८ वैशाख २०८१ शनिबार
समाज

विद्यालय हाताबाटै मदिरा विक्री

सुर्खेत-वीरेन्द्रनगर–६ स्थित नेपाल राष्ट्रिय माविले २६ वटा कोठा (सटर) व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ। व्यवसायीहरुसँगको संझौतामा मदिरा र सूर्तिजन्य पदार्थ विक्री–वितरण नगर्ने उल्लेख छ। तर, २६ मध्ये पाँच वटाले संझौता उलंघन गर्दै मदिरा र सूर्तिजन्य पदार्थ विक्री गरिरहेका छन्। ति मध्ये अधिकांसले व्यवसाय गर्नका लागि कर कार्यालयलगायतका निकायबाट स्वीकृति पनि लिएका छैनन्।

नजिकैको जन माविको ६४ नम्वर पसलमा मदिरा पसल सञ्चालनमा छ । दैलेखी कोल्ड सेन्टरका नामबाट सञ्चालित सो पसलले पनि न सरकारी अनुमति लिएको छ, न विद्यालयसँग भएको संझौताको पालना नै गरेको छ। कानुनले विद्यालय र स्वास्थ्य संस्थाको हातादेखि एक सय मिटरसम्म मदिरा र सूर्तिजन्य पदार्थ विक्री–वितरणमा प्रतिवन्ध लगाएको छ । तर, विद्यालय हाताभित्रैका पसलहरुले कानुन विपरित मदिरा र सूर्तिजन्य पदार्थहरु विक्री–वितरण गरिरहेका छन्।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने जिल्ला स्तरीय समितिले शुक्रबार वीरेन्द्रनगरका तीन वटा विद्यालय हाताभित्रका पसलमा गरेको अनुगमनमा कसैले पनि कानुनको पालना गरेको देखिएन्। ‘तीन वटा विद्यालयका १६ पसलमा अनुगमन गर्दा १० वटाले त मदिरा विक्री–वितरण गरेको पाइयो’ अनुगमन समितिका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भने, ‘बाँकी पसलहरुबाट सूर्तिजन्य पदार्थ नियन्त्रणमा लियौं।’ समितिले जन मावि, नेरा माविका साथै श्रीकृष्ण संस्कृत तथा साधारण माविको अनुगमन गरेको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानलेले एक साताभित्र स्कूल हाताभित्रका मदिरा पसल बन्द गर्न निर्देशन दिइएको बताए। यस्तै स्कूल हाताभित्रका होटललाई पनि मदिरा र सूर्तिजन्य पदार्थ विक्री–वितरण नगर्न निर्देशन दिइएको छ । उनले एक साताभित्र विद्यालय हाताभित्रका मदिरा पसल नहटाइए तालावन्दी गर्ने चेतावनी दिए।

समितिले कानुन पालना नगर्ने पसलको संझौता खारेज गर्न विद्यालयहरुलाई निर्देशन दिए । विद्यालय निरीक्षक बलवीर सुनारले विद्यालय हातादेखि एक सय मिटर वरपरसम्म पनि मदिरा र सूर्तिजन्य पदार्थ विक्री–वितरण नपाइने भएपनि विद्यालय हाताभित्रैका पसलहरुले खुलेआम मदिरा सूर्तिजन्य पदार्थ विक्री–वितरण गरिरहेको पाइएको बताए।

‘सूर्तिजन्य पदार्थ र मदिरा विक्री–वितरण गरेको पाइएमा तत्काल संझौता खारेज गर्न हामीले तीन वटै विद्यालयलाई निर्देशन दिएका छौं’ विद्यालय निरीक्षक सुनारले भने, ‘हरेक साता विद्यालयका प्रधानाध्यापकमार्फत त्यसको जानकारी दिन्छौं ।’ अनुगमनका क्रममा होटल, मदिरा पसल र खुद्रा पसलले मात्रै होइन्, व्यूटी पार्लरले पनि सूर्तिजन्य पदार्थहरु विक्री गरेको पाइएको छ । जन मावि हाताभित्रकै एउटा व्यूटी पार्लरबाट सूर्तिजन्य पदार्थ भेटिएको जिल्ला जन स्वास्थ्य कार्यालयका सूचना अधिकारी वसन्तमान श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार विद्यालय हाताभित्रका पसलबाट ८६ खिल्ली चुरोट, तीन सय ६७ प्याकेट सूर्ति र तीन सय ७२ पिस  गुट्खा बरामद गरिएको छ । 

समितिले भाडाका दिएका पसलको अनुगमन गरेर मासिक रिपोर्ट गर्न सम्वन्धीत विद्यालयलाई निर्देशन पनि दिएको छ । विद्यालय प्रशासनले कानुन उलंघन गर्दै मदिरा र सूर्तिजन्य पदार्थ विक्री–वितरण गरेको पाइएमा सञ्चालकसँग भएको संझौता खारेज गर्ने प्रतिवद्धता जनाएका छन् । जन माविका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले विद्यालय हाताभित्रका पसलहरुले मदिरा र सूर्तिजन्य पदार्थ विक्री गरेको पाइएमा संझौता खारेज गर्ने प्रतिवद्धता जनाए । उनले एक साताभित्र मदिरा पसल हटाउने प्रतिवद्धता पनि जनाए।

 

प्रकाशित: २१ माघ २०७३ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App