प्रधानमन्त्री दाहालले खानेपानी वितरणमा केयुकेएलको बदमासी औंल्याउँदै व्यवस्थापकीय सुधार र वितरण व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिएका थिए।

केयुकेएलका महाप्रबन्धक महेश भट्टराईले केयुकेएलले पानी नलुकाएको दाबी गरे। ‘केयुकेएलले लुकाएको छ भने खोजे भयो नि त?' उनले भने, ‘यहाँको पानीले पुग्छ भने करोडौं लगानी गरेर मेलम्चीको पानी किन ल्याउनुपर्‍यो?’

केयुकेएलले प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेको दाबी महाप्रबन्धक भट्टराईले गरे। उनका अनुसार चुहावट रोक्न, बक्यौता उठाउन र कर्मचारीलाई जिम्मेवारी बनाउन केयुकेएल लागिपरेको छ।

केयुकेएलका अनुसार उपत्यकामा संकलन केन्द्रमा जम्मा भएको पानी चारपाँच दिनको अन्तरमा वितरण भइरहेको छ। मागअनुसार पानी आपूर्ति नहुँदा सर्वसाधारण पानी किनेर प्रयोग गर्न बाध्य छन्। ‘धारामा पानी हप्ता दिनमा बल्लबल्ल आउँछ’, जोरपाटीका रमेश गिरीले भने, ‘धारामा थापेको पानीले त तीन दिन पनि पुग्दैन। जारको किनेर खानुपर्ने बाध्यता छ।’ पानीमा मासिक सात सय रुपैयाँ खर्च हुने गिरीले बताए।

सरकारले पानी उपलब्ध गराउन नसक्दा पानी व्यवसायी फस्टाएको छ। उपत्यकामा ट्यांकरमार्फत दैनिक पाँच करोड लिटर पानी किनबेच हुने गरेको छ।

व्यवसायीले ट्यांकरबाट पानी डेलिभरी गर्दा पाँच हजार लिटरको १६ सय रुपैयाँ, आठ हजार लिटरको दुई हजार दुई सय रुपैयाँ र १२ हजार लिटरको तीन हजार रुपैयाँ लिने गरेका छन्। पानीको माग बढेसँगै व्यवसायीले पानीको मूल्य बढाउने गरेको गुनासो सर्वसाधारणको छ।

ट्यांकटरसँगै जार तथा बोतलको पानीको बिक्री पनि उत्तिकै हुने गरेकेा छ। जारमार्फत दैनिक २० लाख लिटर र बोतलमार्फत करिब साढे दुई लाख लिटर पानी किनबेच हुने गरेको तथ्यांक व्यवसायीसँग छ।

प्रकाशित: २० फाल्गुन २०७३ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App