२३ असार २०७७ मंगलबार
समाज

माझीले नदीको सम्मान गरे लदीपूजा

काठमाडौं-‘हरेकपटक डुंगा चलाउनु र जाल हान्नुअघि पानीको भगवान्लाई प्रार्थना गरिन्छ,’ रामेछाप मन्थली– १६ का बालकृष्ण माझी भन्छन्, ‘पानीको पूजा गर्नु हाम्रो धर्म हो।’

नदी र माझी, नदीलाई माझीले बुझेको, चिनेको वा पुजेको कसले होला ? नदीमा माझीको जीवन छ, किनकि नदीमा माझीको जीविका छ । माछा मार्दै अनि डुंगा चलाउँदै जीविका चलाउनु माझीको पुख्र्याैली पेसा हो।

नदीसँगै खेल्दै–जुध्दै जिउने भएकाले माझीहरू खोला–नदीलाई ईश्वरजस्तै सम्मान गर्छन् ।

आधुनिकतासँगै माझीको परम्परागत पेसा पछिल्लो समय लोप हुन लागेको छ । सन्तबहादुर माझी भन्छन्, ‘नदीमाथि झोलुंगे र गाडी गुड्ने पुल बन्दा हाम्रो पेसागत सरसामान थन्किएको छ ।’

पुख्र्याैली पेसा संकटमा परे पनि माझीहरु परम्परा भने बिर्सेका छैनन् । उनीहरु हरेक वर्ष फागुनमा नदी वा खोलाको सामूहिक पूजा गर्छन् । ‘फागुनको साहिँली मंगलबार हामी नदीको सम्मान गर्दै पूजा गर्छाैं। जसलाई लदी पूजा भनिन्छ,’ सन्तबहादुरले भने ।

फागुनको तेस्रो मंगलबारलाई माझीहरु साहिँली मंगलबार भन्छन् । यसपालि मंगलबार देशभरका माझी समुदायले लदीपूजा ग¥यो । ‘लदीपूजा हाम्रा लागि सबैभन्दा ठूलो पर्व हो,’ सन्तबहादुरले भने ।

लदीपूजाको मुख्य उद्देश्य वर्षभरि नदीमा डुंगा चलाउँदा अनि जाल हान्दा आफूहरुलाई हानि नपुगोस् भनेर देवीदेवतासँग प्रार्थना गर्नु हो । ‘३३ कोटी देवता भाँकी नदी किनारमै पूजा गर्छाैं,’ सन्तबहादुर भन्छन् ।

पूजामा विभिन्न सामग्रीसँगै माझीले प्रयोग गर्ने डुंगा, जालजस्ता औजारको पनि पूजा गरिने उनले बताए । उनका अनुसार पूजामा पाठी र बोका बलि दिने चलन छ ।

लदीपूजाको नेतृत्व गर्ने पुजारीलाई म्हझे भनिन्छ । फागुनको साहिँली शनिबार माझी समुदायको म्हझे चुन्ने दिन पनि हो । समुदायका मानिस सबै जम्मा भएर म्हझे सभा गरिन्छ । सभाबाट चुनिएका म्हझेले अर्काे वर्षको लदीपूजा गर्ने सन्तबहादुरले बताए ।

लदीपूजालाई घाटपूजा, कोसीपूजा, नदीपूजा तथा जलपूजा समेत भन्ने गरिएको छ । नदीमा डुंगा चलाउने निश्चित स्थान  तोकिएको हुन्छ । ‘जहाँसुकैबाट डुंगा तर्न नहुने हाम्रो विश्वास छ । घाट तर्न निश्चित गरिएकै ठाउँमा पूजा गरिन्छ,’ नेपाल माझी उत्थान संघकी उपाध्यक्ष चिनीमाया माझीले भनिन्, ‘त्यसैले यसलाई घाटपूजा पनि भनिएको हो।’ तामाकोसी, सुनकोसी र दूधकोसीका किनारमा धेरै बसोबास गर्नेले लदीपूजालाई कोसी पूजा भन्छन्।

यसपालिको लदीपूजा

यसपालि देशभरका माझी समुदायले विभिन्न नदी किनारमा मंगलबार बिहान लदीपूजा गरे । काठमाडौंमा रहेका माझीले मूलपानीको मनहरा किनारमा पूजा गरे भने म्हझे  हर्कबहादुर माझीले पूजाको नेतृत्व गरे। नेपाल माझी उत्थान संघले काठमाडौंको शंखपार्कमा लदीपूजाको नमुना पनि प्रदर्शन ग¥यो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले शंखपार्कमा बनाइएको नमुना पूजा अवलोकन गरे ।

कार्यक्रममा संघकी उपाध्यक्ष माझीले माझीको लदीपूजालाई राष्ट्रिय पर्वको रुपमा सूचीकृत गर्न माग गरिन्। ‘विगत ६–७ वर्षदेखि नै लदीपूजालाई राष्ट्रिय पर्वमा सूचीकृत गराउन हामीले पहल गरिरहेका छौं तर राजनीतिक पहुँच बलियो नहुँदा सूचीकृत हुन सकेको छैन,’ उनले भनिन् ।

राज्यमन्त्री बानियाँले लदीपूजालाई राष्ट्रिय पर्वमा सूचीकृत गराउन आफूले प्रयास गर्ने बताए।

माझी जाति नेपालका आदिवासी जनजातिको सूचीमा अति सीमान्तीकृत सूचीमा परेको जाति हो । ०६८ को राष्ट्रिय जनगणनाअनुसार यो जातिको जनसंख्या ८३ हजार सात सय २७ रहेको छ । जसमध्ये २४ हजार चार सय ४२ ले मातृमाषा माझी बोल्छन्।

 

प्रकाशित: १८ फाल्गुन २०७३ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App