२४ असार २०७७ बुधबार
समाज

अवसरले आत्मनिर्भर बन्दै सडक बालबालिका

काठमाडौं- धादिङकी सिर्जना दुलाल (नाम परिवर्तन) ले ११ वर्षमा आमा गुमाइन्। बाबुले दोस्रो बिहे गरे। सौतेनी आमाको हेलाका कारण उनी १२ वर्षको उमेरमा भागेर काठमाडौं आइन्। वसन्तपुर संकटा मन्दिरनजिकै एक होटलमा काम गरिन्। तीन महिनापछि घर फर्केकी उनलाई सहरको रमाइलोले छोइसकेको थियो। गाउँकै दिदी पर्नेको पैसा चोरेर उनी पुनः काठमाडौं आइन्।

कामको खोजीमा रहेकी उनको सम्पर्क सडक बालबालिकासँग भयो। उनी पनि सडकमै बस्न थालिन्। एक–डेढ वर्षको सडक बसाइपछि उनी चुरोट, गाँजालगायत लागू पदार्थ सेवन गर्ने र जीविकाका लागि साथीहरुमार्फत यौनकर्मी पनि बन्न पुगिन्। यही क्रममा उनको भेट अजित श्रेष्ठ (नाम परिवर्तन) सँग भयो। उनीहरुबीच मायाप्रेम बस्यो र विवाह भयो। १६ वर्षको उमेरमै उनले छोरीलाई जन्म दिइन्। श्रीमान्सँग सुन्दर सम्बन्ध हुन सकेन र फेरि उनी सडकमै पुगिन्। सडकबाटै जीविकाका लागि यौन पेसा अपनाइरहेकी उनलाई गत असोजमा केन्द्रीय बाल कल्याण समितिले उद्धार गरी पुनर्स्थापना केन्द्र पुर्‍यायो। तीन महिना केन्द्रमा बसेपछि सबै कुलत छाडेर उनी परिवारको सम्पर्कमा गइन् ।

केन्द्रीय बाल कल्याण समितिको आर्थिक सहयोगमा अहिले उनी सानो व्यापार गर्छिन्। मासिक पाँच–छ हजार रुपैयाँसम्म आम्दानी गर्छिन्। 'अब आफन्त तथा संस्थाको सहयोगमा नागरिकता बनाउँछु र ब्युटिपार्लर सिक्ने सोचमा छु,' उनले भनिन्।

उनकी छोरीलाई समितिले बालमन्दिरमा राखिदिएको छ। छोरीको भविष्यका लागि पनि आफू आत्मनिर्भर हुनुपर्ने उनी बताउँछिन्।

०००

ओखलढुंगाकी नविना (नाम परिवर्तन) बाबुआमासँगै काठमाडौं शंखमूलमा बस्थिन्। गरिब परिवारकी उनी १० वर्षको उमेरदेखि सडक बालबालिकाको संगतमा पुगिन्। त्यसपछि उनी परिवारदेखि भागेर साथीहरुसँग सडकमै बस्न थालिन्। यसबीचमा उनी चुरोट खाने तथा कबाडी सामान बटुल्ने गरिन। वर्ष दिनजति सडकमा बसेपछि उनलाई एउटा गैरसरकारी संस्थाले उद्धार गरेर बालगृहमा राख्यो।

बालगृहमार्फत उनले सात कक्षासम्म अध्ययन पनि गरिन्। मार्सल आर्ट पनि सिकिन्। बालगृहमा सँगै बस्ने राजेश (नाम परिवर्तन)सँग मायाप्रेम बस्यो। त्यसपछि उनीहरु बालगृहबाट भागेर बिहे गरे। केही समय परिवारको सम्पर्कमा पुगेका उनीहरुले बच्चा जन्माए। परिवारले भने राम्रो व्यवहार गरेन। त्यसपछि पुनः उनीहरुको बास सडकमै भयो। पछि उनीहरु केन्द्रीय बालकल्याण समितिको सम्पर्कमा आए।

नांलो व्यापार गर्ने इच्छा व्यक्त गरेकी १७ वर्षीया नविनालाई समितिले १० हजार आर्थिक सहयोग गर्‍यो। अहिले नांलो पसलबाट मासिक सात–आठ हजार रुपैयाँसम्म आम्दानी गर्ने र डेरामा बस्ने गरेको उनी बताउँछिन्

'चोकमा नांलो पसल गरेर छोरीलाई हुर्काउँदै छु,' उनले भनिन्, 'बिस्तारै सटर लिएर व्यापार गर्ने सोचमा छु।'

यस्तै, सानै उमेरमा अभिभावक गुमाएका सिन्धुपाल्चोकका राजेश शर्मा (नाम परिवर्तन) पनि लामो समय सडकमा बसे। कुलतमा फसेका उनलाई गत जेठ ४ मा समितिले उद्धार गर्‍यो।

प्लम्बिङको तालिम लिएका उनले अहिले चावहिलको मित्रपार्कस्थित एउटा निजी संस्थामा काम गर्छन्।  'मासिक १० हजार पारिश्रमिक पाउँछु,' उनले भने, 'अब मेहनत गरी भविष्य बनाउने योजनामा छु।'

सिर्जना, नविना तथा राजेशजस्तै थुप्रै सडक बालबालिका  उद्धारपछि व्यावसायिक तालिम लिएर आत्मनिर्भर बन्दै छन्।

सरकारले काठमाडौं उपत्यकाबाट सडक बालबालिका मुक्त गर्ने अभियान सुरु गरेपछि गत वैशाखयता झन्डै पाँच सय सडक बालबालिकाको उद्धार भएको छ।

समिति निर्देशक तारक धिताल उद्धार गरी परामर्श र तालिम दिएपछि बालबालिका सामाजिकीकरण, आत्मनिर्भर बनेको बताउँछन्।

'उद्धार गरिएका बालबालिकालाई केही समयसम्म परामर्शमार्फत सही बाटोमा ल्याउने प्रयत्न गरिन्छ,' उनले भने।

उपत्यकाबाट सुरु भएको यो अभियान देशैभरि विस्तार गरिने धितालले बताए। सरकारले सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन  मार्गदर्शन– ०७२ स्वीकृत गरेसँगै उपत्यकाबाट बालबालिकाको उद्धारसम्बन्धी  अभियान सुरु भएको थियो।

प्रकाशित: २५ माघ २०७३ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App