१६ चैत्र २०८० शुक्रबार
समाज

महिला हिंसाका आरोपी समात्न प्रहरी उदासिन

रौतहट- महिला हिँसामा संलग्न रहेकोमाथि किटानी जाहेरी दिँदा पनि पक्राउ गर्न रौतहट प्रहरी उदासिन रहेको देखिएको छ। घाँस काटेर घर फर्किरहेकी मत्सरी गाविसकी एक महिलालाई निर्घात कुटपिट गरी घाईते बनाउँदा न्यायका लागि महिला तथा बालबालिका सेवा केन्द्र गरुडा रौतहटलाई गुहारेको चार दिन वितिसक्दा पनि पीडकलाई प्रहरीले समात्न सकेको छैन।

मत्सरी गाविस ७ का अशर्फी भगतकी ३५ बर्षिया चम्पा देवी भगत पशु चौपायाको लागि गत शनिवार घाँस काटेर घरतिर आउने क्रममा खेतको आलीमा बसेर पिसाव गर्न लाग्दा गंगापिपरा गाविस २ का खेतधनी राकेश सिंहले निर्घात कुटपिट गरी मरणासन्न बनाए। विनाकसुर निर्घात कुटपिट गरेकोमा पीडित पक्षले महिला तथा बाल बालिका सेवा केन्द्र गरुडामा किटानी उजुरी गर्दा समेत प्रहरीले पक्राउ नगरेको आक्रोश पोखे।

सेवा केन्द्रमा गाविसका पचासौं जना महिलाहरु सिंहको ज्यादतीका विरुद्ध जाँदा त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरु कुनै वास्ता नगर्दा संचारकर्मीहरुलाई गुहारेपछि बल्ल प्रहरीले केसफारम उठाई अस्पताल जाँच गराउन आदेश दिएको पीडित महिलाका श्रीमान अशर्फी भगतले बताए।

रौतहट प्रहरीका एसपी यज्ञविनोद पोखरेलले महिलालाई चरम यातना दिए लगत्तै आरोपित सिंह फरार भएकोमा निजको तिव्र रुपमा प्रहरीले खोजतलास गरिरहेको बताए। उनले पीडित महिलालाई अस्पताल जाँच गराएर कानुनी प्रक्रिया अगाडी बढाइसकेको जानकारी दिए। फरार रहेका सिंहलाई चाँडै नै प्रहरी पक्राउ गरी कानुनी कारबाही चलाउन मातहतका निकायलाई निर्देशन दिइसकेको बताए।

प्रकाशित: १० फाल्गुन २०७३ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App