७ वैशाख २०८१ शुक्रबार
समाज

रामेछाप हत्याकाण्डका फरार आरोपी ‘अपराधिक’ पृष्ठभूमिका

फरार अभियुक्त प्रज्वल पाठक। फाइल तस्बिर

चरिकोट–रामेछापको मझुवामा डेढ महिना अघि झापाका चालक बिशाल खड्कालाई गाडी भित्रै राखेर आगो लगाई हत्या गरिएको घटनाका फरार अभियुक्त प्रज्वल पाठक आपराधिक पृष्ठभूमिका रहेको खुलेको छ ।

प्रहरीका अनुसार राजधानीबाट रिजर्भ लगी रामेछापको मझुवा– १ निगालपानी पुर्याएर गाडी भित्र राखी आगो लगाएर हत्या गरिएको घटनाका मुख्य आरोपी पाठक विरुद्ध रामेछाप जिल्ला अदालतमा जर्बजस्ती करणीको अभियोगमा मुद्दा चलिरहेको छ। जिल्ला अदालतले उनलाई फरार सूचिमा राखेको छ।

पाठकले तेह्रथुमका पूर्व माओवादी लडाकु मनकुमार लिम्बूसँग मिलेर चालक बिशाल खड्कालाई घटनास्थलमा गोली हानेर उनकै गाडी भित्र राखेर आगो लगाई हत्या गरेका थिए । घटनाका बेला मनकुमारकी प्रेमिका बिन्दु तमाङ सँगै थिइन् । रामेछाप प्रहरीले विन्दु र मनकुमारलाई पक्राउ गरेपनि पाठक अझै फरार छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार अघिल्लो वर्ष चैतमा दोरम्बा गाविसका पाठकले गाउँकै एक १३ वर्षीया दलित बालिकालाई जर्बजस्ती करणी गरेका थिए । ‘माछा मार्न जान लागेको भन्दै प्रज्वलले फकाई फुलाई खोलामा लगेर बगर नजिक जर्बजस्ती यौन सम्पर्क राख्न खोजेपछि बालिका चिच्याइछिन’, पीडितका एक आफन्तले टेलिफोनमा भने,  ‘उनको चिच्याहट घाँस काट्न गएका गाउँलेले सुनेपछि नजिकै पुग्दा उनी भागेका थिए।’

दलित बालिका माथि जर्बस्जती करणी भएको बारे प्रत्यक्षदर्शीले समेत उनका परिवारका सदस्यलाई नभनी गाउँमा हल्ला भएको आधारमा केही दिन पछि पीडितकी आमाले थाहा पाएकी थिइन्।

‘हल्ला धेरै हुन थालेपछि पीडितकी आमालाई उल्टै बालिकाको चरित्र माथि प्रश्न उठाउदै कतै उजुर बाजुर गरे राम्रो नहुने भन्दै सामाजिक रुपमै धम्की आउन थाल्यो’, उनले भने,  ‘पछि जेठमा पीडितका मामा दिदीको घरमा पुगेपछि घटना बारे थाहा पाएर प्रहरीकोमा ल्याइपुर्याएका थिए।’

आफन्तका अनुसार जिल्ला प्रहरी कार्यालयका तत्कालीन डिएसपी मोहन परियारले घटनाको समय धेरै गुज्रिसकेको भन्दै  केही दिन दर्ता नै गर्न मानेनन्। ‘गाउँमा धम्की व्यापक आइरहेपछि आमाले दर्ता नगरे माथिल्लो निकायमा जाने भन्दै धर्ना कसेपछि प्रहरी दर्ता गर्न बाध्य भयो,’  पीडितका आफन्तले विगत सुनाए। गाउँलेका अनुसार घटना पछि प्रज्वल पटक पटक गाउँ आउने जाने गरिरहेपनि प्रहरीले पक्राउ गरेन। उनको गाउँ टोकरपुर इलाका प्रहरी कार्यालयको कार्यक्षेत्र भित्र पर्छ। प्रहरीलेअदालतमा मुद्दा दायर गरेपछि पीडितकी आमालाई धम्की सँगै पटक पटक पैसाको प्रलोभन देखाइएको पीडितका आफन्तले सुनाए। गाउँलेका अनुसार प्रज्वल सानै देखि तिक्ष्ण दिमागका थिए। बाबुले सानै उमेरमा बनेपास्थित बिद्या सदनमा भर्ना गरेका थिए। त्यँहीबाट उनले एसएलसी प्रथम श्रेणीमा उतिर्ण गरे । लगत्तै बाबुले ओभरसियर पढ्नका लागी भर्ना गरिदिए।

तर ३/४ महिनापछि डेराका घरभेटीको मोटरसाइकल चोरी गरी गाउँ फर्किए। गाउँलेका अनुसार त्यतिबेला समेत पक्राउ परेका उनको मुद्दा पछि मोटरसाइकल धनीलाई पैसा तिरेर मिलाइएको थियो।

लगत्तै छोरा सुधार्ने भन्दै बाबुले आइएस्सीमा भर्ना गरिदिए। ‘पढ्नमा तिक्ष्ण दिमाग भएकाले नाम निकालिहाल्थ्यो’,  एक गाउँलेले भने, ‘तर आइएस्सी पढ्दा पढ्दै बहुलाउने, काम्ने बरबराउने रोग देखापर्यो।’ उक्त रोगका कारण उनको उपचार राजधानी र गाउँमै लगेर झारफुक गरियो ।

पछि ठिक भएपछि घरकै कम्प्युटर र ल्यापटप चोरेर बेचे पछि परिवार भित्रै खटपट भएको थियो । गाउँलेका अनुसार अघिल्लो बर्ष फागुनमा सिटिभिटीको मेकानिकल तर्फ परीक्षा दिएका उनी पढ्दै नपढी फेरी गाउँ फर्किए । गाउँ फर्किएपछि चैतमा जर्बजस्ती करणीको घटना गराए । जिल्ला प्रहरी प्रमुख कुमोध ढुंगेललले फरार पाठकको खोजी भइरहेको जानकारी दिए । ‘उनको खोजी भइरहेको छ,’ उनले भने,  ‘छिट्टै पक्राउ गर्छौं।’

नाकाबन्दीका समयमा नक्कली असई बनेर कोटेश्वरमा ग्यास डिपोबाट पैसा असुली गदैगर्दा पक्राउ परेका थिए।

प्रकाशित: ६ माघ २०७३ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App