७ वैशाख २०८१ शुक्रबार
समाज

सार्वजनिक सवारीमा प्रहरी परिचालन

ललितपुर- महानगरीय प्रहरी परिसर जावलाखेलले ललितपुरका मुख्य सडक हुँदै चल्ने सार्वजनिक सवारी साधनमा प्रहरी खटाएको छ। बढी भाडा असुल्ने, यात्रुमाथि दुर्व्यवहार गर्ने, बालश्रमिक राख्ने चालक तथा सवारीधनीलाई कारबाही गर्न बिहीबारदेखि प्रहरीले सार्वजनिक सवारी प्रहरी परिचालन गरेको हो।

'सार्वजनिक सवारीमा प्रयोग भएका बालबालिकालाई उद्धार गर्ने उद्देश्यले यस्तो निगरानी थालेका हौँ,' महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी अशोक सिंहले भने, 'बढी भाडा लिएको, चालक र सहचालकले यात्रुलाई दुर्व्यवहार गरेको गुनासो पनि आएको छ।'

सार्वजनिक सवारीमा लक्षित वर्गका लागि सिट छुट्याइएको छ/छैन भन्ने पनि प्रहरीले अनुगमन गर्ने उनले बताए।

लगनखेल–रत्नपार्क, सातदोबाटो–गोदावरी, लगनखेल–बालकुमारी, लगनखेल–भक्तपुर, बाडेगाउँ–लगनखेल, सानेपा, चापागाउँलगायत रुट चल्ने मिनिबस र ठूला बसको अघिल्लो सिटमा प्रहरी खटाइएको छ।

यसरी अनुगमन गर्न बसेको प्रहरीले गल्ती गर्ने चालक र सवारीधनीलाई कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाउनेछ। 'अहिले ललितपुर हुँदै चल्ने सवारीमा दिनहुँ ६० बढी प्रहरी खटाइएको छ,' सिंहले भने, 'हामीले यसलाई अभियानका रुपमा थालेका छौं। पालैपालो प्रत्येक रुटमा प्रहरी परिचालन गरी सार्वजनिक सवारीमा प्रयोग भएका बालश्रमिक हटाउँछौं।'

उनका अनुसार  प्रहरी परिचालन गरेको चार दिनमै बढी भाडा लिने, यात्रुलाई अभद्र व्यवहार गर्ने ३० भन्दा बढी सार्वजनिक सवारीमाथि कारबाही भएको छ। त्यस्तै, पाँचभन्दा बढी सवारीमा बालश्रमिक भेटिएको र उनीहरुलाई आफ्न्त र बालगृहको जिम्मामा लगाइएको प्रहरीको भनाइ छ।

'खासगरी बिहान र बेलुकी सवारीमा धेरै प्रहरी परिचालन गरेका छौं,' एसपी सिंहले भने, 'यातायात र ट्राफिक प्रहरीसँग मिलेर यस्तो कार्य थालेका हौं।'

प्रकाशित: ९ फाल्गुन २०७३ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App