१ श्रावण २०७७ बिहीबार
समाज

मौलिक शैलीको पर्खामा बङ्मती

ललितपुर- करिब १३ सय घरधुरीको एउटा सुन्दर बस्ती, झिँगटी र इँटामाटोका एकनासका पुराना घर, बस्तीबीचमा रातो मछिन्द्रनाथ मन्दिर। अघिल्लो वर्ष भूकम्पले बस्ती छिन्नभिन्न पार्‍यो। धाँजा फाटेर जोडिएका घर चिराचिरा भए। भूकम्पमा खोसिएको ललितपुर बुङ्मतीको पुरानो रूप अझै फर्किएको छैन। स्थानीय चिन्तामा छन्, बुङमतीको परिचय कसरी फर्काउने? उनीहरू भूकम्पले चिराचिरा पारेको बस्तीलाई पुरानै स्वरूप दिएर सांस्कृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा चिनाउन चाहन्छन्।

सर्वसाधारण, नगरपालिका र राजनीतिक दलका नेता मिलेर बुुङमती 'नमुना बस्ती' लाई पुरानै र मौलिकता दिन  जुटेका छन्। बस्ती पुनर्निर्माणकै लागि भनेर २० भन्दा बढी इन्जिनियरलाई तालिम दिइसकिएको बुङ्मती पुनर्निर्माण समितिका अध्यक्ष प्रेमभक्त महर्जन बताउँछन्। उनका अनुसार बाक्लो बस्ती कसरी उठाउने भनरे स्थानीय र नगरपालिकासँग छलफल पनि चलिरहेको छ।

'पुनर्निर्माण गर्दा पुरानै र मौलिक शैली दिएर बुङमतीको सौन्दर्य फिर्ता गर्नुछ, अनिमात्र यसको अस्तित्व रहन्छ', बुङ्मतीका स्थानीय सन्तोष मालीले भने। भूकम्पले घर भत्काएपछि उनी अहिले टहरामा बस्दै आएका छन्। नयाँ घर कसरी बनाउने भनेर थाहा नभएको र नगरपालिकाले नक्सापास नगरिदिएकाले भरपर्दो बासको जोहो गर्न नसकेको गुनासो गरे। उनले भूकम्प प्रतिरोधी र पुरानै शैलीको घर कसरी बनाउने नगरपालिकाले स्थानीयलाई बुझाउन पनि माग राखे।

बुङ्मती क्षेत्रमा सात सय ६४ वटा घर भूकम्पले ध्वस्त छन्। करिब तीन सय धरघुरीमा क्षति पुगेको थियो। ती परिवार अहिले टहरामै छन्।

भूकम्पमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ २ गते बुङ्मतीबाट राष्ट्रिय पुनर्निर्माण महाभियान थालेका थिए। घरबास गुमाएकालाई बेलैमा सुरक्षित छानोभित्र लैजाने उद्देश्यले महाभियान घोषणा भएसँगै पीडित हर्षित भए। तर, वर्षदिन बितिसक्दा पनि उनीहरूको बास पालमै छ। 

महाभियान उद््घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले वैशाख १२ गतेसम्म ६० प्रतिशत पुनर्निर्माण काम भइसक्ने र सबैभन्दा पहिलो बुङ्मती क्षेत्रका सम्पदा र घर प्राथमिकतामा राखिने आश्वासन दिएका थिए।

महाभियान थालनी गरिएको बुङ्मतीकै स्थानीय ढुक्कले निदाउन सकेका छैनन्। बरु झुप्रोमा बसिरहेका स्थानीय भरपर्दो बासको जोहो गर्न आतुर छन्।

बुङ्मतीमा राजा मानदेवको पालामा सन् ६०७ ताका बस्ती बसेको इतिहास रहेको एकीकृत सहरी विकास केन्द्र (सिआइयुडी) का अध्यक्ष पुष्करलाल श्रेष्ठ बताउँछन्। उनी भन्छन्, 'यो बस्ती प्राचीन र मौलिक भएकाले पुरानै ढाँचामा संरचना बनाउनुपर्छ, त्यसैले पुनर्निर्माणमा सावधानी अपनाउन जरुरी छ।'

००

पुरानै शैलीमा उठ्दै खाकना

भूकम्पले क्षतिग्रस्त खोकना र बुङमती दुवै बस्ती मौलिकता बोकेका नेवारी बस्ती हुन्। नौ सय घरधुरी रहेको खोकनामा आठ सय घरधुरीमा भूकम्पबाट क्षति पुगेको खोकना पुनर्निर्माण तथा पुनर्स्थापना समितिका अध्यक्ष श्याम महर्जनले जानकारी दिए। 'खोकना आफ्नै मौलिकता भएको प्राचीन बस्ती हो,' उनले भने, 'यो बस्ती पर्यटक आकर्षणको केन्द्र हो।'

उनका अनुसार समितिले बस्ती पुनर्निर्माणका लागि स्थानीय मिलेर इँटा, झिंगटी, काठलगायत सामान जुटाउने कार्य गरिरहेको छ।

सहरका भित्री बाक्ला बस्तीमा पुरानै नक्सा भए पुग्ने प्रावधान राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पास गरिसकेको छ। 'खोकना र बुङ्मती दुवै लालपुर्जा र नक्सापासविहीन बस्ती हुन्,' समितिका अध्यक्ष महर्जनले भने, 'यहाँ पुरानै शैलीअनुसारको बस्ती बसाल्न प्राधिकरणले छुट पनि दिएको छ।'

उनले बस्ती पुनर्निर्माणका लागि पुरानै शैलीको नक्सा बनाउने कार्य भइरहेको बताए।

खोकना र बुङ्मती पुनर्निर्माणका लागि भारतीय दूतावासले आर्थिक सहयोग गर्न लागेको समितिले जनाएको छ।

कार्यविनायक नगरपालिका प्रमुख लक्ष्मी गौतम पाण्डेले खोकना र बुङ्मती एकै विशेषता भएका नेवारी बस्ती पुनर्निर्माणमा संयमता अपनाउनुपर्ने बताइन्। 'यी बस्तीलाई नमुना बस्तीका रूपमा पुनर्निर्माण गर्ने हो भने पर्यटकीय मार्गको प्रशस्त सम्भावना छ', उनले भनिन्, 'समुदायबाट हुन लागेको बस्ती पुनर्निर्माणमा आवश्यक सहयोग नगरपालिकाले गर्छ।'

प्रकाशित: २० फाल्गुन २०७३ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App