१३ जेष्ठ २०७७ मंगलबार
समाज

व्यवस्था फेरिए अवस्था उस्तै

भक्तपुर- २००७ फागुन ७ गते देशमा प्रजातन्त्र आउँदा थिमी पाचोका श्रीगोपाल प्रजापति माटाका भाँडा बनाउने चक्र घुमाउँदै थिए। भाँडा बनाउने पुर्ख्यौली पेसा भएको परिवारका उनीमा त्यति राजनीतिक चेत थिएन, तर २२ वर्षे जवान उनी राजा त्रिभुवन शाहको स्वागत गर्न दौँतरीसँगै गौचरन (त्रिभुवन विमानस्थल) पुगे।

नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले एक सय चार वर्षीय जहानियाँ राणाशासनको अन्त्य गरेको थियो। भारतमा निर्वासित राजा त्रिभुवन देश फर्केका थिए। प्रजातन्त्र र राजाको स्वागत गर्न वागमती नदी पौडिएर विमानस्थल पुगेको सम्झना ताजै छ, उनलाई।

राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गरेसँगै राणा र नेपाली कांग्रेस सम्मिलित प्रजातान्त्रिक सरकार आयो। प्रजातन्त्र आएपछि जीवनमा परिवर्तन हुने उनको विश्वास थियो।

यही विश्वास बोकेर उनी नियमित रुपमा काममा लागे। सांस्कृतिक नाचगानमा उनको सानैदेखि रुचि थियो। चक्र र नृत्यको तालमा उनको जीवन अगाडि बढ्यो। उनी ताल मिलाएर नाच्थे, अनि राम्रा आकृतिका माटाका भाँडा बनाउँथे। चक्र चलाउँदै माटालाई आकार दिँदै गरेका उनले प्रजातन्त्रपछि देशले नयाँ स्वरुप पाउने आशा थियो। यही आशा बोकेर उनी त्यसपछिका स–साना परिवर्तनका विभिन्न आयाम नियाल्दै गए।

सात सालको प्रजातान्त्रिक आन्दोलन हेरेका उनले ०१७ सालमा राजा महेन्द्रले शासन हत्याएदेखि पूर्वी नेपालमा भएका झापा आन्दोलन, ०४६ को जनआन्दोलन, ०५२ को जनयुद्ध अनि ०६२/६३ को लोकतान्त्रिक आन्दोलन समेत देखे। राजनीतिक परिवर्तनलाई चक्रको चालसँगै नियाल्दै गए। उनले थुप्रै सामग्री बनाए, तर मुलुकले खासै प्रगति गरेन।

प्रजातन्त्रको आगमनसँगै राजा त्रिुभवनलाई स्वागत गरेका उनले ०१७ मा तिनै राजाका सन्तानले लोकतन्त्र मासेको उनलाई अनौठो लाग्यो। उनी चक्र चलाउँदै मौन रहे। विरोध पनि गरेनन्, स्वागत पनि गरेनन्। यहीबीचमा उनी चक्र चलाउन छाडेर राजनीतिमा हामफाले। राजनीतिको किनारमा बसेर अरुलाई केही भन्नुभन्दा राजनीतिमा आएर समाजको केही परिवर्तन गर्न सकिन्छ कि भन्ने उनमा विश्वास थियो। ०१८ मा वडा अध्यक्ष बने। ०२० मा भीमसेन गाउँ पञ्चायतका प्रधानपञ्च बने। करिब १३ वर्षसम्म काम गरे। तर, उनले सोचेजस्तो परिवर्तन महसुस गर्न सकेनन्। उनले राजनीति पनि त्यागिदिए।

उनले राजनीतिमा भन्दा आफ्नो कर्ममा बढी ध्यान दिए। परम्परागत भाँडा बनाउने पेसाले राम्रो जीविकोपार्जन हुन नसकेपछि उनले अन्य व्यवसाय गरे। त्यसले उनको प्रगति पनि भयो। नाचगानको सोख रगतमै थियो, उनी त्यसको उत्थानमा पनि लागिरहे।

प्रजातन्त्रले केही नगरे पनि यसको उत्सव मनाउन उनले छाडेनन्। ०३६ सालपछि उनी हरेक वर्ष टुँडिखेलमा हुने समारोहमा नाच टोली लिएर पुग्थे। कहिले महाकाली नृत्य कहिले भैरवनाच। कहिले अष्टमात्रिका त कहिले भष्मासुर। उनले जीवनमा विभिन्न भेषमा नाच नाचे। पछिल्ला केही वर्षयता प्रजातन्त्र दिवस मनाउन छाडिएको छ। त्यसैले उनी उत्सवमा जान पनि छाडिदिए। 'तन्त्र फेरिए, तर मन्त्र उस्तै रह्यो,' उनले थप व्याख्या गरे, 'व्यवस्था फेरिए पनि मै खाउँ भन्ने धारणा नेतामा फेरिएन।' नेताको यो चालाले सर्वसाधारणको स्थितिमा परिवर्तन नआएको उनको गुनासो छ।

प्रजापतिको कुरामा सही थाप्छन्, थिमी बालकुमारीका ८६ वर्षीय लक्ष्मीलाल कायस्थ पनि। उनी पनि प्रजातन्त्रको घोषणा हुँदा लसुन रोप्दै थिए। घरमा आएपछि देशमा प्रजातन्त्र आएको उनले सुने। प्रजातन्त्र आएपछि देश र जनताको अवस्था फेरिने उनले सुने। तर उनले सुनेको कुरा कहिल्यै साँचो लागेन।

राणा परिवारको ठाँट देखेका उनले प्रजातन्त्र आएपछि जनताको जीवन पनि बदलिने आशामा थिए। उनले यस्तै हल्ला पनि सुनेका थिए।

'न हाम्रो काम फेरियो, न त हाम्रो स्थिति फेरियो,' उनले भने, 'जस्तो हाम्रो पुर्खाको अवस्था थियो, हाम्रो पनि त्यस्तै रह्यो।'

खेती किसानीमा मल तथा विउबिजनको समस्या पहिले पनि उस्तै रहेको र अहिले पनि उस्तै रहेको उनले सुनाए। 'पैसा भए केही सजिलो हुने रहेछ,' उनले भने, 'नभए जुन व्यवस्था आए पनि जनताको पीडा उस्तै हुँदो रहेछ।'

उनीसँगै बालकुमारी मन्दिरमा रहेका झन्डै एक दर्जन वृद्धले व्यवस्था परिवर्तनले जीवनमा खासै प्रभाव नपारेको सुनाए। सात सालमा जवान रहेका थुप्रै वृद्ध भक्तपुरका विभिन्न चोक तथा पाटीमा भेटिए। उनीहरु सबैको भनाइ श्रीगोपाल र लक्ष्मीलालको जस्तै रह्यो। उनीहरुमध्ये धेरैले प्रजातन्त्रबाट आशा राखेका थिए। कतिलाई त प्रजातन्त्र आएको र नआएको समेत पत्तो थिएन।

परिवर्तनपिच्छे केही आशा बढेको तर केही समयमै निराशामा परिणत भएको उनीहरुले सुनाए। 'अब के परिवर्तन होला र मुलुकको राम्रो होला?' दौतरीसँग पाटीमा गफिएका ८४ वर्षीय अष्टमान श्रेष्ठले भने, 'जीवनभरि व्यवस्था बदलिएको मात्रै हेरियो, 'उनले भने, 'तर व्यवस्थाले जीवन कहिल्यै बदलिएन।'

प्रकाशित: ७ फाल्गुन २०७३ १२:१३ शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App