८ वैशाख २०८१ शनिबार
समाज

पेइङ सेवाबाट गंगालालले ६ महिनामा कमायो ६ करोड

काठमाडौं—सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा’बाट रु छ करोड आम्दानी गरेको छ। अघिल्लो वर्ष अस्पतालले १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिए।

यो रकम यो वर्ष अझै बढ्न सक्ने उनको भनाइ छ। अस्पतालमा आएमा बिरामी हेर्ने नियमित समयभन्दा अघिपछिको समयमा पनि बिरामी हेरी भएको आम्दानीलाई त्यहाँको सुधार र व्यवस्थापनका काममा खर्च गर्ने गरेको उनले बताए।

सोही रकमले अस्पतालका लागि पानी, बत्ती, सरसफाइलगायत त्यहाँ कार्यरत कर्मचारीका लागि तलबभत्ताका लागि खर्च गर्ने गरिएको छ। अस्पतालले १३ वर्षअघिदेखि पेइङ सेवा उपलब्ध गराउँदै आएको छ। गत वर्ष पेइङ र बहिरङ्गमा एक लाख २५ हजार बिरामीले अस्पतालमा उपचार गराएका थिए। तीमध्ये एक हजार पाँच सय नौ जनाले शल्यक्रिया गराएका थिए। 

स्थापनाकालदेखि गत आवसम्ममा १८ हजारले मुटुको शल्यक्रिया गराएका र त्यसमध्ये १२ हजारको ओपन हार्ट सर्जरी भएको अस्पतालले जनाएको छ। बिरामीको चाप बढ्दै गएपछि एक सय ६० शय्या भएको अस्पतालमा ४० शय्या थप गरी गत साउनदेखि दुई सय शय्याको बनाइएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिए। 

अस्पताल २०५२ सालमा स्थापना गरिएको थियो । अस्पतालमा देशका विभिन्न भागबाट बिरामी भएर आएका मुटुका बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन्। सरकारले विपन्न, गरिब र मुटु रोगी भई उपचार गर्न नसक्ने अवस्थामा भएका बिरामीका लागि पनि अस्पतालमा सहुलियतको व्यवस्था गरेको छ। 

सरकारले विपन्न नागरिक, १५ वर्षमुनि र ७५ वर्ष माथिका मुटुका बिरामी, मुटुको भल्भ फेर्नुपर्ने बिरामीका लागि वार्षिक रुपमा रु ३१ करोड ५० लाखभन्दा बढी रुपैयाँ उपलब्ध गराउँदै आएको छ। 

सरकारले १५ वर्ष मुनिका कुनै पनि बालबालिका उपचार नपाएर मृत्युको मुखमा जानु नपरोस् भनी २०६३ सालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो। 

यस्तै, सरकारले आव २०६४÷६५ मा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मुटु रोग लागेमा निःशल्क उपचार गर्ने व्यवस्था गरेको छ। 

आव २०६६÷६७ बाट मुटुको भल्भ साँघुरिएको बिरामीको उपचार पनि निःशुल्क गर्ने निर्णय सरकारले गरेपछि २०६६/६७ देखि आव २०७१/७२ सम्म दुई हजार तीन सय ७२ बिरामीको साँघुरिएको भल्भलाई बेलुनद्वारा फुलाएर उपचार गरिएको थियो । रासस 

 

प्रकाशित: १३ माघ २०७३ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App