१६ चैत्र २०८० शुक्रबार
समाज

१२ वर्षीया बालिकालाई २२ वर्षकाले विवाह गर्न खोजेपछि...

सिन्धुली- यहाँकी एक बालिकाको विवाहको अन्तिम तयारीपछि रोकिएको छ। जिल्लाको बेलघारी गाविस चिसापानी बस्ने १२ वर्षीय बालिकाको अन्तिम तयारीमा रहेको विवाह बालविवाह भन्दै स्थानीयले रद्ध गरिदिएका हुन्।

१२ वर्षीय बालिकाको रानीचुरी गाविस २ बेसारेका २२ वर्षीय कनक कार्कीबीच हुन लागेपछि स्थानिय किशोरी समूहले त्यसको विरोध गर्दै विवाह रोकिएदिएका हुन्।

बेलघारीकै चन्द्रावती माध्यमिक विद्यालयको कक्षा ६ मा अध्यनरत बालिकालाई पत्तै नदिई मावलीपक्षले विवाहको अन्तिम तयारी गरेको किशोरी क्लबले जनाएको छ। क्लबका अनुसार धनुषा स्थायी घर भएकी बालिका मावली बस्दै आएकी थिइन्।

सामान्य टीकाटाला गरी विवाह गर्ने तयारी भएपछि केही आफन्त मान्यजनसहित बेहुला पक्ष बालिका विवाह गर्न पुगेपछि नागरिक सचेतना केन्द्र र किशोरी क्लबसहित स्थानियको सहयोगमा विवाह रोकिएको स्थानीय सबिता बरालले जानकारी दिइन्।

बालिकाको विवाह गर्नका लागि मावली पूर्ण तयारीका साथ बसेपछि केटा पक्ष आफन्तसहित पुगेको भए पनि केटा पक्षलाई फकाइदिएको उनको भनाइ छ। बाल विवाहबाट हुने नकरात्मक असर र कानुनी प्रावधानको बारेमा किशोरी क्लबका पदाधिकारीले जानकारी गराएपछि मावली विवाह रोक्न मञ्जुर भएपछि विवाह रोकिएको हो। विवाह रोकिएपछि बेहुलासहित उनका आफन्तहरु बेहुली नलिई रित्तै फर्किएका थिए।

बालबालिकाको क्षेत्रमा काम गर्ने कयौं एनजिओ आइएनजिओ भए पनि तिनीहरुबाट खासै उपलब्धिमूलक काम हुन नसक्दा सिन्धुलीका विकट क्षेत्रमा अझै बालविवाह गर्ने परम्परा छ।

सामान्यतया छोरी मान्छेको रजस्वला हुनेवितिकै परिवार तथा अभिभावकले विवाहका लागि तत्परता देखाउँदा बालविवाह नरोकिएको हो। बालबालिकाको परिवार तथा अभिभावकलाई सचेत गराउन नसक्दा जिल्लाका विकट गाँउमा यस्तो समस्या आएको एक किशोरी बताउँछिन्।

'बालविवाह गरे तथा बालबालिकाको अन्य घट्नामा पनि कानुनी उपचार खोज्नुभन्दा मेलमिलाप गराउनेतर्फ स्थानीय लाग्छन् त्यसैले यस्तो नकरात्मक कामले प्रशय सधैं पाएको हुन्छ,' ती किशोरीले भनिन्, 'एनजिओ आइएनजिओको बालबालिकाको रकम बालुवामा पानीझैँ भएको छ। उपलब्ध न्यूनमात्र छ।'

प्रकाशित: २८ माघ २०७३ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App